बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

आजबाट इन्द्रजात्रा सकिँदै

4 weeks ago
28/09/2018

नवीन लुइँटेल/काठमाडौं।

यसपालिको इन्द्रजात्रा आज (शुक्रबार) बाट सकिँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु भएको उक्त जात्रा आश्विन कृष्ण चतुर्थीका दिन आज राति लिंगो ढालेसँगै सकिनेछ । राति १० बजेर २७ मिनेटमा लिंगो ढालिने काठमाडौं जात्रा व्यवस्थापन समितिका राजन महर्जनले जानकारी दिए ।

जात्राको अन्तिम दिन लिंगो ढाल्नुअघि गणेश, भैरव र कुमारीको हातबाट राष्ट्रपति विद्या भण्डारीले टीका र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट टीकाप्रसाद ग्रहण गर्ने परम्परा छ । सोही दिन कुमारी, गणेश र भैरवका रथलाई यट्खा, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरसम्म परिक्रमा गराइन्छ ।

इन्द्रजात्राका अवसरमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र त्यसवरपरका स्थानमा विभिन्न परम्परागत नाच देखाइएको थियो । लाखेनाच, हलचोक भैरवको नाच र पुलुकिसी नाच देखाइएका थिए । यस्तै, महाकाली नाच र घिन्ताङ घिसी नाच भने हनुमानढोकामै देखाइएको छ । परम्पराअनुसार लाखे नाच रञ्जितकारहरूले, हल्चोक भैरव सुनुवार जाति र पुलुकिसी महर्जन समुदायहरूले देखाउने गर्दछन् । इन्द्रजात्राअन्र्तगत नै यी नाच देखाइएका हुन् । लिंगो ढाल्नुभन्दा अघिल्लो दिन जीवित कुमारीको हातबाट गौदान गराइएको छ । इन्द्रध्वजा फहराइएको लिंगो ढासिकेपछि त्यसलाई तानेर बाग्मतीमा लगी सेलाइन्छ ।

पौराणिक कथाअनुसार आप्mनी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए । अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको र त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने थालेको मान्यता छ ।

इन्द्रजात्रामा आफ्नो कुल, घर, समाज र राष्ट्रको रक्षा होस् भन्ने कामनासहित जीवित कुमारीको पूजा गर्ने चलन छ । लिच्छविकालीन राजा गुणकामदेवको पालादेखि सुरु इन्द्रजात्रामा मल्लकालीन राजा जयप्रकाश मल्लको पालादेखि कुमारी रथजात्रा सुरु भएको वंशावलीमा उल्लेख छ ।

शाहकालीन राजा रणबहादुरको पालादेखि हनुमानढोका दरबार परिसरमा लिंगो ठड्याउन थालिएको र त्यसअघि मरु टोलस्थित नारायणमन्दिर अगाडि लिंगो ठड्याउने चलन रहेको स्थानीयको भनाइ छ ।