बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

‘योगमाया’ ले छोयो

3 weeks ago
06/10/2018

‘योगमाया’ ले छोयो

जयदेव गौतम

प्रकाशित भएपछि उतिसारो चर्चा नपाए पनि २०७४ सालको मदन पुरस्कार प्राप्त गरेपछि भने चर्चाको चुलीमा उक्लिन सफल भएको औपन्यासिक कृति हो, योगमाया । पाल्पाको गोठादीमा जन्मेर हाल अमेरिकामा बसोबास गर्दै आइरहेकी युवा सर्जक नीलम कार्की ‘निहारिका’ले रचना गरेको यो पुस्तक समग्रमा ५०३ पृष्ठ लामो छ । यति बृहत् पुस्तकको अध्ययनले पाठकको उल्लेखनीय धैर्यताको माग गर्नु पनि स्वाभाविक हो । हेक्का राख्नुपर्ने कुरा के हो भने यो कृति पूर्वी नेपालकी राणा शासनकालीन विद्रोहिणी योगमायाको जीवनीमूलक उपन्यास हो ।

उपन्यास लेख्ने क्रममा नीलमले निकै समय खर्चेको र राम्रै अनुसन्धान गरेको सन्दर्भ पुस्तक पढ्दा थाहा हुन्छ । आफ्नै विशिष्ट शैलीमा लेखिएको यस उपन्यासमा उनले ‘आरम्भ’ शीर्षकमा अमेरिकी अनुसन्धानकर्ता बार्बरा निम्री अजिजले कवि पारिजातलाई भेटेको, उनकै घरमा बसेको र योगमायाका केही सिर्जना अंग्रेजीमा अनुवाद गर्न दिएको प्रसंग सविस्तार वर्णनबाट अगाडि बढाएकी छन् । यस क्रममा अन्तिम परिच्छेद ‘उपसंहार’मा नीलमले उपन्यासका लागि कच्चा सामग्री तयार गर्ने क्रममा आफूले भेटेका पात्रहरू, पुस्तक र अन्य प्रकाशित सामग्री दिई सहयोग गर्नेहरूलाई कृतज्ञतासहित सम्झेकी छन् ।
त्यसो त नीलमले यो उपन्यासमा अति सूक्ष्मतम विवरण दिँदै लेखेकी छन्, भाषा पनि पुरै ग्रामीण परिवेशको छ । प्रायः छोटाछोटा वाक्य र छोटै अनुच्छेद छन् । यसले पाठकलाई पढ्न सजिलो पारेको छ । अर्थात् लामालामा र बोझिल अनुच्छेद वा झर्को लाग्ने गरी तन्काइएका वाक्य प्रयोग नभएकाले लेखन पाठकमैत्री छ । उपन्यासकारले यसमा अत्यधिक संवाद प्रयोग गरेकी छन्, जसले गर्दा अनेक ठाउँमा झिनामसिना कुराका प्र्रसंग आइरहन्छन् र उपन्यास त्यसैत्यसै लामो हुँदै गएको जस्तो पनि भान हुन्छ ।

योगमाया नेपाली इतिहासको एक कालखण्डमा एक प्रखर विद्रोही थिइन् । उनलाई आफ्नै जिन्दगी र परिवेशले नै विद्रोही बनाएको हो । जीवनमा भोग्नुपरेका दुःख, अपजस, सास्ती, बुहार्तन, सामाजिक लाञ्छना, कटाक्ष, हेलाहोचो आदिले उनलाई गृहस्थी छाडेर धर्मकर्म, तीर्थव्रत र साधुसन्न्यासीको संगततिर आकर्षित हुन्छिन् ।
पहिले माइती गाउँबाट धेरै टाढा कुनै कोइराला युवकसँग योगमायाको सानो उमेरमै विवाह हुन्छ, जहाँ बुहार्तनबाहेक केही हुँदैन, दुःखको पहाडले च्याँपेको मात्र हुन्छ । त्यहाँबाट न माइत जाने अनुमति पाइन्छ न माइतबाट कोही त्यहाँ पुग्छन् । यस्तोमा एक रात हिम्मत गरेर उनी भागेर माइत आउँछिन्, तीन दिन लगाएर । घर र माइतमा हल्लीखल्ली हुन्छ, उनी कता गइन् भनेर । पछि तीन दिनसम्म घर न माइत भएर हराएकी बुहारीलाई घर नभिœयाउने भएपछि उनी माइतमै बसेकी हुन्छिन् ।

पुरुषप्रधान समाजका अनेक तानाबाना र कटाक्ष सुनिरहने उनका पिता उनलाई निरन्तर केही न केही भनिरहेका हुन्छन्, अपमानको आगोमा घिउ थपिरहेका हुन्छन् । एक दिन आजित भएर उनी गाउँकै कँडेल थरका युवकसित आसामतिर लाग्छिन् । आमाले गर्ने मायाले मात्र उनलाई रोक्न सक्दैन । आसाममा पहिले गारोसारो भए पनि जीवन क्रमशः सामान्य हुँदै गइरहेको र एक छोरीसमेत भइसकेको अवस्थामा अचानक कँडेलको मृत्यु हुन्छ र उनी फेरि एकपटक एक्लो हुन पुग्छिन् । त्यसो त त्यहीँ आसाम छँदै उनलाई सांसारिकताभन्दा साधुहरूको संगत न्यानो लाग्न थालेको हुन्छ । आसाम बसेको धेरै वर्ष बितेको अवस्थामा उनले आफ्ना कान्छा भाइलाई आफूलाई लिन आसाम बोलाउँछिन् । भाइ दिदीलाई लिन आसाम जान्छन् र यहीं प्रसंगबाट योगमाया उपन्यास सुरु हुन्छ ।

नेपाल आइसकेपछि माइतमै बसे पनि उनी कसैसित धेरै बोल्दिनन् । मनकामना पुगेर फर्किन्छिन् । उनको मन ध्यानतिर र पछि तपस्या गर्नेतिर जान्छ ।अब क्रमशः उनी भक्तिमाता, शक्तिमाई, ठूली हजुर आदि नामले पुकारिन थालिन्छिन् । आफ्ना कुरामा निडर, हक्की, निर्भीक र हठी पनि देखिन्छिन् र घर छाडेर कुटीमा बस्न थाल्छिन् ।
उनका समर्थक र विरोधी बढ्दै गइरहेका हुन्छन् । अनेक समर्थक र भक्तालुहरू पनि उनीनजिकै, उनीसँगै कुटी बनाएर बस्न थाल्छन् । योगमाया गीत गाउँछिन्, भजन गाउँछिन् । वास्तवमा उनी आँसु कवि नै प्रतीत हुन्छिन्, तत्काल नयाँनयाँ गीत, भजन रचुट्का रचेर सुनाइहाल्ने । उनका गीतहरू मूलतः धर्ममा आधारित छन्, सँगसँगै सामाजिक चेतना, जागरण र थिचोमिचाविरुद्ध सशक्त आवाज पनि बनेका छन् । उनले गाउने भजनका केही बान्कीहरू ः
मायादया गरिदेऊ
शुद्धिकार्य गरिदेऊ
सत्ज्योति सारिदेऊ
असत्लाई मारिदेऊ ।

आसामीले थैली कर्जा तिरिसकेछ
साहु भन्ने लोभी चाहिँले बाँकी भनेछ ।

हेर केटा तमसुकमा यति बढेको
अन्तर्यामी प्रभु देख्छन् धर्म छाडेको ।

सुनन सत्यनाथ† बिन्ती लिनुहोस्
अब त धर्मको योग दिनुहोस्
सकल घरघरै ज्ञान छिट्नुहोस्
अब त धर्मको ढोल पिट्नुहोस् ।

सत्य शक्तिनाथ सकल जान्दछौ
तिमी त भक्तको बिन्ती मान्दछौ ।
आफ्ना लोकको हाल हेर्नुहोस्
बिन्ती गर्छु नाथ† सृष्टि फेर्नुहोस् ।

लोभी पापीले दुःख पाउँछ
अब त धर्मयुग रमाउँछ
पृष्ट बुद्धिको सेखी गिर्नेछ
अब त धर्मयुग फिर्नेछ ।

योगमाया नारी शिक्षाको पक्षमा छिन्, विधवाको मञ्जुरीसहितको विधवा विवाहको पक्षमा छिन्, अन्याय, अत्याचार, थिचोमिचोका विरुद्धमा छिन्, कमाराकमारी प्रथाको विरुद्धमा छिन्, अधर्मकोे नाश र धर्मको स्थापनाको पक्षमा छिन् । फटाहाहरूले जाली तमसुक बनाई सोझासिधालाई उठीबास गराउने चलनविरुद्ध छन्, जातपात र छुवाछूतविरुद्ध छिन्, घुसखोरीविरुद्ध छिन्, बालविवाहविरुद्ध छिन्,
नारीसमेत सबैले वेद पढ्न पाउनुपर्ने पक्षमा छिन् । उनी खेतीयोग्य जमिन बाँझो राख्न नहुने विचार प्रचारप्रसार गर्थिन्, भूदान यज्ञ गरी गरिबलाई जग्गा उपलब्ध गराउनुपर्ने प्रचार गर्थिन् । थोत्रा ऐन खारेज गरी समयअनुसार नयाँ कानुन प्रचलनमा ल्याउनुपर्ने सोच राख्थिन् । आश्चर्य लाग्छ, एक निरक्षर गाउँले महिलाले कसरी यति धेरै राजनीतिक एवं समाजोपयोगी कुराहरू सोच्न सकेको होला । जबकि, त्यो बेला उनले कुनै सक्रिय राजनीतिकर्मी आदिसित छलफल संवाद नै पनि गर्न पाएकी थिइनन्
एकपटक अरुण खोलामा ठूलो बाढी आउँछ, अर्को पटक नब्बे सालको महाभुकम्प तर योगमाया र उनका भक्तहरू बस्ने कुटी वा स्थानमा नित्य भजन भइरहन्छ, आपत्मा परेकालाई सहयोग पनि भइरहन्छ । उनले आफ्ना मागपत्र लेखी कहिले धनकुटा बडाहाकिमकोमा त अनेकपटक श्री ३ को मा पठाउँछिन् । केही माग पूरा हुन्छन्, उनीहरू खुसी हुन्छन्, योगमायाको मानसम्मान र प्रतिष्ठा बढ्छ । तर, पछि उनीहरूका अन्य माग श्री ३ बाट पूरा हुँदैनन् । उनी आफंै पनि काठमाडौं पुगेर श्री ३ लाई भेटेर मागपत्रसमेत हातैमा थमाएर आएकी हुन्छिन् ।

यति अनुसन्धान र परिश्रम गरी यस स्तरको उपन्यास लेखेकामा उपन्यासकार नीलम कार्की निहारिका निश्चय पनि धन्यवादकी पात्र बनेकी छन्

आफ्ना माग पूरा नभएपछि योगमायाले दुई सयभन्दा बढी अनुयायीहरूका साथ अग्निदाह गर्ने घोषणा गर्छिन् । त्यसको तयारी चलिरहेकै बेला अन्तिम समयतिर प्रहरी र सिपाहीको ठूलो जत्था आइपुग्छ र सबैलाई पक्राउ गरी लैजान्छन्, घिउ लुट्छन् र कुटीहरू जलाइदिन्छन् । उनीहरूलाई तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुन्छ ।
तर, रिहाइपछि फेरि उही भजनकीर्तनको क्रम जारी रहन्छ । तीर्थ जाने र तपस्या गर्ने क्रम पनि चलिरहन्छ । योगमायाले मौखिक रचना गर्ने र गाउने गरेका गीत, भजन, कवितालाई उतार गरेर ‘सर्वार्थ योगवाणी’ शीर्षकमा भारतबाट छपाई ल्याइन्छ तर त्यसलाई सरकारले जफत गरिदिन्छ । फेरि एकपटक श्री ३ समक्ष मागपत्र बुझाइन्छ । तर, ती मागहरू यसपटक पनि पूरा हुँदैनन् । उता, काठमाडौंमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालाललाई शहीद बनाइएको र अरू धेरैजना पक्राउ परेको समाचार प्राप्त हुन्छ । अन्ततः आफ्ना माग पूरा नभएपछि राणाशासनविरुद्ध असार १९९८ हरिशयनी एकादशीका दिन एकाबिहानै  आफ्ना छैसठ्ठी अनुयायीसहित योगमायाले अरुण खोलामा हाम फालेर जलसमाधि लिन्छिन् । त्यसरी जलसमाधि लिएपछि योगमाया र उनका अनुयायीहरू किंवदन्तीमा फेरिए, उनीहरू ‘मिथ’ भए ।

पुस्तकमा योगमायाको सकारात्मक वर्णन छ । खासगरी आसाममा बितेको उनको जीवनबारे कँडेल र साधु–संगत बाहेक अन्य सन्दर्भमा उपन्यास मौन छ । उपन्यासकारको अनुसन्धानले योगमायाका विरोधीलाई भने समेट्न नसकेको पनि उपन्यास पढेपछि थाहा हुन्छ । सरल भाषामा लेखिएको यो उपन्यास पठनीय छ, संग्रहणीय पनि छ । यति अनुसन्धान र परिश्रम गरी यस स्तरको उपन्यास लेखेकामा उपन्यासकार नीलम कार्की निहारिका निश्चय पनि धन्यवादकी पात्र बनेकी छन् । अझ मदन पुरस्कारले उनको परिश्रमलाई अझ सार्थक तुल्याइदिएको छ । त्यसमा पनि नेपाली साहित्यमा यस किसिमका जीवनी वा इतिहासमा आधारित उपन्यासको अभाव छ । नीलमले यसमा एउटा इँटा थपेकी छन् । ल