सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

राजीनामा

8 months ago
25/08/2018

राजीनामा

दीपक ठकुरी

सिवाङ्गी निकै खिन्न देखिन्छिन् । अनुहारभरि आँसुको लहर दौडिएझैं । अलिअलि हडबडाएझैं । शिक्षकको ध्यान खिचिक्क हुन्छ । ‘कस्तो रुन्चे अनुहार बनाएकी ?’ शिक्षक उनको झुकेको शिरतर्फ दृष्टि दिनुहुन्छ ।‘म ल्याङ्ग्वेज चेकर नबन्ने सर ?’ उनी हडबडाउँदै अनुरोध गर्छिन् ।
‘के भो ? किन नबन्ने ?’ शिक्षक जंगिनुहुन्छ । उनले शिक्षकबाट सान्त्वना पाइने आस गरेकी हुन्छिन् । तर, शिक्षकको रुखो प्रश्न सुन्नेबित्तिकै उनी निस्तब्ध हुन्छिन् । मनमा के भनूँ के भनूँ लागिरहन्छ । जवाफ दिन नपाउँदै शिक्षक निर्देशन दिनुहुन्छ, ‘निवेदन लेख, किन ल्याङ्ग्वेज चेकर नबन्ने ?’
उनी बादल बन्छिन् । उनको मुखाकृत विकृत बन्दै जान्छ । आँखाभरि आँसु टिलपिलाउँछ । उनलाई शिक्षकसँग बेपत्ताको रिस उठ्छ । उनी शिक्षकले घाउमा सियोले घोचेझंै महसुस गर्छिन् ।

कक्षाकार्य गर्न मन लाग्दैन । तपैनि, गरेझैं गर्छिन् । शिक्षक भन्नुहुन्छ, ‘ल्याङ्ग्वेज चेकरहरू मसँग आओ ।’शिक्षक बैठक कक्षतर्फ लाग्नुहुन्छ । सिवाङ्गी र रेशुका मुरमुरिँदै शिक्षक पछि पछि लाग्छन् । सिवाङ्गी मनमनै भन्छिन्, ‘म त बन्दिनँ, ल्याङ्ग्वेज चेकर । सबैले मलाई नै दोष लगाउँछन् ।’‘आओ,’ शिक्षक हातले इसारा गर्नुहुन्छ ।
उनीहरू दुवैजना बेन्चमा बस्छन् । शिक्षकले के भन्नुहोला भनेर अनेक किसिमका प्रश्न जन्मन्छन्, हुर्कन्छन् उनीहरूको मनमा । शिक्षक भन्नुहुन्छ, ‘ल, भन । के भयो ?’‘सर, क्याप्टेनले हामीलाई केटाको मात्र नाम लेख्यो भनेर आरोप लगाउँछ, हामीले त्यसो गरेका छैनौं,’ सिवाङ्गी एकै श्वासमा उत्तर दिन्छिन् । रेशुका मनमनै ‘हो सर’ भन्छिन् । ‘त्यसो भए क्याप्टेनलाई बोलाऊ,’ शिक्षक अलि नम्र बन्नुहुन्छ ।

उनी बादल बन्छिन् । उनको मुखाकृत विकृत बन्दै जान्छ । आ“खाभरि आ“सु टिलपिलाउ“छ ।उनलाई शिक्षकस“ग बेपत्ताको रिस उठ्छ

रेशुका दौडिँदै कक्षातर्फ लाग्छिन् । यता, शिक्षक र सिवाङ्गीबीच घटनाबारे छलफल हुन्छ । शिक्षकले घटनाको जड पत्ता लगाउनुहुन्छ । उहाँ मनमनै कारबाहीको निर्णय सुनाउन तरखर गर्दै गर्दा क्याप्टेन हिमालसहित अरू दुई केटा आइपुग्छन् । शिक्षक प्रश्न गर्नुहुन्छ, ‘के भएको हो, बताऊ ?’
‘सर, यिनीहरूले आफ्नो ड्युटी राम्रोसँग पूरा गरेनन् । उनीहरू केटाहरूलाई मात्र कारबाही गर्छन्,’ क्याप्टेन गर्वसाथ आरोप पेस गर्छन् ।
‘होइन सर, यिनीहरू नेपालीमा कुरा गरिरहेका थिए अनि नाम लेखेको । हामीलाई केके दोष पनि लगाउँछन्,’ सिवाङ्गी र रेशुकाको सँगसँगै जवाफ आउँछ । शिक्षक क्याप्टेनको अनुहार खुब गम्भीर भएर हेर्नुहुन्छ । क्याप्टेन अझै गर्वसाथ ठिंग उभिरहेकै हुन्छन् । शिक्षक केहीबेर ट्वाँ पर्नुहुन्छ । कमजोरी कसको ?
शिक्षक दुवै समूहलाई हतोत्साही पार्न चाहनुहुन्न । अलि बढी खिन्न देखिएकी सिवाङ्गीलाई सान्त्वना दिने उद्देश्यले भन्नुहुन्छ, ‘हिमाल, तिम्रो जिम्मेवारी के हो ?’
‘अनुशासन, गृहकार्य, कक्षाकार्य आदि हेर्ने सर ।’ उनी गर्वसाथ भन्छन् ।
‘किन ल्याङ्ग्वेज चेकरलाई हस्तक्षेप गरेको त ?’ शिक्षक अलि कडा रूपमा
प्रस्तुत हुनुहुन्छ ।
हिमाल शान्त देखिन्छन् । मनमनै ठुस्स पर्छन् । यता, सिवाङ्गी र रेशुका केही खुसी भएजस्ता देखिन्छन् ।
शिक्षक हिमालको भाँचिएको मन जोड्न भन्नुहुन्छ, ‘हेर, तिमीहरू दुवै पक्ष मिलेर कक्षालाई अनुशासित, लगनशील र राम्रो बनाउने । तिमीहरूबीच मनमुटाव हुन्छ भने कहिल्यै कक्षा राम्रो हुँदैन ।’ उनीहरू मनमनै ‘हो सर’ भनिरहेका हुन्छन् ।
‘अघि सिवाङ्गीको गल्ती छ भन्दा ऊ रिसाई, उसको चित्त दुख्यो । अहिले हिमालले गल्ती ग¥यो भन्दा त्यस्तै भएको छ । कसैलाई दोष मन पर्दैन । अबदेखि तिमीहरू एकअर्काको काममा हस्तक्षेप नगर । गल्ती भयो भने एकान्तमा सम्झाऊ या मलाई खबर गर,’ शिक्षक थप्नुहुन्छ, ‘क्याप्टेन र ल्याङ्ग्वेज चेकर मिलेरै कक्षा राम्रो हुने हो । ल, अबदेखि दोष लगाएर होइन, मिलेर आफ्नो कर्तव्य पूरा गर ।’ उनीहरू कक्षातर्फ लाग्छन् । एकअर्काप्रतिको रिस मत्थर भइसक्छ, कक्षा प्रवेश गरुन्जेलसम्ममा ।

(Visited 14 times, 1 visits today)
Loading comments...