वसन्तपुरमा १०८ कुमारीको सामूहिक पूजा

राजधानी समाचारदाता/काठमाडौं ।
१०८ ‘जीवित देवी’ कुमारीको शनिबार राजधानीमा सामूहिक पूजा गरिएको छ । वसन्तपुरमा भाद्र शुक्ल त्रयोदशीका दिन जीवित देवी कुमारीको सामूहिक पूजा गरिने चलन छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि पूजा आरम्भ भएको जनविश्वास छ ।
नियमअनुसार ५०४ कुमारीको पूजा गरिने चलन भए पनि १०८ को मात्र पूजा भएको काठमाडौं जात्रा व्यवस्थापन समिति अध्यक्ष राजन महर्जनले जानकारी दिए । ‘५०४ कुमारीको संकल्प गरिए पनि १०८ कुमारीको मात्र पूजा गरिएको छ,’ उनले भने, ‘राज्यका कुमारीको पूजा गरिनुपर्ने मान्यताअनुसार गरिएको हो ।’
आयोजक युवा विश्व हिन्दू महासंघले कुमारी तृष्णा शाक्यसहितलाई वसन्तपुरमा पूजा गरेको हो ।
इन्द्र जात्राको अघिल्लो दिन भाद्र शुक्ल त्रयोदशीमा कुमारी पूजा गर्ने चलन रहेको छ । तर, यसपटक दुई दिन चतुर्दशी परेकाले इन्द्रजात्रा भने भोलि सोमबार मात्र मनाइ“दै छ । आइतबार पनि चतुर्दशी तिथि छ ।
‘कुल, घर, समाज र राष्ट्रको रक्षा होस्’ भन्ने कामनासहित जीवित देवी कुमारीको पूजा गरिएको हो । हरेक टोल र नगरमै कुमारी हुन्छन् । ‘कुमारीमा शक्ति प्राप्त होस् र दुष्ट आत्माले छुन नसकोस्’ भनी पूजा गरिएको छ ।
कुल देवी तलेजु भवानीको शक्ति कुमारीमा प्राप्त होस् भनी पूजा गरिएको समिति अध्यक्ष महर्जनले बताए । काठमाडौं कुमारी तृष्णा शाक्यको पनि पूजा गरिएको छ । कुमारीलाई तलेजु भवानी दर्शन गराई मन्दिर परिक्रमा गराइएको छ ।
इन्द्रजात्राका बेला कुमारी, गणेश र भैरवको रथ नगर परिक्रमा गर्ने परम्परा छ । सोमबार इन्द्रजात्राका दिन इन्द्र भगवान्को पूजा गरी श्रीकुमारी तृष्णा शाक्य, श्रीभैरव, गणेश तथा हल्चोक भैरव नगर परिक्रमा गराइने भएको छ ।
जात्राभर लाखेनाच, महाकाली नाच, दस अवतार तथा देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । यस अवधिमा आकाश भैरवको पनि पूजाआजा हुन्छ । सोमबार तल्लोटोल जैसी देवलतर्फ श्रीकुमारी यात्रा र मंगलबार माथिल्लो टोल नरदेवीमा श्रीकुमारी यात्रा हुने महर्जनले जानकारी दिए ।
आश्विन कृष्ण चौथीका दिन नानीचाया भनी किलागलतर्फ कुमारी रथयात्रा गरेर गणेश भैरव र कुमारीको तीनवटै रथ किलागल परिक्रमा गराई राति १० बजेर २७ मिनेटको साइतमा लिंगो ढालेपछि इन्द्रजात्रा सकिन्छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा भोलि सोमबार इन्द्रजात्रा मनाइ“दै छ ।
इन्द्र जात्रा काठमाडौंका तत्कालीन राजा गुणकामदेवले चलाएका हुन् भने कुमारी जात्रा काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले चलाएको इतिहास छ । इन्द्रजात्राकै दिन तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुरमाथि विजय हात पारेको दिनका रूपमा लिने गरिएको छ ।
मेलाले जात्रामा असर
हनुमानढोका दरबार परिसरमा गत बिहीबारदेखि शनिबारसम्म चलेको ‘लोकतन्त्र मेला’ले परम्परागत इन्द्रजात्रा र यससँग जोडिएका अन्य रथ यात्रा, नाच, पूजा र जात्रा प्रभावित भएको छ ।
मुख्य जात्रा गर्ने ठाउँमा मेला भएकाले परम्परागत जात्रामा समस्या परेको जात्रा व्यवस्थापन समिति अध्यक्ष राजन महर्जनले जानकारी दिए ।
इन्द्रजात्राको दोस्रो दिन शनिबार काठमाडौं हनुमानढोका परिसरमा आयोजित सामूहिक कुमारी पूजामा सहभागी बालिका । तस्बिर ः सत्यन श्रेष्ठ