सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

सशस्त्रका आईजीपी खनाललाई पितृशोक

10 months ago
10/07/2018

राजधानी समाचारदाता /काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाललाई पितृशोक परेको छ । आईजीपी खनालका बाबु डा. टीकाराम शर्मा खनालको सोमबार विहान ७७ वर्षको उमेरमा निधन भएको हो ।

डा. खनाल लामो समयदेखि मधुमेह र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । पछिल्लो समय राजधानीको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका डा. खनालको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ग्रान्डीअघि सशस्त्र प्रहरी अस्पतालमा समेत उनको उपचार गरिएको थियो ।
डा. खनालको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री रामबहादुर थापा, बनमन्त्री शक्तिबहादुर बस्नेत, सरकारका सचिवहरु, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारी पुगेका थिए ।
त्यसअघि काठमाडौं महानगरपालिका–१० थापागाउँस्थित निवासमा ल्याएर श्रद्धाञ्जली अर्पणका लागि राखिएको थियो । त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पुगेका थिए ।

नेपाल सरकारको पूर्वसहसचिवसमेत रहेका डा. खनालले निजामती सेवामा कार्यरत रहेकै बेला संस्कृत भाषामा विद्यावारिधी गरेका थिए । उनी निजामती सेवामै पहिलोपटक विद्यावारिधी गर्ने व्यक्तिका रुपमा समेत चिनिन्छन् ।
डा. खनालले सहसचिव हुँदा गृह प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । गृह प्रशासनमा हुँदा निष्कलंकित र व्यावसायिक छबी बनाएका उनको कामको प्रशंसा अहिले पनि पुराना राष्ट्रसेवकले गर्ने गर्छन् । सरकारी सेवाका क्रममा उनले प्रमुख जिल्ला अधिकारी तथा निमित्त अञ्चलाधीशको समेत जिम्मेवारी बहन गरेका थिए । दिवंगत डा. खनालकी श्रीमती, तीन छोरा र एक छोरी छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल उनका जेठा छोरा हुन् । थापागाउँस्थित निवासमै उनको काजकिरिया हुने छ ।

(Visited 12 times, 1 visits today)
Loading comments...