सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

खेल

11 months ago
02/06/2018

खेल

 दीपक ठकुरी

दिउँसो घरनजिकैको चौरमा पुग्छिन्, एलिशा । उनका साथी गट्टा खेलिरहेका छन् । उनी त्यहाँ आइपुगेको कसैलाई पत्तो हुँदैन, उनी दर्शक बन्छिन् । केही बेरपछि प्रशुनाले एलिशालाई देख्छिन् । दुवैजना मुस्कुराउँदै अंकमाल गर्छन् ।

प्रशुना एलिशाको हात तानेर गट्टा खेल्न अनुरोध गर्छिन् । एलिशालाई खेल्न मन लाग्दैन, हेर्न चाहिँ खुब मन लागिरहेको हुन्छ । अर्कोपट्टिबाट आकृतिले एलिशाको देर्बे हात तान्दै भन्छिन्, ‘एलिशा बस न यहाँ । एकछिन हामी गट्टा खेलौं ।’

‘मलाई खेल्नै मन छैन । भो, तिमीहरू नै खेल,’ एलिशा अँध्यारो मुख बनाउँछिन् । सबै साथीले उनलाई भुइँमा बसाउँछन् । उनी घरिघरि घरतिर फर्कीफर्की हेरिरहन्छिन् । साथीहरू उनलाई कराउँछन्, ‘कति घरतिर मात्रै हेरेकी † यता हेर न एलिशा । ल, तिम्रो पालो आयो ।’

साथीहरूको अनुरोधलाई बेवास्ता गर्न मन लाग्दैन त्यसैले उनी गट्टा खेल्न थाल्छिन् । खेलमा जित्ने र हार्ने क्रम चलिरहन्छ, उनीहरूबीच विवाद पनि हुन्छ ।

‘भोक लाग्यो,’ रेशुका ट्राउजरमा लागेको धुलो टकटकाउँदै उठ्छिन् । ‘अब घर जाने,’ प्रशुना गट्टा जम्मा पार्न थाल्छिन् । ‘खेलौं न एकछिन,’ आकृति साथीहरूको हात तान्छिन् ।

खेल्ने र नखेल्नबीचको विवाद चलिरहन्छ केही बेर । खेल्न छाडेर घर जानेहरूको बहुमत देखिन्छ । एलिशा पनि घरतर्फ लाग्छिन् ।

बीच बाटोमा पुग्दा नपुग्दै उनलाई केही महिनाअघि आमाले भन्नुभएको कुरा याद आउँछ, ‘खेलेर लुगा फोहोर पारिस् भने तेरो हातखुट्टा भाँचिदिन्छु । मलाई तेरो लुगा धोएर बस्ने फुर्सद छैन ।’

एलिशा आफ्नो लुगा हेर्छिन् । ट्राउजरमा कुरो टाँसिएको रहेछ । हातमा पनि कत्लैकत्ला रहेछ । उनलाई डर लाग्छ । उनी लुसुक्क कोठाभित्र पस्छिन् । हतार हतार लुगा फेर्छिन् । यतिखेरै आमा चिसै हात लिएर एलिशाकहाँ आउनुहुन्छ । एलिशाले आफ्नो लुगा लुकाउन भ्याउँदिनन् । आमा भन्नुहुन्छ, ‘दिनभरि कहाँ हराइस् ?’

एलिशा शिर नुहुराएर बिस्तार भन्छिन्, ‘चौरमा गट्टा खेल्न… ।’‘आज पनि लुगा फोहोर पारेर आइस् होइन ? मैले तँलाई कतिपल्ट भनिसकें, बाहिर गएर नखेल, लुगा फोहोर हुन्छ भनेर,’ आमा एलिशाको ट्राजर ओल्टाइपल्टाइ हेर्न थाल्नुहुन्छ ।

एलिशा बाथरुममा हातमुख धुन जान खोज्छिन् । आमा उनको गालामा थप्पड हान्नुहुन्छ । एलिशा क्वाँक्वाँ रुन्छिन् ।

‘यो कुरो टिपेर बस्ने मेरो फुर्सद छैन । हैन, मैले कति ठाउँ भ्याउनु । कति दुःख दिन सकेकी तैंले † अब रातभरि लगाएर भए पनि टिप्,’ आमा ट्राउजरले एलिशाको मुखमा ताकेर हान्नुहुन्छ ।

एलिशा रुँदैरुँदै बाथरुम जान्छिन् । ऐनामा आफूलाई निकै गहिरिएर हेर्छिन् । उनलाई आफ्नै अनुहार पनि अपरिचत लाग्छ ।

एलिशा हातमुख धुन्छिन् । हतार हतार गर्दै कोठामा पुग्छिन् । उनी घोसेमुन्टो लगाएर ट्राउजरमा लागेको कुरो टिप्न थाल्छिन् । आमा खाजा लिएर आउनुहुन्छ । आमा एलिशाको अघि खाजा राखिदिँदै भन्नुहुन्छ, ‘लुगै बिगारीबिगारी किन खेल्नुप¥यो ? खेल्न थालेपछि खाजा पनि बिर्सिने । लु, खाजा खाऊ ।’

आमा ट्राउजरमा लागेको कुरो टिप्न थाल्नुहुन्छ । एलिशा खाजा खान थाल्छिन् । एलिशाले खाजा खाइनसक्दै आमाले ट्राउजरको कुरो टिपिसक्नुहुन्छ ।

एलिशा गर्मी बिदाको बाँकी गृहकार्य गर्ने सुरसार गर्छिन् । आमा भान्छाकोठातिर जानुहुन्छ । एलिशा कापीमा एक अक्षर पनि लेख्न सक्दिननँ । उनको मनमा खालि आमा मलाई किन खेल्न दिनुहुन्न भन्ने प्रश्न आइरहन्छ ।

भोलिपल्ट एलिशालाई साथीहरू घरमै लिन आउँछन् । एलिशा भन्छिन्, ‘मलाई आमाले कराउनुहुन्छ, तिमीहरू नै खेल ।’

‘किन ?’ आकृति खुसुक्क सोध्छिन् । ‘लुगा फोहोर हुन्छ भनेर,’ एलिशा जवाफ दिन्छिन् ।‘खेल्दा अलिअलि त लुगा फोहोर भइहाल्छ नि भनेर सम्झाउन आमालाई,’ आकृति नयाँ उपाय निकाल्छिन् ।

‘त्यसो भन्यो भने त ठूला मान्छेसँग मुखमुखै लाग्छेस् पो भन्नुहुन्छ,’ एलिशा आमाको अभिनय गर्छिन् ।

आकृति र एलिशा केही समय गफ गर्छन् । त्यसपछि दुवै जना नाच्दै नाच्दै चौरमा जान्छन् । नौदस जना साथी जम्मा भइसकेका हुन्छन् । उनीहरू समूह बनाएर कबड्डी खेल्छन् ।

कबड्डी खेल्दा सबै जना धुस्रेफुस्रे हुन्छन् । एक अर्कालाई हेरेर गिज्याउँदै जोडजोडले हाँस्छन् । दिउँसोको खाजा खाने समय हुन्छ । धुलो टकटक्याउँदै सबै जना घर पुग्छन् । एलिशा छिटोछिटो लुगा फेर्छिन् । अरू मैला लुगासँग कबड्डी खेल्दा फोहोर भएको लुगा मिसाएर बाथरुम जान्छिन् । आफूले सके र जानेअनुसार लुगा धुन्छिन् । उनी लुगा छतमा सुकाउन लैजान्छिन् । तलबाट आमाले भन्नुहुन्छ,

‘एलिशा † तिमी कहाँ छ्यौ ?’ ‘म छतमा छु,’ एलिशा लुगा सुकाउन थाल्छिन् ।‘के गरेको त्यहाँ ? छिटो तल आऊ,’ आमा ढोका उघार्नुहुन्छ ।

एलिशा तल कोठामा आउँछिन् । आमा तरकारी फ्रिजमा राख्दै सोध्नुहुन्छ, ‘के गरेको छतमा ?’ ‘लुगा धोएर सुकाएकी आमा,’ एलिशा आमाले ल्याउनुभएको स्याय पखाल्न थाल्छिन् । ‘कहाँबाट आयो यस्तो बुद्धि ?’ आमा एलिशालाई एकटकले हेर्नुहुन्छ ।

‘अबदेखि म आफ्नो लुगा आफैं धुन्छु, आफैं नुहाउँछु, आफैं कोरीबाटी गर्छु । हजुरलाई नि सकेको सहयोग गर्छु,’ एलिशा एकै श्वासमा भन्छिन् । आमा खुसीले गदगद भएर एलिशालाई अँगाल्दै निधारमा चुम्बन गर्नुहुन्छ । एलिशा आमाको हँसिलो अनुहार हेर्छिन् । आमा एलिशाको नाक समाउँदै भन्नुहुन्छ, ‘हामीले सक्ने काम आफैंले गर्नुपर्छ, अरूलाई दुःख दिनुहुँदैन ।’

(Visited 15 times, 1 visits today)
Loading comments...