सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

गीत चल्ने, एल्बम नचल्ने चर्चित गायक

11 months ago
02/06/2018

गीत चल्ने, एल्बम नचल्ने चर्चित गायक

 युवराज गौतम

कृष्ण समीप सुवेदी नेपाली लोकदोहोरी तथा आधुनिक लोकसंगीतका लागि नौलो नाम होइन । उनका १० वटा एल्बम र २५० गीत बजारमा छन् ।  २०६० सालताका नै साधना कला केन्द्रमा प्रकाश गुरुङसँग सारेगम सिकेका कृष्णले भोलाप्रसाद राईसँग मात्र चार वर्ष संगीतको कखरा पढेका छन् ।

बाल्यकालमा ‘एउटा भोटो कुमकुममा टालेको, यही हो मलाई बाबाले पालेको’ गीत हजुरआमाका अघिल्तिर गाएर बाबुको आशीर्वाद पाएका उनले २०६० सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीत यात्रा थालनी गरेका थिए ।

कुश्मा नगरपालिका–१, पाङमा जन्मिएर हिमालय माविबाट स्कुले जीवन सकेर काठमाडौं आरआर क्याम्पसबाट स्नातक गरेका कृष्णले २०६२ सालमा ‘देउराली’ नामको एल्बम निकालेका थिए । हुन त २०५९ सालमै रिमा रेकर्डिङ स्टुडियोमा ‘पाङको फाँटैमा, बिर्सी जाने निष्ठुरी मायालु’ बोलको गीत रेकर्ड गराएर संगीत यात्राको श्रीगणेश गरे पनि त्यसको तीन वर्षपछि मात्र एल्बम निकालेका थिए ।

मौलिकपना, स्थानीय लबज, विदेश जाने नेपालीका दुःख र प्रेम–वियोग साथै रोमान्टिक गीत गाउन र शब्द संगीत भर्न सिपालु कृष्णले सय वटा गीतको भिडियो नै तयार गरेका छन् । ‘हुन त मेरा गीतहरू गहिरा हुन्छन्, सुन्दै गएपछि राम्रा हुन्छन्,’ उनी भन्छन्, ‘तर संगीत क्षेत्रमा देखिएको दुई धार, अस्वस्थ प्रतिस्पर्धा र चोरी गर्ने प्रवृत्तिले प्रतिभाको सम्मान हुन सकिरहेको छैन ।’ पश्चिमेली मात्र होइन, सुदूरपश्चिमको देउडा भाकामा समेत स्वर, शब्द र संगीत भरिसकेका कृष्ण समीप भन्छन्, ‘मेरा गीत अत्यधिक चले तर एल्बम चलेनन, जसका कारण मलाई आर्थिक रूपमा कमजोर बनायो ।’

‘सिरसिर बतास’, ‘कोरिया चक्कर’, ‘सुन्तलाको बोटमा’ ‘मेरो कल्पनामा’, ‘पोखरा जाने’ ‘जोर बत्ती’, ‘सिमली छाया’, ‘मनको तीर्खा मेट्न’ आदि उनका चल्तीका गीत हुन् । इमेज एफएमका आरजे समेत रहेका कृष्णले अनुभव साट्दै भने, ‘गीत कि त भावुक चल्छन् कि त नचाउने किसिमका चल्दा रहेछन् । लोक गीतमा सरलता हुन्छ तर तयार पार्न कठिन पर्ने रहेछ ।’ नेपालका चल्तीका गायक गायिकाहरूले उनका शब्द, संगीतमा रहेका भाकालाई स्वर दिएका छन् । प्रमोद खरेल, शिव परियार, मान्डबी त्रिपाठी, स्वरूपराज आचार्य, मिलन अमात्यलगायत दर्जनौं स्रष्टाले उनका गीतलाई हिट बनाइदिएका छन् । नेपालका अधिकांश जिल्लामा स्टेज कार्यक्रम भ्याएका कृष्ण चाँडै नै विदेशमा सांगीतिक यात्रा लिएर जाने तयारी गरिरहेका छन् । उनलाई युरोपबाट पनि सांगीतिक कार्यक्रमका लागि अफर आएको छ ।

(Visited 12 times, 1 visits today)
Loading comments...