सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

सक्रिय गजेन्द्र

रामसूदन तिमिल्सिना
2 weeks ago
06/10/2018

सक्रिय गजेन्द्र

रामसूदन तिमिल्सिना

कैलालीका गजेन्द्र साउद बलियो हुने रहरले करातेमा होमिएका थिए । कराते सिक्न थालेपछि उनले बुझे, यसले शरीरलाई मात्र बलियो बनाउँदैन, मानसिक रूपमा पनि मानिस बलियो हुँदो रहेछ ।
‘अहिले म शारीरिकभन्दा पनि मानसिक रूपमा बलियो र विनम्र भएको महसुस गर्दछु,’ उनी भन्छन्, ‘कराते खेल मात्र होइन, जीवन पद्धतिसँग जोडिएको कला हो । मानिसलाई सक्रिय र रचनात्मक बनाउन यसले भूमिका खेल्ने रैछ । त्यसैले म करातेमा कुनै न कुनै रूपमा जोडिरहन्छु जस्तो लाग्छ ।’ नेसनल सोतो कराते संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका साउदले धनगढी डोजोमा २०५२ सालबाट बलियो हुने धुनमा कराते खेल्न सुरु गरेका थिए ।
‘हाम्रो क्षेत्रमा मकेन्द्रसिंह हुनुहुन्थ्यो, उहाँ निकै बलियो, यस्तै बलियो बन्नुपर्छ भन्ने सोचें । उहाँ त कराते खेलेर बलियो भएको भन्ने सुनें । मैले पनि कराते खेलेर उहाँ जस्तै हुन्छु भनेर संकल्प गरें ।’

साउद सम्झन्छन्, ‘शारीरिक रूपमा केही सफलता हात पारें होला तर मानसिक रूपमा म बलियो, सुदृढ भएको महसुस गरेको छु ।’ उनको खेलप्रतिको मोह देखेर बुबा प्रसाद, आमा महादेवी र दाइ पुष्पले पनि सधैं सहयोग गरिरहे ।
कराते खेल्नकै लागि उनी नेपाल सशस्त्र प्रहरी बलमा जागिर खान पुगे ।
‘एपीएफले मलाई नयाँ जीवन दिएको छ । करातेमा मेरो परिचय गराइदिने काम गरेको छ । म कृतज्ञ छु,’ उनी भन्छन् । एपीएफमा खेलमार्फत आबद्ध भएको पहिलो व्यक्ति हुन् साउद । उनको एपीएफमा भएको इन्ट्री नेपाली खेलकुदका लागि कोसेढुंगा साबित भएको छ । त्यसपछि एपीएफले अन्य खेलाडीलाई पनि आबद्ध गरायो ।
तेस्रो डान प्राप्त साउदले भारतमा भएको अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेका थिए । विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा पनि एपीएफका लागि उनले पदक जिते । उनले आफूलाई खेलाडीका रूपमा मात्र सीमित राखेनन् । रेफ्री र प्रशिक्षकका रूपमा पनि सक्रिय भए । रेफ्रीका लागि चाहिने आवश्यक कोर्स गरेका साउद यतिबेला एपीएफका उत्कृष्ट
रेफ्रीमा गनिन्छन् ।

‘जे गर्दा पनि त्यसमा आफ्नो सम्पूर्ण शक्ति दिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन् । उनी खेलाडी र प्राविधिक रूपमा मात्र सफल छैनन्, संघ र प्रतियोगिताको व्यवस्थापनमा पनि अब्बल रहेको देखाउन चाहन्छन् । उनकै संयोजकत्वमा ११ र १२ जेठमा प्रथम एपीएफ अन्तर्राष्ट्रिय आमन्त्रण सोतो कराते च्याम्पियनसिप सम्पन्न भयो ।
नेसनल सोतो कराते संघ दर्ता भएको नौ महिनाको अवधिमा भएको सो प्रतियोगिताले उनको क्षमता प्रस्तुत भएको उनी विश्वास गर्छन् । त्यसैको प्रेरणाले यतिबेला उनी नेसनल सोतो साफ च्याम्पियनसिप कराते प्रतियोगिताको तयारीमा जुटिरहेका छन् ।
‘यो प्रतियोगितालाई हामी नमुनाका रूपमा सञ्चालन गर्न खोजिरहेका छौं । म यसमा उत्कृष्ट दिने प्रयासमा छु,’ उनी आत्मविश्वासका साथ भन्छन्, ‘व्यवस्थापनमा कमजोरी हुन दिन्न ।’
यसअघि नै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान र जापानको सहभागितालाई व्यवस्थापन गरेको अनुभवलाई उनी साफ च्याम्पियनसिपमा निखार्न चाहन्छन् । सोतो कराते संघका अध्यक्ष राजेन्द्र बानियाँ पनि उनको कार्यशैली र लगनशीलताबाट प्रभावित भएका छन् ।

२४ जिल्लामा संघ फैलिएको छ । त्यसैगरी, सोतो कराते च्याम्पियनसिप सशस्त्रको वार्षिक क्यालेन्डरमा समावेश भएकाले उनी अझ उत्साहित भएका छन् । ‘यसले गर्दा हाम्रो च्याम्पियनसिप नियमित र व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ । यसले हामीमा उत्साह थपेको छ । काम गर्नेलाई हौसला प्रदान गर्नुहुने आईजी साहेव शैलेन्द्र खनालप्रति हामी आभारी छौं,’ उनी भन्छन् । खनाल ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडीसमेत हुन् । जसका कारण उनी खेलकुदको विकासमा योगदान गर्न चाहन्छन् ।

तेस्रो डान प्राप्त साउदले भारतमा भएको अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेका थिए

उनी प्रतियोगिताका लागि मात्र प्रतियोगिता गर्ने संस्कार हटाउनुपर्नेमा जोड दिन्छन् । भन्छन्, ‘करातेको विकासका लागि टेवा पुग्ने गरी प्रतियोगिता हुनुपर्छ ।’ उनी कुनै पनि प्रतियोगिता गर्दा सबैभन्दा पहिले खेलाडीबारे सोच्नुपर्ने धारणा राख्छन् ।
उनी करातेलाई पदक ल्याउने खेलका रूपमा मात्र नहेर्न पनि अनुरोध गर्दछन् । करातेको विषयमा उनी राज्यसमेत स्पष्ट हुनुपर्ने धारणा राख्दछन् । ‘यो विशेष कला भएको खेल हो । यतिबेला त महिला सुरक्षाको संवेदनशील कुरा आइरहेको छ । यसका लागि करातेको महŒव झन् बढेको देख्छु,’ उनी भन्छन्, ‘अहिले आत्मरक्षाका लागि करातेका महŒवपूर्ण बिन्दुमा प्रहार गर्ने कला सिकाउन थालिएको छ ।’ आज सबै नागरिकका लागि यो कला आवश्यक रहेको देख्दा उनी खुसी
लाग्ने बताउँछन् ।

कराते अभ्यास एक कला वा खेलका रूपमा, एक युद्ध खेल या आत्मरक्षा प्रशिक्षणका रूपमा रहेकाले पनि विभागीय टोलीदेखि सर्वसाधारण सबैका लागि यो कलाको महŒव रहेको उनको बुझाइ छ । ‘खेलका रूपमा मात्र यसलाई हेरिनुहुँदैन । यो व्यापक र विविधता भएको खेल हो,’ उनले भने ।
‘दृढता, निर्भयता, सदाचार र नेतृत्व क्षमताका लागि कराते महŒवपूर्ण छ । अहिले हामीले व्यायाम र प्रतियोगितामा मात्र जोड दिएका छौं । अब यसको अन्य पक्षको विषयमा पनि उजागर गर्नुपर्छ । यसमा हामीले पनि योजना बनाइरहेका छौं,’ उनी भन्छन् । स्वार्थी र नराम्रो विचारलाई शुद्ध गर्ने कलाका रूपमा समेत करातेलाई व्याख्या गरिएकाले समाज परिवर्तनका लागि एक अभियानका रूपमा कराते रहन सक्ने उनको दाबी छ ।

‘निःस्वार्थ मनका लागि विवेकका साथ ज्ञानलाई बुझ्न सक्ने कला भएकाले यो नागरिकदेखि नेतृत्व तहसम्मका लागि आवश्यक छ । अब त नेतृत्वमा रहनेले पनि कराते पो सिक्ने हो कि,’ उनी भन्छन्,
‘भावी पुस्तालाई दृढ, सक्रिय र सक्षम बनाउन स्कुलमा कराते अनिवार्य गर्ने विषयमा पनि बहस गर्ने बेला भएको छ ।’
धेरै विकृति र विसंगतिका लागि कराते एउटा समाधानको औजारका रूपमा रहेको उनको दाबी छ । भन्छन्, ‘आत्मरक्षा, आत्मविश्वास, आफैंलाई माया गर्ने र खुसी व्यक्ति निर्माणमा करातेको योगदान हुनेछ । समृद्ध मुलुक र खुसी नेपालीका लागि पनि करातेको महŒव देख्छु म त ।’