बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

प्रस्तावित रंगशालाविरुद्ध प्रदर्शन, नगर प्रमुखलाई विरोधपत्र

1 year ago
12/09/2018

राजधानी संवाददता/भक्तपुर ।

चाँगुनारायण नगरपालिका–९ तेडोल छाप र डाँडापाटीमा निर्माण गर्ने भनी प्रस्ताव गरिएको रंगशालाविरुद्ध त्यहाँका जनता मंगलबार सडकमा उत्रिएका छन् ।
चाँगुनारायण क्षेत्रमा सरकारले जग्गा एकीकरण आवास योजनामार्फत अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने एकतर्फी निर्णय गरेको भन्दै त्यसविरुद्ध उक्त क्षेत्रका जनता सडकमा उत्रिएका हुन् । उनीहरूले चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलाई भेटेर विरोधपत्र पनि बुझाएका छन् ।


रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको छ । भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झन्डै ३८ हजार रोपनीमा आवास योजना सञ्चालन गरी त्यसबाट बचेको २ हजार रोपनी क्षेत्रफलमा रंगशाला बनाउन कार्यदलको प्रस्ताव छ । प्रस्ताव गरिएअनुसार रंगशाला बनेको खण्डमा आफूहरूको उठीबास हुने निश्चित रहेको भन्दै रंगशालापीडित जनता सडकमा उत्रिएको र नगर प्रमुख मिश्रलाई विरोधपत्रसमेत बुझाएकोे पीडितहरूले बताए । उनीहरूले भक्तपुरको भत्केको पाटीदेखि चाँगुनारायण नगरपालिका कार्यालयसम्म जुलुससहित विरोध प्रदर्शन गरे । उनीहरूले ‘बस्ती उठाउन पाइँदैन, रंगशाला चाहिँदैन’, ‘विकासको नाममा विनास, हुन्छ जनताको उठिबास’, ‘रंगशाला झेल हो, भूमाफियाको खेल हो’, ‘जनचाहनाको कदर गरौं, रंगशाला बदर गरौं’ लयागत नारा लगाउँदै नगरपालिका कार्यालयसमेत घेराउ गरे ।

‘जनताको पक्षमा काम गर्ने कबुल गरी चुनिएका जनप्रनिधिहरूले जनताको गाँस, बास नै नरहने गरी कुनै काम गर्न पाइँदैन, रंगशाला बन्ने सुनेर हामी आतंकित भइरहेका छौं,’ ताथली तेडोलका सोविता भण्डारीले भनिन्, ‘यस विषयमा नगर प्रमुख र केही जनप्रतिनिधिबाट अझ पनि स्पष्ट तथ्य बाहिर नआउनु दुःखद र विडम्बनापूर्ण छ ।’ विरोध ¥यालीमा सहभागी उनले रंगशाला बने आफूजस्ता सयौं जना अलपत्र हुने भन्दै आफ्नो गाँसबासका लागि आन्दोलनको विकल्प नभएको स्पष्ट पारिन् ।
‘डाँडापाटी र तेडोलमा रंगशाला बन्नुहुन्न, यसले रैथाने मात्र नभई दुईचार आना घडेरी लिई बसाइँ सरी आएकाहरूको पनि उठिबास हुन्छ,’ विरोध ¥यालीमै सहभागी स्थानीय रामकृष्ण सुवालले भने । उनले सो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने विषयमा नगपालिकाले कुनै पनि सल्लाह नगरी जनप्रतिनीधिले नै जनताको मतविपरीतको काम गरेको आरोप लगाए । ‘रंगशाला निर्माण गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने हाम्रो माग छ,’ उनले भने ।

संघर्ष समितिले बुझाएको विरोधपत्र ग्रहण गर्दै नगर प्रमुख मिश्रले त्यस विषयमा राम्रो जानकारी नभएको बताए । उनले रंगशाला बन्नुपर्ने तर त्यसको नाममा कसैको पनि विस्थापन हुन नहुने उल्लेख गरे ।
आयोजक समितिका अध्यक्ष रामचन्द्र बासीले जनताको मागलाई बेवास्ता गरी रंगशाला निर्माण कार्य अगाडि बढाए अझ सशक्त आन्दोलन गर्ने पनि घोषणा पनि गरे ।

(Visited 22 times, 1 visits today)
Loading comments...