बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी, दसैंतिहारपछि फेरि आन्दोलन गर्ने तयारी

2 months ago
09/10/2018

सुभाष साह/काठमाडौं।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार एक ज्ञापन पत्रबुझाउँदै राजपा नेपालले समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपा नेपालले सोमबार नै मधेसका सबै जिल्ला प्रशासन कार्यालय मार्फत उही व्यवहोरा भएको ज्ञापन पत्र बुझाएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई समर्थन किन गर्ने भन्ने प्रश्न सोधेको छ । सरकार गठन भएको सात महिना भईसक्दा समेत आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता किन नलिने भन्ने प्रश्न राजपा नेपालले प्रधानमन्त्री ओलीसंग गरेको छ ।

‘वास्तवमा दुई तिहाई बहुमत प्राप्त सरकारको रवैयाले समग्र नेपाली जनता नै हतास, निरास, आतंकित र ससंकित छन्, तसर्थ राजपा नेपालले यहाँ नेतृत्वको सरकारलाई दिएको समर्थनको निरन्तरता कतिको औचित्यपुर्ण छ भन्ने गम्भिर सवाल खडा भएको छ’ राजपा नेपालले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संबिधान संशोधन, सांसद रेशम चौधरीको सपथ एवं रिहाई, मधेस आन्दोलनका क्रममा लगाईएको झुठा मुद्धा फिर्ता लगायतका बिभिन्न माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ । यि माग सम्बोधन गर्ने आश्वासनमा राजपा नेपालले प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै संसदमा बिश्वासको मत दिएको थियो । तर सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारले कुनै छलफल वा सो माग सम्बोधन गर्नका लागि पहल नै नगरेको आरोप राजपा नेपालले लगाएको छ ।

राजपा नेपालका महासचिव केशव झाले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभएको अवस्थामा सरकारलाई दिईएको समर्थन दशै, तिहार पछि फिर्ता लिने बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टी आन्दोलनमा जानसक्ने बताउँदै उनले नेपालीहरुको चाडपर्व सम्म पर्खिने बताए ।

‘संघीय सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ, हामीले उठाउँदै आएको माग सम्बोधन नभए यो सरकारलाई किन समर्थन दिईराख्ने ?’ झाले भने, ‘माग पनि सम्बोधन नगर्ने र कार्यकर्ता तथा जनताको गाली खाएर समर्थन पनि दिईराख्ने काम पार्टीले गर्दैन् ।’

सरकारलाई समर्थन दिएको राजपा नेपालले प्रधानमन्त्री ओलीलाई माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिदै आएको छ । तर सरकारले राजपाको माग सम्बोधन गरेपछि राजपा भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग उठेको छ ।

संघीय सरकारलाई दिएको समर्थन राजपाले फिर्ता लिए पनि प्रदेश २ सरकारमा आफ्नो सहभागिता रहिरहने जनाएको छ । प्रदेश २ मा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त सरकार छ । फोरम संघीय सरकारमा समेत सहभागि छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ओली सरकार हरेक किसिमले असफल भएको बताए । राजपा नेपालले उठाउँदै आएको माग सम्बोधन नगरेको सरकार हरेक किसिमले असफल भईसकेको आरोप यादवले लगाए ।

‘यो सरकारले हाम्रो माग सम्बोधन गरेन् मात्रै नभई हरेक किसिमले असफल भईसकेको छ, यो कुरा हामीले मात्रै नभई उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समेत भनिसक्नु भयो देश डुब्न लाग्यो, देश त बचाउँ’ यादवले भने, ‘हत्या, हिंसा, बलात्कार, आपराध मात्रै नभई महंगी समेत बढेको छ, जनता आतिसकेका छन् ।’

निर्मला पन्त बलात्कार पछि हत्या भएको दुनियालाई थाहा भए पनि पुरै राज्य त्यसका हत्यारालाई बचाउँन संरक्षणमा लागेको आरोप उनले लगाए । मन्त्रीहरु एकपछि अर्को काण्डमा मुछिदै गएको बताउँदै उनले ३३ किलो सुन कुन दुलोमा पस्यो भन्ने प्रश्न गरे ।

राजपा नेपालका महासचिव अजय गुप्ताले सरकारलाई समर्थन गरिरहनुको कुनै अर्थ नभएको बताए । समृद्ध नेपल, सुखी नेपाली भन्ने मिठो नारा दिएको ओली सरकारले जनतालाई झुक्याउँने काम बाहेक अरु केही गर्नै नसकेको गुप्ताले बताए ।

‘महंगी बढदै गईरहेको, भ्रष्टाचार तथा अत्याचार बढदै जादाँ जनता छटपटाईरहेका छन् तर यो सरकार मिठो मिठो नारा र चुटकिला मात्रै सुनाउँदैछ’ गुप्ताले भने, ‘मिठो नाराले देश समृद्ध र जनता सुखी हुने होईन्, काम गर्नुपर्यो नि ।’

अपराधिलाई जोगाउँने, समृद्धका लागि काम नगर्ने र आफूहरुको समेत माग सम्बोधन नगरेकाले दशै तिहार पछि निर्णायक आन्दोलन गर्ने पक्षमा नेपाली जनता रहेको निष्कर्ष गुप्ताको छ । अबको आन्दोलन मधेसमा मात्रै नभई हिमाल पहाड सहित देशै भरी हुने उनले चेतावनी दिए ।

(Visited 7 times, 1 visits today)