सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

चित्रकलामा भविष्य खोज्दै

9 months ago
04/08/2018

चित्रकलामा भविष्य खोज्दै

ध्रुव लम्साल

 

संगीत र चलचित्रको तुलनामा अझै साँघुरो छ चित्रकलाको बजार । नेपाली समाजले त चित्रकलाको महŒव बुझ्न अझै केही शताब्दी लाग्न सक्छ । चित्रकला प्रदर्शनीमा देखिने उपस्थित र चित्रकला कार्यशालामा उपस्थित हुनेहरूको संख्या हेरेर पनि भन्न सकिन्छ । नेपालमा चित्रकलाप्रति चासो राख्नेहरू निकै थोरै छन् ।


साहित्य, संगीतलगायतका तुलनामा चित्रकलाको बजार अझै साँघुरै छ भन्छन्, सुरेम देशार । उनले क्यानभासमा चित्र कोर्न थालेकै दशक बित्यो । प्रारम्भको तुलनामा सहरमा चर्चा बढे पनि आशावादी हुने ठाउँ नभएको स्विकार्छन् । यति हुँदा हुँदै पनि उनको उत्साह जागेको जाग्यै छ । उनी भन्छन्, ‘एक दिन नेपाली समाजले पनि चित्रकलाको महŒव पक्कै बुझ्छ ।’ उनी रियलस्टिक, अस्ट्रयकलगायत सबै खालका पेन्टिङ गर्छन् ।

ललितपुरको पल्लो छेउमा जन्मिएका यी किशोर कसरी चित्रकलामा आकर्षित भए होलान् ? उनी मुस्कुराउँदै भन्छन्, ‘खै, मलाई पनि थाहा छैन, कसरी आकर्षित भएँ ।’ ललितपुरकै रैथाने भए पनि उनी हुर्कंदासम्म उनको परिवारका सदस्य खेती किसानीमै सीमित थिए । सहरको रंगीन दुनियाँको माहोलबाट टाढै थिए । उनी घरनजिकैको स्कुलमा पढ्थे । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा उनी चित्र कोर्थे । उनको प्रतिभाबारे स्कुलका शिक्षकले जानकारी पाए पनि बाआमालाई उति भेउ थिएन । ‘चित्र बनाएर के हुन्छ र’ भन्नेहरूकै जमात थियो, उनको परिवारमा ।
उनलाई चित्र बनाउने लत लागिसकेको थियो । प्रारम्भमा चित्र बनाउन रंग, ब्रस र क्यानभासका लागि ठूलै संघर्ष गर्नुपथ्र्यो । उनका ठुल्दाइले उनको कलाको महŒव बुझेका थिए । कलर किन्नका लागि पैसा दिन्थे । सुरेम सम्झन्छन्,
‘९० रुपैयाँ पर्ने कलर किन्नका लागि पनि आम्दानी हुने सिजन नै कुर्नुपथ्र्यो ।’ परिवारका सदस्य कृषिमै आश्रित भएकाले धान भिœयाउने बेलामा पैसाको चहलपहल हुन्थ्यो । त्यसबेलामा सहजै रंग र कुची किन्ने अवसर पाउँथे ।

सुरेम सहरको रंगीन दुनिया“को माहोलबाट टाढै थिए । उनी घरनजिकैको स्कुलमा पढ्थे । त्यहा“ अतिरिक्त क्रियाकलापमा चित्र कोर्थे । उनको प्रतिभाबारे बुबाआमालाई उति थाहा थिएन

काठमाडौंमा कलासम्बन्धी अध्ययन गराउने थुप्रै संस्था छन् । अहिले कसैले सुरेमलाई चित्रकला कसरी पढ्ने भनेर सोध्यो भने राम्रो सुझाव दिन सक्छन् । आफ्ना प्रारम्भका दिन सम्झँदा उनलाई लाग्छ, ‘सुरुवातमा सबैलाई गाह्रो हुन्छ ।’ उनी आठ कक्षामा पढ्दै थिए । वरिष्ठ कलाकार किरण मानन्धर कार्यक्रमको सिलसिलामा उनको गाउँमा पुगे । चित्रकला क्षेत्रकै ठूलो मान्छे आफ्नो गाउँमा आइपुग्दा भेट्ने अवसर किन चुकाउथे । त्यही बेला मानन्धरले भने, ‘कसैलाई चित्रकला पढ्ने मन छ भने मलाई सम्पर्क गर्नू ।’
जब एसएलसी दिए, सुरेम पुगे किरण मानन्धरकहाँ । मानन्धरकै सुझावमा उनले सिर्जना कलेज अफ फाइन आर्टबाट अध्ययन सुरु गरे । अहिले ललितकला कलेजमा एमए प्रथम वर्षमा अध्ययरत सुरेमले चित्रकलाको विस्तार गर्न स्कुलस्तरमै कला कक्षाको व्यवस्था हुनुपर्ने बताए ।

नेपाल मौलिक संस्कृतिमा धनी मुुलुक भएको बुझेका सुरेम आशावादी पनि छन् । उनी भन्छन्, ‘अब स्थानीय सरकारले स्थानीय विद्यालयमा चित्रकला कक्षा सुरु गर्नुपर्छ ।’ हरेक जिल्लामा कम्तीमा एक जना कला अधिकृतको व्यवस्था गर्ने हो भने नेपाली चित्रकला व्यावसायिक हुने उनको बुझाइ छ । ‘अन्य विषयमा झैं चित्रकलामा पनि बालबालिकालाई सानैदेखि प्रशिक्षित गर्ने हो भने दक्ष कलाकार गाउँगाउँमा जन्माउन सकिन्छ,’ उनले भने ।
राजनीतिक भागबन्डाका आधारमा प्रज्ञा प्रतिष्ठानमा नियुक्ति गरेको उनलाई मन परेको छैन । झन्डा मात्रै बोक्ने व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानमा पु¥याएर कलाको विकास हुन्छ जस्तो लाग्दैन उनलाई । ‘कला बुझेको व्यक्तिलाई एकेडेमीमा स्थान दिने व्यवस्था भयो भने नेपाली कलाको पनि बृहत् विकास हुन्छ,’ उनले भने ।


पछिल्लो समय ग्रामीण कला विकासका लागि उनीलगायतका केही व्यक्तिले अभियानै सुरु गरेका छन् । उनीहरू स्कुल स्कुल जान्छन् र साना केटाकेटीलाई चित्रकलाबारे ज्ञान बाँड्छन् । उनको अनुभवले भन्छ,
‘हामी जहाँ पुग्छौं, साना भाइबहिनीहरू उत्साहका साथ आउँछन् ।’ उनले आफ्नै जन्मस्थानमा वादे कला (पुज) स्टुडियो स्थापना गरेका छन् । स्थानीय अनिल महर्जन, राजेन्द्र देशार, दिलकुमार देशार र सुरेम स्वयंको पहलमा स्थापना भएको उक्त संस्थाले बालबालिकालाई प्रशिक्षण दिने गरेको छ । चाडपर्वमा विभिन्न कार्यक्रम पनि गर्ने गरेको छ । सुरेम भन्छन्, ‘हाम्रो अभियानले सकारात्मक सन्देश प्रवाह भएको छ ।’ दर्जनको हाराहारीमा विभिन्न पुरस्कार पाएका सुरेमले तीन पटक सोलो एक्जिभिसन गरेका छन् भने चार दर्जन बढी पटक समूहगत प्रदर्शन गरेका छन् ।

(Visited 14 times, 1 visits today)
Loading comments...