आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

पाठकले सम्झिने कृति

2 months ago
06/10/2018

पाठकले सम्झिने कृति

वैरागी काइँला

कवि सचित राई आफैं आएर पाण्डुलिपि नदिएको भए उनको कविता संग्रह (अर्को भ्रम) पहिला छापिएको थियो भन्ने थाहा नपाएको रहेछु । सबै साहित्यकारले छापिएका कुराहरूमा अपडेट भइराख्नुपर्ने हो । मचाहिँ बूढो भएछु कि क्या हो, अर्काको किताब पढिन्जेल त एक निद्रा सुत्छुजस्तो लाग्ने के, कत्ति अर्काको हेर्नु ? कत्ति अर्काको गर्नु ? मुख थुनेर के–के नै सम्झिबस्दा कस्तो मजा आउँछ है † धेरै नपढ्दो रहेछु । उनको कविता संग्रह पाएर पढेपछि बडो राम्रो लाग्यो ।

साहित्यकारले त एउटा कमीकमजोरीले समाजमा पार्ने नराम्रो प्रभावलाई साहित्यिक प्रस्तुतिद्वारा कसरी न्यून गर्ने हो, त्यतातिर चाहिँ बडो उदार, सहृदयतापूर्वक र संवेदनशील भएर जाने काम गर्नुपर्छ । साहित्यकार आफैंले एउटा पक्षधरता लियो भने त के न्याय गर्छ र ? आफ्नै क्लाइन्टलाई जताबाट पनि जिताउनु भनेको वकिलले गर्ने मात्रै हो, न्यायाधीशले होइन । साहित्यकारहरूले एक प्रकारले सामाजिक घटना–परिघटनामा न्यायपूर्वक आफ्नो भूमिका समान हिसाबले दिने काम गर्नुपर्ने हो । तर, मचाहिँ अरूजस्तो साहसी छैन, हेर्नुहोस् । तपाईंहरूलाई प्रस्ट भनें– म काफर । यिनले भनेजस्तो जीउ छाडेर लेख्नै सक्दिनँ । म झन्डै क्रिस्चियन भइसकेको, पछि एउटा बूढासँग भेटेर हाम्रो किराती यस्तोउस्तो कुरा गरियो । अहिले भनियो भने किरातीले कुटिहाल्छ, लिम्बूले ठोकिहाल्छ । त्यस्तो भन्ने मलाई लाग्छ मनमा तर भन्ने आँट छैन । तर, आँटिलो लेखक पनि हुँदा रहेछन् ।

गाउँघरमा एउटा विशेष प्रतिभाको कुरा गर्दा त्यसका प्रतिद्वन्द्वी हुन्छन् । प्रतिद्वन्द्वीको कुरा गर्दा पक्ष र विपक्षका कुरा पनि हुन्छन् । एउटा पक्षको कुरा गर्दा अर्को पक्ष रिसाएको पनि हुन्छ । ए † रिसाउँछ र यसले एकदिन पछाडिबाट ढुंगाले हान्छ कि भन्ने डर, त्रास नमानेरै लेख्न सक्ने लेखक पनि हुँदा रहेछन् । सायद पत्रकार भएका हुनाले त्यो आँट सचित राईले गरे, हामी यो किताबमा देख्छौं । यसरी साहित्यकारले आपूmभित्रको इमानदारिता, परिवार, कुल, वंश, जाति, समाज र राष्ट्रप्रतिको जुन इमानदारिता छ, त्यसलाई साहसपूर्वक निर्वाह गर्न सकियो भने लेखिएका लेख, रचना, कथा, कविता, त्यसले एउटा सामाजिक उच्च मान्यता पाउँछ भन्ने मलाई लागेको छ । यो किताबको एउटा राम्रो विशेषता के हो भने सबैले त्यसो गर्नुपर्छ, नगरी नहुँदो रहेछ । किनभने, एउटा समुदाय विशेषका प्रतिभाका बारेमा त्यही समुदाय विशेषका लेख्न सक्ने, निरूपण गर्न सक्ने क्षमता भएकाले कुरा गरेन भने कसले गरिदिने ? अर्कोलाई फुर्सद छैन, आफ्नै समुदायको कुरा गर्न, अर्कोले अर्कै कुरा गर्छ । त्यसो भन्दा दोष पनि लाग्छ । यो किताबभित्र रामप्रसाद राईबाहेक अधिकांश व्यक्तित्व इलाम जिल्लालाई केन्द्र बनाएर सामाजिक, राजनीतिक, शिक्षामा उच्चतम योगदान दिनेबारे वर्णन छ । इलामभित्र जन्मिएर विभिन्न क्षेत्रमा ठूलो योगदान दिने किरात राई जातिभित्रका खम्बू राई प्रतिभाको कुरा, इलाम जिल्लाको भौगोलिक, प्राकृतिक सौन्दर्य÷सुन्दरता, त्यो हरियालीपन, त्यहाँको कृषिउपज, कृषिजन्य उद्योग, त्यहाँको भौगोलिक सुन्दरता र पर्यटकीय स्थलको कुरा गरेर साँच्चै ठूलो काम सचित राईले गरे ।

मलाई त यसका विषयवस्तु राम्रो लागेको मात्र होइन, त्यसलाई प्रस्तुत गर्ने भाषा अत्यन्तै आकर्षक पढूँ–पढूँजस्तो लाग्छ । मान्छेलाई त पहिला त्यसैले आकर्षित गर्दो रहेछ नि † यसो हेर्दा मिलेको, चट्ट परेको, कोरिबाटी राम्रो गरेको, पहिला त्यो मन पराइँदो रहेछ । उसको मनभित्र के छ ? चलन के छ ? आचरण के छ ? पछिको कुरा । तर, यो त सबै मिलेकोजस्तो लाग्यो मलाई । मेरा गाउँका एक जनाले भन्थे, ‘ओउ † सुब्बा साब हेर्नु नि यिनी त शिरमा शिर मिलेकी, पाउमा पाउ मिलेकी, बत्तिसै दन्तले युक्त भएकी, डम्बरकुमारी बर्कोले ग्वाम्मै टाउको छोपेकी ।’

(संग्रह विमोचनक्रममा वैरागी काइँलाले पुस्तकबारे बोलेका टिप्पणीको सम्पादित अंश)

(Visited 3 times, 1 visits today)