सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

चीनका लागि गुगलको सेन्सरमैत्री सर्च इन्जिन

8 months ago
03/08/2018

बेइजिङ/एजेन्सी– गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्ने गरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यसको विरोध गरेका छन् ।

सेन्सरसिप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर, नाम नबताउने सर्तमा ती कर्मचारीले ‘ड्रागनफ्लाई’ गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् । मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्ने गरी यो परियोजनामा काम हुँदै छ । स्रोतका अनुसार यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

ती कर्मचारीका अनुसार अमेरिकी सञ्चार माध्यमले यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी १ करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए । तर, यस सम्झौतालाई नवीकरण गरिएन ।

स्रोतले भन्यो, ‘कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिस ज्यादै आक्रोशित हुँदै छन् ।’ गुगलका एक प्रवक्ताले यस्तो परियोजना रहे÷नरहे बारे बताउन चाहेनन् । ‘हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तैः गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनियाँ निर्माताहरूलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनियाँ कम्पनीमा राम्रै लगानी गरेका छौं,’ प्रवक्ता ताज मिडोजले भने, ‘तर हामी भावी योजनाबारे  कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं ।’

‘द इन्टरसेप्ट वेबसाइट’ ले सबैभन्दा पहिले गुगलको यस परियोजनाबारे समाचार प्रकाशन गरेको थियो । यस परियोजनामार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ । इन्टरसेप्टका अनुसार मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरू कालोसूची (ब्लाकलिस्ट) मा पर्छन् । चीनको ग्रेट फायरवालले अवरुद्ध गरेका वेभसाइटहरू यो एपले पहिचान र फिल्टर गर्छ ।

यस योजनाबारे  जानकार दुई व्यक्तिको हवाला दिँदै न्युयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनियाँ अधिकारीहरूले हेरेकै आधारमा गुगलको सेवा चीनमा सुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । प्याट्रिक पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनको कठोर सेन्सरसिप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिनेछ ।’ चीनमा हाल ट्वीटर, फेसबुक र द न्युयोर्क टाइम्स अखबारका वेभसाइटहरू प्रतिबन्धित छन् ।

सन् २०१० मा गुगलले सेन्सरसिप र ह्याकिङको विवाद पछि चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तैपनि, चीनमा गुगलको अन्य परियोजनामा ७ सय मानिस कार्यरत छन् ।

(Visited 11 times, 1 visits today)
Loading comments...