बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

असहमतिपत्र राखियो, छलफल भएन

2 months ago
09/10/2018

असहमतिपत्र राखियो, छलफल भएन

काठमाडौं÷रास– नेकपामा बल्झेको विवाद नसुल्झदै पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।  नेताहरूको आलैपालो विदेश भ्रमणले पार्टी सचिवालय बैठक नहुँदा विवाद सतहमा देखिएको थियो । शीर्ष नेताहरू विदेश भ्रमणबाट फर्किपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विवादको विषयले प्रवेश पाएन ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा अर्को बैठकमा छलफल हुने बताए ।

‘शीर्ष नेताको विदेश भ्रमण उपलब्धिमूलक एवं विभिन्न मुलुकसँगको द्विपक्षीय सम्बन्ध विस्तारसमेत भएको छ,’ श्रेष्ठले भने, ‘पछिल्लो समयमा पार्टीमा देखिएको असन्तुष्टिका विषयमा अर्को बैठकमा छलफल गरिनेछ ।’
वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लोपटकको पार्टी सचिवालय बैठकद्वारा गरिएको निर्णयमा असहमति जनाउँदै पार्टी महासचिव विष्णु पौडेललाई लिखित रूपमै विरोध जनाएका छन् । नेपालको लिखित विरोधपत्र बैठकमा प्रस्तुत गरिए पनि छलफल अर्को बैठकमा गरिने सहमति नेताका बीचमा भएको छ ।
५ असोजमा बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । वरिष्ठ नेता नेपालको अनुपस्थितिमा भएको सो निर्णयमा नेताहरूलाई दोहोरो जिम्मेवारी दिएको, विधि र प्रक्रियासंगत नभएको असन्तुष्ट पक्षले भन्दै आएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरी नेता नेपाल घाना भ्रमणमा गएका थिए ।
आफू नभएको बेला सचिवालय बैठक बसी विधि, प्रक्रिया एवं दोहोरो जिम्मेवारी दिनेगरी प्रदेश पदाधिकारीको टुंगो लगाइएको नेता नेपालले बताउँदै त्यसलाई सच्याउन असहमतिपत्र नै दर्ता गरेका थिए ।
यसैगरी, सरकारको कामकारबाहीको विषयमा पनि पार्टीमा छलफल हुनुपर्ने नेता नेपालले बताए । दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारले गरिरहेको गतिविधि, मुलुकमा बढेको आपराधिक क्रियाकलाप, विकासलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक हुनुपर्ने माग नेपालले आफ्नो पत्रमार्फत गरेका छन् ।
बुधबार प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकता, स्थायी कमिटीको बैठक मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने बताए ।

(Visited 2 times, 1 visits today)