बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

चाँगुमा पानी कर विवाद

1 year ago
19/07/2018

लक्ष्मणबहादुर बस्नेत/भक्तपुर

चाँगुनारायण नगरपालिकाले पानी निकासी कर लागू गरेपछि विवाद उत्पन्न भएको छ । कर लगाइएपछि दुई दिनदेखि जार र बोतलको पानी ढुवानी ठप्प भएको छ । नगरपालिकाले १ साउनदेखि नयाँ कर प्रणाली लागू गर्दै पानीमा पनि कर लगाएको बताइएको छ ।

कच्चा तथा शुद्ध पानी निकासीबापत शुल्क लिने गरी ८१ लाखमा ठेक्का लगाएको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । ‘स्थानीय निकायको क्षेत्राधिकारभित्रै रहेर पानी निकासी शुल्क लगाएका हौं,’ उनले भने, ‘अब सम्बन्धित व्यवसायी करको दायरा आउन बाध्य हुनेछन् ।’

नगरपालिकाले व्यवसायीबाट जार र बोतलको पानी उत्पादन तथा ढुवानीबापत हालसम्म कुनै पनि शुल्क नलिएको मिश्रको दाबी छ । नगरपालिकाको नगरसभाले पास गरेका कुराहरु नगरको ऐनसरह हुने हँुदा हचुवाको भरमा निर्णय नभएको नगर प्रमुख मिश्रले बताए ।

चाँगुनारायण नगरपालिकाको झौखेलमा हाल ११ वटा खानेपानी कम्पनी सञ्चालनमा छन् । अरू दुईवटा सञ्चालन हुने तयारीमा छन् । यी कम्पनीले दैनिक ५० भन्दा बढी सवारीसाधनमार्फत पानी ढुवानी गर्दै आएका छन् ।

नेपाल बोटल वाटर उद्योग संघ भक्तपुरका सचिव राम सुवालले व्यवसायीसँग कुनै सल्लाह नै नगरी शुल्क उठाउने निर्णय गरेको आरोप लगाए । आफूहरू त्यसको विरोधमा उत्रेको बताउँदै उनले पानी व्यवसायीले मूल्य अभिवृद्धि र पचली कर तिरिरहेको दाबी गरे । प्रत्येक ट्रक र ट्याक्टरमा ढुवानीबापत नगरपालिकालाई शुल्क बुझाउँदै आएको उनको भनाइ छ । ‘जार र बोतलमा समेत कर लगाएपछि व्यवसायी मर्कामा परेको छ,’ सचिव सुवालले भने ।

ठेकेदारी प्रथाबाट नभई वार्षिक रूपमा एकमुष्ट रकम नगरपालिकामै कर तिर्न मञ्जुर रहेको नेपाल बोटल वाटर उद्योग संघ भक्तपुर समितिले  प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । आधिकारिक रूपमा कर तिर्दै  सञ्चालनमा रहेका उद्योगलाई वार्षिक लाखौं निकासी कर तिर्नुपर्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ । पानीजस्तो अत्यावश्यक वस्तुमा निकासी करको नाममा लाखौं असुलउपर गर्न नहुने  विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाद्वारा पानी निकासी सेवा शुल्क उठाउन आह्वान गरिएको टेन्डरमा जय भवानी खानेपानी सप्लायर्सलाई ठेक्का दिइएको उल्लेख छ । आर्थिक वर्ष २०७५÷७६ बाट लागू हुने गरी पानी ढुवानी  गरेबापत  प्रतिट्रक र मिनी ट्रकमा २ सय, निसानमा १५०, ट्रयाक्टरमा ५० रुपैयाँ कर लाग्ने भएको छ । त्यसैगरी, जारको पानीमा प्रतिलिटर ५ पैसा र प्रतिबोतल १० पैसा कर लगाइएको छ ।

(प्रशिक्षार्थी)

(Visited 21 times, 1 visits today)
Loading comments...