सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

सशस्त्र प्रहरी बलको सबै व्यारेक मदिरा मुक्त

9 months ago
18/07/2018

रोशन श्रेष्ठ/काठमाडौं

अद्र्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बल नेपालले आफ्ना सबै व्यारेकलाई मदिरामुक्त घोषणा गरेको छ । साथै एपीएफ इकाईहरुमा हुने कुनै पनि कार्यक्रममा मदिरालाई पूर्ण रुपमा निषेध गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नेतृत्व सम्हालेपछि बलको प्रधान कार्यालयले मातहत सम्पूर्ण एपीएफ इकाईहरुलाई स्पष्ट आदेश गर्दै मदिरा प्रयोग नगर्ने संगठनको नीति रहेकोतर्फ ध्यानाकर्षणसमेत गराइसकेको छ ।
मातहत इकाईलाई प्रधान कार्यालयले पठाएको आदेशमा मदिराजन्य पदार्थको प्रयोग नगर्न तथा नगराउन सम्बन्धित कमाण्डरले चासो दिई नियन्त्रण गर्न तथा मदिराजन्य पदार्थको प्रयोग गरेको पाइए सम्बन्धित कमाण्डर उपर समेत कारवाही हुने स्पष्ट उल्लेख छ ।

सशस्त्र मुख्यालयले स्पष्ट आदेश गरी मदिराको प्रयोगलाई पूर्ण रुपमा निषेध गरेको सूचना शाखाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अजय छतकुलीले बताए गरे । उनले भने, ‘एपीएफको कुनै पनि व्यारेकमा अब मदिरा प्रयोग हँुदैन, जुनसुकै अवस्थामा मदिरा प्रयोग नगर्ने संगठनको नीति छ ।’
सार्वजनिक स्थानमा मदिराजन्य पदार्थ प्रयोगमा नियन्त्रण तथा न्युनीकरण गर्ने सरकारको नीति रहेको परिपे्रक्षमा सशस्त्र प्रहरीले आफ्नो सबै व्यारेकका क्यान्टिनमा यसलाई लागू गर्न खोजेको हो । संगठनका कुनै पनि व्यारेकमा रहेका क्यान्टिनहरुमा सुर्तीजन्य पदार्थहरुसमेत बिक्री वितरणमा रोक लगाइएको छ ।

व्यारेक सिष्टममा रहेको अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बल नेपाल सम्भावित घटना दुर्घटनालाई मध्यनजर गर्दै सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा उद्वार कार्यको लागि चौबिसै घण्टा उच्च सतर्कतामा रहेको पनि सशस्त्र मुख्यालयले जनाएको छ ।
राज्यले सुम्पिएको कार्यादेशअनुरुप सशस्त्र प्रहरी हालका दिनमा ज्यादै नै सक्रिय रहेको बलको सशस्त्र मुख्यालयको दावी छ । जसका लागि देशका सातै प्रदेशमा गरी करिव ७५ वटा छुट्टाछुट्टै इमिडियट रेस्पोन्स टीम (आईआरटी) व्यारेक बाहिर सडकमै चौविसै घण्टा तैनाथ गरिएको छ ।

यसैगरी लङ्ग रेञ्ज पट्रोल (एलआरपी) को रुपमा करीव ३० वटा छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । बलको सूचना शाखाका अनुसार जनतालाई प्रत्यक्ष रुपमा सशस्त्र प्रहरी सेवा प्रदान गर्न दैनिक रुपमै नौ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारी व्यारेक बाहिर परिचालित रहेको छ भने करीव तीन हजार जनशक्ति व्यारेकभित्र चौबिसै घण्टा स्टेनवाइमा रहेका छन् ।
‘व्यारेक सिष्टममा बसेर चौविसै घण्टा चनाखो रहनु पर्ने सशस्त्र प्रहरी कर्मचारीले मदिराको प्रयोग गर्दा दैनिक काममा असर पर्छ, सरकारको नीति पनि छ, त्यसैले मदिरा प्रयोगमा निषेध गरिएको हो,’ डीएसपी छतकुलीले भने ।
उनका अनुसार आदेश पठाएपछि त्यसको कार्यान्वयनको पक्ष तथा मदिराजन्य पदार्थको नियन्त्रणको अवस्थाबारे बलको प्रधान कार्यालयले अनुगमन समेत गरिरहेको छ ।

रोकिएका र नयाँ काम धमाधम

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको प्रमुखको रुपमा नेतृत्व गरेपछि रोकिएर रहेका कामहरु धमाधम अघि बढेको छ । सरुवा तथा बढुवा जस्ता नियमित काम नै लामो समयदेखि रोकिएर रहेको अवस्थामा गिरेको सशस्त्र प्रहरी कर्मचारीको मनोवल उठाउन सशस्त्र प्रहरी महानिरीक्षक खनाल सक्रियताका साथ लागेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको ‘लाइभ भिडियो स्ट्रीमिङ्’ तथा सशस्त्र प्रहरी संचारद्वारा देशभरका एपीएफ इकाईमा प्रत्यक्ष प्रशासरण गरिएको उक्त व्रिफिङमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले भनेका थिए, ‘अव संगठन विधिले संचालन हुन्छ, रोकिएर रहेको सरुवा बढुवाको प्रकृया तत्काल सुरु हुनेछ ।’
त्यसलगत्तै हालसम्म करीव तीन महिनाको अवधिमा ३४२ जना विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीको पदोन्नती भईसकेको छ भने विल्लादार तहको १८८ जना हाल बढुवा प्रकृयामा रहेको सशस्त्र मुख्यालयले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) देखि विभिन्न कमाण्डमा रहेका सिनियर अधिकृत समेत कुल ४३८ जनाको सरुवा गरिएको छ ।
कुनै वेला चर्चाको केन्द्रमा पुगिसकेको सशस्त्र प्रहरी बल नेपाल गुमनाम हुनै लागेको वेला संगठनको नेतृत्व सम्हाल्न पुगेका सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई विधिले संचालनको ‘सिष्टम’ विकास गरेको जनाइएको छ । एक अधिकृत भन्छन्, ‘सशस्त्र नेतृत्वले संगठनलाई नयाँ उर्जा दिई रहेका छन् । रोकिएर रहेका काम पुरा गर्न तथा सशस्त्र प्रहरी कर्मचारीको मनोवल उठाउने कार्यमा महानिरीक्षक खनाल सफल देखिएका छन् ।’
यसबीच खनाल संगठनमा सुधारका लागि विभिन्न बोर्ड गठन गर्दै प्राप्त सुझावलाई कार्यान्वयन गराउनेतर्फ सकृय रहेका छन् । उनी संगठनका काम कारवाहीलाई पारदर्शी बनाउनेतर्फ समेत अगाडि बढेका छन् ।

सशस्त्रका एक अधिकृतका अनुसार, सशस्त्र प्रहरी बल नेपालले यतीवेला संगठनको विकास र समयानुकुल नीति निर्माणका लागि नेतृत्व तहको विकासमा विशेष जोड दिएको छ । दक्ष जनक्तिको विकास र सेवा विशिष्टिकरणको लागि परिचालनका आधारहरु निर्माणको सुरुवात भएको छ । हालका दिनहरुमा सशस्त्र प्रहरी बल नेपालले सरुवा, बढुवा, मिसन, स्वदेश तथा विदेश तालीम लगायतका अवसरहरुलाई समयानुकुल व्यवस्थित, पारदर्शी तथा निश्पक्ष र प्रभावकारी बनाइसकेको छ ।

खनालले आफू नेतृत्वमा आएको दुई साता नवित्दै सांगठानिक पुनसंरचना तथा सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासमा जोड दिएका थिए । उनले विशिष्टिकृत तालीम केन्द्रहरुको पहिचान तथा विकास र तालीम पाठ्यक्रमको समयसापेक्ष परिमार्जनमा ध्यान पु¥याए । औद्योगिक सुरक्षा कार्य योजना तयारी, सीमा क्षेत्रमा प्रभावकारी परिचालन, सीमा अपराध नियन्त्रण जस्ता कार्यलाई प्रथामिकतामा राख्दै महसुस हुने ढंगले सुधार गरे । सुचना प्रणालीलाई अत्याधुनिक प्रविधियुक्त एवं सुदृढीकरणमा जोड दिदै विपद व्यवस्थापन सम्बन्धि कार्ययोजना तयार गर्ने तर्फ ध्यान केन्द्रित गरे ।
यसैबीच महानिरीक्षक खनालले संगठनको तीन वर्षिय रणनीतिक योजना तयार गरेका छन् । संगठनको नयाँ संरचना तयार गरी यसै महिनाबाट कार्यान्वयनको सुरुवात भएको छ ।
नयाँ संगठन संरचनाअनुसार सीमा सुरक्षा गण, अनाश्रित गुल्म, रेजिमेन्टल गण, व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना भएको छ । सीमा सुरक्षालाई बलियो बनाउनका लागि हाल रहेका बीओपीहरुमा बढोत्तरी गर्ने गरी प्रत्येक सीमा सुरक्षा गणबाट आवश्यकताअनुसार थप बीओपी तैनाथ गर्दै लैजाने भएको छ । यसले सशस्त्र प्रहरी बलको कार्यलाई अझै परिणाममुखी बनाउने विश्वास सशस्त्रले लिएको छ । यसबाट सीमा सुरक्षा कार्यलाई अझै व्यवस्थित तथा सुरक्षित बनाइ सीमा अपराध नियन्त्रण, ट्रान्स बोर्डर क्राइम नियन्त्रणतर्फ उपलब्धी हासिल हुने विश्वास उसले लिएको छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...