शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

दोस्रो ओडीआई आज

4 months ago
03/08/2018

राजधानी समाचारदाता/काठमाडौं

ंनेदरल्यान्डसँगको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल नेदरल्यान्डको एमस्टेलभिनस्थित भीआरए क्रिकेट मैदानमा दिउँसो २ः४५ बजेपछि सुरु हुनेछ । राम्रो सुरुवातका बाबजुत मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल जितनजिक पुगेर पनि ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग ५५ रनले पराजित हुन पुगेको थियो । डेब्यु एकदिवसीयमा नेपालले उच्च बलिङ गरेको थियो । फिल्डिङ पनि उच्च रहँदा ब्याटिङमा अग्रपंक्तिका ओपनरले राम्रो साझेदारी गर्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटलाई स्मरणीय बनाउन पनि नेपालले शुक्रबार हुने खेल जित्नैपर्ने दबाब छ । बलिङमा राम्रो प्रदर्शन गरेको नेपालले अन्तिम तथा दोस्रो एकदिवसीय खेलमा ब्याटिङमा सुधार गर्नुपर्ने देखिन्छ । पहिलो खेलमा जस्तो गल्ती गर्न नेपाललाई छुट हुनेछैन ।

नेपाली टोलीका कप्तान पारस खड्काले राम्रो सुरुवात गरे तापनि  लगातार विकेट पतन हुँदा हार बेहोर्नुपरेको बताएका थिए । कप्तान खड्काले भरपर्दा शरद भेषवाकर घाइते हुनु पनि टिमका लागि घाटा भएको प्रतिक्रिया दिए । शरदले पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा औंलामा चोट बोकेपछि अन्तिम नम्बरमा ब्याटिङमा आएका थिए । डेब्यु खेलमा नेदरल्यान्डले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो । यसक्रममा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर अनिलकुमार साह र मल्लले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे पनि त्यसपछि नेपालले ठूलो साझेदारी बनाउन सकेन । मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडेका थिए । नेदरल्यान्डलाई १८९ रनमै समेट्ने क्रममा कप्तान पारस खड्काले ४ विकेट हात पारेका थिए ।

शरदले दोस्रो ओडीआई नखेल्ने

नेपाली राष्ट्रिय टिमका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले चोटका कारण नेदरल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने भएका छन् ।

बुधबार भएको डेब्यु एकदिवसीय खेलको पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा शरदले दायाँ हातको कान्छी औंलामा चोट बोकेका थिए । चोटकै कारण उनी ११औं नम्बरमा ब्याटिङमा आएका थिए । उनी यसअघि पाँचौं नम्बरमा आउने गर्थे । उनको स्थानमा सुवास खकुरेलले खेल्ने सम्भावना रहेको छ ।

(Visited 1 times, 1 visits today)