मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

राजनीतिक पाठशाला

12 months ago
11/08/2018

राजनीतिक पाठशाला


दीपक ठकुरी

सपना विपनामा परिणत गर्नेको भीड बाक्लै छ । रामायण–महाभारतमा उल्लिखित ब्रमास्त्र आज आणविक हतियार बनाइए । पुराणमा देवीदेवताले पुष्प विमानलगायतका माध्यमबाट स्वर्ग–पृथ्वी यात्रा तय गरेको प्रसंग छ ।  मानिसले पनि देवीदेवताझैं आकासमा विमानसहित उड्ने सपना देखे । नभन्दै सपना पूरा भयो । हाल पृथ्वीबाट अनेक ग्रहसम्मको यात्रा तय गर्न मानिस सफल भएको छ । झट्ट सुन्दा सम्भव लाग्ने सपनाहरू दृढ अठोट, निरन्तर प्रयास र व्यवस्थित योजनाका कारण सफल भएका छन् ।

राजनीतिक संस्कारको मार्गदर्शकका रूपमा रहेकोसिंहदरबारमा आशा सिंह (गौरी मल्ल)लाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको छ । उनले अस्तव्यस्त राजनीतिलाई मूलधारमा ल्याउन सकेको सफल कथा छ, यसमा । सम्पूर्ण नेपाल पार्टी उपाध्यक्ष आशालाई पार्टी अध्यक्ष रामानन्दन झा आफू अस्वस्थ भएकाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्छन् । उनको प्रस्ताव पार्टीले हत्तपत्त स्वीकार्दैन । आफ्नै कृपाका कारण राजनीतिक पृष्ठभूमि बनाएको छोरा युवराज झासमेत आशा सिंहको नेतृत्व छविमाथि शंका गर्छन् । पार्टी अध्यक्ष तथा बुबा रामानन्दन झासँग असन्तुष्ट हुन्छन् । रामानन्दनले आफ्नो उत्तराधिकारीका रूपमा छोरा युवराज झालाई स्वीकार्न सक्थे तर उनले त्यसो गरेनन् । उनले हाम्रोभन्दा राम्रो मान्छेलाई सरकारको नेतृत्व सम्पिए ।
नेपाली राजनीतिमा नदेखिने गतिविधि प्रस्तुत गरिएको छ सिंहदरबारमा । यो नेपाली राजनीतिका लागि स्वप्नसरि बनेको छ । नेपाली राजनीतिमा आफ्नो मान्छेलाई उच्च पदमा नियुक्त गर्ने चलन चर्चाको शिखरमा छ । यसले देशको विकासमा बाधा सिर्जना गरेको सत्य उद्घाटन गर्दै सिंहदरबारले राम्रा र सक्षम मान्छेलाई नेतृत्व सुम्पनुपर्ने धारणा प्रस्तुत गरेको छ । जुन निकै स्तुत्य छ । रामानन्दनले पार्टीको नेतृत्व गरेका छन्, आशा सिंहले सरकारको । नेपाली राजनीतिमा यो सन्दर्भ उदारणीय बन्न पुगेको छ । यस किसिमको राजनीतिक मोडलसमेत नेपाली राजनीतिक पार्टीले अनुसरण  गर्न सक्छन् ।

आशाले सरकारको नेतृत्व गर्न नसक्ने तर्क जनतादेखि राजनीतिक वृत्तसम्म चचाको विषय बन्छ । एक नारीले देशको नेतृत्व गर्न सक्दैन भन्नु पुरुषवादी सोचको अन्तिम पराष्काठा हो । आशा सिंहको सरकार ढाल्न पक्ष र प्रतिपक्षले षड्यन्त्र गरे पनि सकेका छैनन् । यसमा पार्टी अध्यक्ष रामानन्दन र आशा सिंहको सहकार्यात्मक नेतृत्व क्षमता प्रमुख रहेको छ । अनेक दलको विश्वासको मत लिएर आशा सिंह संविधान संशोधन र विभिन्न विधेयक पारित गर्न सफल भएकी छन् । आशा सिंह नेपालका लागि अतिआवश्यक उदाहरणीय गुण र क्षमताले भरिपूर्ण नेतृका रूपमा प्रस्तुत भएकी छन्् । उनमा रहेको शालीनता, सामूहिक चिन्तन, लगनशीलता र उत्तरदायित्व वहन जस्ता गुण हरेक राजनीतिक अगुवाका लागि प्रेरणाका स्रोत हुन् ।
आशा सिंह जनताका सुझाव र सल्लाह सुन्छिन् । जनताका सबै प्रतिक्रिया र चिठीपत्र पढ्छिन् र एउटा ठोस धारणा बनाएर प्रभावकारी तथा अर्थपूर्ण निर्णय गर्छिन् । यस किसिमको व्यवहार राजनेताका पगुरी गुँथ्नेहरूमा समेत विरलै पाइएला । जनताको सम्मान गर्न जान्नु हरेक राजनीतिक अगुवाको आचरण बन्न जरुरी छ । जनताको मन नजितेसम्म राजनीतिक यात्रा ठप्प हुन्छ ।

सिंहदरबारको पहिलो शृंखलामा जन्म, सृष्टि, अन्नगान, घर, आमा, साहस, परिपक्वता, भुइ“चालो, कर्तव्य, परिवर्तन, उपचार, रूपान्तरण र जीवनचक्र शीर्षकका १३ भाग छन्

सिंहदरबारले नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लिखित समावेशी सिद्धान्तलाई नेपाली राजनीतिमा सफल रूपमा कार्यान्वयन गरेको छ । यसलाई प्रदेश र स्थानीय तहसम्म निरन्तरता दिएको छ । लैंगिक समानताको विषयलाई उठाउँदै हरेक तह र तप्कामा महिला र पुरुषको समान सहभागिता कार्यान्वयन गर्दै महिलाभित्र अन्तर्निहित नेतृत्व क्षमतालाई उजागर गरेको छ ।
सिंहदरबारको पहिलो शृंखलामा जन्म, सृष्टि, अन्नगान, घर, आमा, साहस, परिपक्वता, भुइँचालो, कर्तव्य, परिवर्तन, उपचार, रूपान्तरण र जीवनचक्र शीर्षकका १३ वटा भाग रहेका छन् । यी भाग नेपाली राजनीतिलाई समावेशी र समानुपातिक सिद्धान्तका आधारमा नेपाली माटो सुहाउँदो अघि बढ्न पथप्रदर्शकका रूपमा प्रस्तुत भएका छन् । सिंहदरबारको पहिलो शृंखलामा नेपाली चलचित्र जगत्का मूर्धन्य तथा चर्चित कलाकारको जीवन्त तथा कालजयी अभिनय हेर्न पाइन्छ ।

यस शृंखला कलाकारमा गौरी मल्ल, प्रमेश झा, अनिल पाण्डे, भिन्तुना जोशी, प्रवीण खतिवडा, रमेश रञ्जन, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, देशभक्त खनाल, मिथिला शर्मा, प्रकाश घिमिरे, विक्रम सिंह, बीएस राना, सञ्जय नेपाल, धीरेन्द्र झा, रूपा झा, सिल्भिना बज्रचार्य, नगिना जोशी, अकल मान, रती बस्नेत, वसन्त भट्ट, पुनम राना र नारदमुनि हर्ताम्छाली रहेका छन् । सिंहदरबारको पहिलो शृंखलाका १३ भाग छिरिङ रितार शेर्पाले निर्देशन
गरेका हुन् ।
पहिलो शृंखलाको सफलतापछि सिंहदरबार २ को शृंखलाबद्ध प्रदर्शन सुरु भएको छ । यस शृंखलामा अगिल्ला शृंखलाका कलाकार र केही नयाँ कलाकार थप गरिएको छ । यसले नेपाली राजनीतिको बक्रपथलाई प्रस्तुत गर्दै जल्दाबल्दा समस्यालाई रचनात्मक ढंगले समाधन गर्न सुझाएको छ । यस शृंखलाको निर्देशन नवीन सुब्बाले गरेका छन् ।

नेपाली राजनीति वृत्तमा देखिने महŒवांकाक्षा र षड्यन्त्र बुझ्न सिंहदरबार पस्नैपर्दैन, सिंहदरबार शृंखला हेरेपुग्छ । सिंहदरबारले सरकार परिवर्तन, हाम्रा मान्छेको नियुक्ति, महिला नेतृप्रतिको नेपाली समाजको धारणा र सरकारको कार्यशैलीलाई शल्यक्रिया गर्दै सहकार्य, भातृत्व, सद्भाव, सहिष्णुता र राष्ट्रिय स्वार्थको दबाइमार्फत देशलाई उन्नतिको शिखर चढाउन सकिने सम्भावित राजनीतिक अवधारणा र विकासको नमुना प्रस्तुत गरेको छ । त्यसैले यसले नेपाली माटो सुहाउँदो नेतृत्व निर्माणमा अहं भूमिका खेल्ने निश्चित छ । ल

(Visited 10 times, 1 visits today)
Loading comments...