बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

भक्तपुर पूर्ण खोप घोषित

1 year ago
17/07/2018

रासस/भक्तपुर।

भक्तपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ ।‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासाथ सोमबार प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर पूर्ण खोप सुनिश्चितता जिल्ला भएको घोषणा गर्दै प्रमाणपत्र राष्ट्रिय खोप समन्वय समितिका तर्फबाट जिल्ला समन्वय समिति भक्तपुर र जनस्वास्थ्य कार्यालयलाई प्रदान गरे । उनले अब कुनै स्वास्थ्य सेवा नपाएकै भरमा भक्तपुरका जनताले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

जिल्लाका चारै स्थानीय तहको अगुवाइमा यसअघि नगरपालिकाले आफ्नो नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै आज पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

भक्तपुरका सबै बालबालिकाले पूर्ण खोप पाएको र अब जन्मने शिशुलाई पनि आवश्यक सबै खोप दिन सकिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताए ।

घोषणासभामा प्रदेशसभा सदस्य शशिजंग थापाले महिला स्वास्थ्य स्वयंसेविकालाई न्यूनतम सेवासुविधा पनि उपलब्ध नभएको गुनासो बढेका कारण प्रदेशसभाले केही सुविधा दिने निर्णय गरेको बताए ।

जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा कुनै बालबालिका खोपबाट वञ्चित हुनु नपरेको तथ्यांक प्रस्तुत गरे ।

जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिए पनि वार्षिक रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. यदुचन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, ने क पा जिल्ला अध्यक्ष वचन देउजा, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापालगायतले लामो र अथक प्रयासबाट जिल्ला पूर्ण खोप सुनिश्चित भएकाले कुनै पनि बालबालिकाले खोप नलगाएकै आधारमा भक्तपुरमा मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना नहुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, नगरपालिका, स्वास्थ्यकर्मीलगायत भक्तपुरवासीले पूर्ण खोप सुनिश्चित जिल्ला अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । घोषणासभामा अभियान सफल बनाउन योगदान गर्ने विभिन्न संघसंस्था र कर्मचारीलाई सम्मान गरिएको थियो ।

 

(Visited 10 times, 1 visits today)
Loading comments...