आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

नेपालको विकासमा चीनले सहयोग गर्ने

11 months ago
07/07/2018

राजधानी समाचारदाता/काठमाडौं।

चीनले नेपालको विकास निर्माणमा सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होंगले यस्तो बताएका हुन् । उनले ‘ट्रान्स–हिमायलयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को फ्रेमवर्कअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संयुक्त रूपमा आयोजित प्रोस्पेक्ट्स अफ नेपाल–चीन ट्रेड एन्ड इकोनोमिक रिलेसन्स’ कार्यक्रममा उनले यस्तो जानकारी दिए ।

उनले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्धिको गति तीव्र बन्ने बताए । भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू ऐतिहासिक भएको भन्दै उनले भने, ‘नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाइ हुनेछ ।’ नेपाल–चीनको नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गर्न चीन सहयोग गर्न तयार भएको समेत उनको भनाइ थियो । तातोपानी नाकालाई पुनः सञ्चालनमा ल्याउने सवालमा दुई–पक्षीय रूपमा उच्च तहमा थप कुराकानी गर्न आवश्यक रहेको उनको धारणा थियो ।

सन् २०२० सम्ममा २० लाख पर्यटन भिœयाउने नेपाल सरकारको लक्ष प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदूत होंगले बताए । कनेक्टिभिटीसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माणका लागि संयुक्त लगानी र मेहनत महŒवपूर्ण हुने उनको तर्क थियो ।देशको समृद्धिका लागि शिक्षा महŒवपूर्ण भएकाले नेपालको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल ७ हजारभन्दा बढी विद्यार्थीहरू चीनमा अध्ययन गरिरहेको कुरा उनले बताए ।

एक अर्को प्रसंगमा राजदूत होंगले भने, ‘नेपालको सम्भाव्यता थाहा भएभन्दा निकै बढी रहेको र सो सम्भाव्यता पत्ता लगाउन चीनले सहयोग गर्नुपर्छ ।’

सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको कुरा बताए । अफ्रिका, युरोप, लेटिन अमेरिका र एसियाली देशमा चिनियाँ लगानीले कतिपय ठाउँमा कायापलट गरेको भन्दै उनले भने, ‘चिनियाँ लगानीमा प्रचुर मात्रामा वृद्धि हुन गएमा नेपालको लागि मात्र होइन, दुई देशबीच प्रविधि, लगानी, श्रम र अनुभवबीचमा हुने सहकार्यको माध्यमबाट नेपालमा उत्पादित वस्तुहरूको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुग्छ । चीन सबैभन्दा ठूलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभई विश्वमै सबैभन्दा ठूलो आयातकर्तासमेत भएकाले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसँगको व्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो ।

चिनियाँ दूतावासको कूटनीतिक मण्डलका अन्य सदस्यहरू र चेम्बरका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको सो कार्यक्रममा डा.अन्जान शाक्य, दिपेशरत्न तुलाधर, निरज राईलगायतले पनि नेपाल–चीन व्यापार सम्बन्धबारे आफ्नो धारणा राखेका थिए ।

 

(Visited 19 times, 1 visits today)
Loading comments...