बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

चार महिने सहसचिवलाई एक वर्षको सरुवा प्रयास

3 years ago
28/07/2016

आर्थिक चलखेल भएको दाबी, सरुवा रोक्न माग गर्दै अख्तियारमा उजुरी

राजधानी समाचारदाता

काठमाडौं, ११ साउन

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पाँच महिना सेवा अवधि रहेका सहसचिव नागेन्द्र झालाई राष्ट्रिय भूउपयोग आयोजना प्रमुखमा सरुवा गर्न नियमविपरीत सामान्य प्रशासन मन्त्रालयमा सहमति प्रक्रिया अगाडि बढाएको छ । सचिव मोहनकृष्ण सापकोटाले चार महिना मात्रै सेवा अवधि रहेका सहसचिव झालाई एक वर्षका लागि सरुवा सहमतिको प्रक्रिया अघि बढाएका हुन् ।

सचिव श्रेष्ठले नियमविपरीत सरुवा प्रक्रिया अघि बढाएपछि रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ‘चार महिना जागिर अवधि भएका सहसचिवलाई एक वर्षको सरुवा सहमति माग गर्नु सरासर ऐन–नियमविपरीत छ, चार महिना मात्र जागिर अवधि भएका सहसचिवको एक वर्षका लागि सरुवा सहमति माग्नुले नियत सफा नरहेको कुरालाई पुष्टि गर्दछ,’ अख्तियारमा मंगलबार हुमनाथ तिवारीले दिएको उजुरीमा भनिएको छ । पाँच महिना सेवा अवधि रहे पनि एक महिनाअघि बिदा बस्ने प्रचलन रहेको छ । उजुरीको दर्ता नम्बर १३४० रहेको छ । अख्तियारमा परेको उजुरीको बोधार्थ भूमिसुधार मन्त्रालयका सचिवलाई पनि दिइएको छ । भूमिसुधार मन्त्रालयका सचिवलाई मंगलबार नै दिइएको उजुरीको बोधार्थको दर्ता नम्बर ३३८ रहेको छ ।

भूमिसुधार मन्त्रालयअन्तर्गत प्राथमिकता प्राप्त राष्ट्रिय भूउपयोग आयोजनाको प्रमुख र मन्त्रालयको योजना महाशाखा दुवैतिरको जिम्मेवारी पाएका सहसचिव झालाई एक वर्षको सरुवा सहमति मागेर सो आयोजनामा पुनः खटाउन लागिएको हो । सहसचिव झालाई २६ पुस २०७३ मा अवकाश दिने गरी निजामती किताबखानाले पत्रसमेत पठाइसकेको छ । सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा यस वर्ष अवकाश हुने करिब २५ सय कर्मचारीको सूचीमा झाको नाम र अवकाश मिति राखिसकिएको छ ।

सामान्य प्रशासन मन्त्रालयको २ साउन २०७३ मा चलानी नम्बर ५ को पत्रमा सहसचिव झाको नाम अवकाश हुने सूचीमा १०७६औं नम्बरमा छ । सो सूचीमा झाको कर्मचारी संकेत नम्बर ११२२६९ रहेको छ । सो आयोजनामा २०७४ असारसम्म सरुवा सहमति मागेर आयोजना प्रमुख खटाउनुपर्छ । आयोजना अवधि एक वर्षकै हो । तर, पाँच महिना अवधि भएका झालाई पठाउन सचिव सापकोटा र कामचलाउ सरकारका मन्त्री रामकुमार सुब्बा लागिपरेको स्रोतको भनाइ छ ।

‘१ अर्ब ६३ करोड बजेट भएको भूउपयोग आयोजनामा पाँच महिना सेवा अवधि मात्र बाँकी रहेका सहसचिव झालाई एक वर्षको सहमति मागेर पठाउनुमा आर्थिक अनियमितता नै प्रमुख कारक मानिएको छ । सचिव सापकोटाले ठूलो रकम घुस लिएर चार महिना जागिर भएका सहसचिवका लागि एक वर्षको सरुवा सहमति माग गर्न लागेका छन् । जुन सम्मानित आयोगबाट तत्काल रोकियोस्,’ अख्तियारमा दिइएको उजुरीमा भनिएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयको योजना महाशाखा प्रमुख र देशको प्राथमिकता प्राप्त राष्ट्रिय भूउपयोग आयोजनाको प्रमुख रहेका झा पुनः सोही आयोजनामै अवकाश नहुदासम्म काम गर्न चाहन्छन् । सो आयोजनाका लागि यसै आर्थिक वर्षमा १ अर्ब ६३ करोड रुपैया“ बजेट छुट्ट्याइएको छ । सो बजेट पुससम्म परामर्शदाताहरूलाई अग्रिम कमिसन लिएर सबै सकी ठेक्का दिनकै लागि उनी प्रमुख हुन चाहिरहेको उजुरीमा दाबी गरिएको छ ।

nagendra-jhaआयोजनाको बजेटमा ४० प्रतिशतभन्दा बढी कमिसन पाउने भएकाले पनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तमार्फत सचिव सापकोटालाई सरुवा सहमति माग्न दबाब दिन थालेको कर्मचारीहरूको दाबी छ । झाले आफ्नो स्वार्थसिद्धिका लागि नियमविपरीत काम गर्न सचिवलाई दबाब दिन लगाएर विवादमा पार्ने काम गरेको पनि कर्मचारी बताउँछन् । तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई हिन्दु युवासंघ पर्साका अध्यक्ष काशी तिवारीको हत्या अभियोगबाट बचाउन २०६८ सालमा पर्साका प्रमुख जिल्ला अधिकारी रहँदा झाले १२ लाख रुपैया“ घुस तिवारीपत्नी बबिता देवीलाई प्रलोभन दिएपछि विवादमा तानिएका थिए । सो घुस प्रभु साहको नाम नपोल्न दिएको तथ्य सोही बेला बाहिर आएको थियो । सहसचिव झा अख्तियारकै एक आयुक्तको नाम लिएर विगत एक वर्षदेखि भूउपयोग आयोजना प्रमुख र मन्त्रालयको योजना महाशाखा प्रमुखको दोहोरो जिम्मेवारी सम्हाल्दै आएका छन् ।

विगतमा ३० करोड बजेट हुने उक्त आयोजनामा यो वर्ष १ अर्ब ६३ करोडको बजेट राखिएको छ, जुन बजेट चार महिना मात्र जागिर अवधि भएका झाले पुससम्मै खर्च गरिसक्ने योजना बनाएका छन् । कर्मचारी ऐनअनुसार चार महिना जागिर अवधि भएका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिन मिल्दैन । पुरानो नागरिकताअनुसार दुई वर्षअघि नै झा सेवाबाट अवकाशमा पाउने सूचीमा थिए । तर, पदीय दुरुपयोग गरी पुरानो नागरिकता सबै निकायबाट गायब बनाई अर्को नागरिकता बनाएको आरोप पनि उजुरीमा लगाइएको छ ।

(Visited 4 times, 1 visits today)
Loading comments...