बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

गौतमलाई ल्याउन मानन्धरको राजीनामा

Tenish Roka
2 months ago
10/10/2018

टेनिस रोका/काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेकपाका नेतासमेत रहेका मानन्धरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने घोषणा गरे ।
मानन्धरले सांसद पदबाट राजीनामा दिएसँगै काठमाडौं–७ मा उपनिर्वाचन हुनेछ । त्यसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । मानन्धरले जनताको अपेक्षाअनुसार विकास गर्ने टिममा गौतमको आवश्यकता परेकोले विकास गर्नकै लागि भन्दै राजीनामाको घोषणा गरे । उनले आफ्नो राजीनामा जनताप्रति सम्मान हुने दाबीसमेत गरे । पत्रकार सम्मेलनमा उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा महŒवपूर्ण भूमिका खेलेका नेता गौतमको संसद्मा उपस्थिति अनिवार्य भएको समेत जनाए ।
मानन्धरले राजीनामाको घोषणा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा गौतमले उपनिर्वाचन नहार्ने दाबीसमेत गरे । ‘पार्टीको बलियो संगठन रहेको काठमाडौं ७ मा मैले २० वर्ष अगाडिदेखि जित्दै आएको छु, अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै मैले २० वर्षदेखि चुनाव जित्नु हो,’ उनले भने ।
उनले २०४९ सालमा पार्टीको तर्फबाट वडाध्यक्ष, २०७० सालमा सांसद र २०७४ सालमा पनि सांसद जितेको समेत जनाए । सांसद मानन्धरले पार्टीको निर्णयअनुसार अगाडि बढ्ने भएकाले राजीनामा दिन कुनै समस्या नभएको समेत बताए ।
नेकपा सचिवालय सदस्यहरूको सोमबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं ७ मा उपनिर्वाचनमार्फत गौतमलाई सांसद बनाउनुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई संसद्मा आउने मन भए कुनै समस्या नरहने बताएका थिए । लगत्तै अध्यक्ष र मानन्धरबीच छलफल भएको थियो । स्रोतका अनुसार मानन्धरले आफूलाई केन्द्रीय सदस्य बनाउनुपर्ने, राष्ट्रिय सभामा निर्वाचित गराउनुपर्ने र मन्त्री बनाउनुपर्ने माग राखेका थिए ।

किन वामदेवको सांसद चाहना ?

२०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट निर्वाचन लडेका गौतम पराजित बने । कांग्रेस उम्मेदवार सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी बन्दा गौतमले ४४ हजार ७६ मत मात्र प्राप्त गरे ।
पराजयसँगै गौतमले अन्तर्घातका कारण आफूले निर्वाचन हार्नुपरेको बताउँदै आए । त्यसपछि उनले सांसद बन्ने चाहना निरन्तर पार्टीमा राखिराखे ।
गौतमको चाहना पूरा गर्न डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गर्ने तयारी पार्टी शीर्ष तहमा चल्यो । तर, जिल्लाका कार्यकर्ताले बुढालाई राजीनामा नगर्न चर्को दबाब दिएपछि नेकपा शीर्ष नेतृत्व त्यहाँबाट पछि हट्यो । तर, गौतमले सांसद बन्ने इच्छा छाडेनन्, त्यसपछि शीर्ष नेतृत्वले वामदेवलाई रोल्पाबाट उम्मेदवार बनाउने योजना बनाउन नपाउँदै रोल्पाली नेताहरूले चर्को विरोध जनाए । लगत्तै नेकपा शीर्ष नेतृत्वले बाँकेका सांसद नन्दलाल रोकायासँग राजीनामा गर्न आग्रह ग¥यो । रोकायाले राजीनामा दिन नमानेपछि बैतडीबाट दामोदर भण्डारी, प्यूठानबाट जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराएर उपनिर्वाचनमार्फत गौतमलाई सांसद बनाउने असफल प्रयास जारी नै राख्यो । अन्ततः गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमार्फत सांसद बन्ने बाटो खुलेको छ । एकपटक निर्वाचन हारेको व्यक्तिलाई पुनः ल्याउन लागेको भन्दै पार्टीभित्र र बाहिर आलोचनासमेत बढिरहेको छ । तर, पार्टीले निरन्तर उनलाई सांसद बनाउने चाहना राखेको छ । एक नेताका अनुसार गौतमकै इच्छालाई पूरा गर्न मात्र पार्टीले उनलाई सांसद बनाउने बाटो खुला गरिदिएको हो ।
कतिपयले भने गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने महŒवाकांक्षा बढ्नु हो । ‘राष्ट्रिय सभा सदस्य बनेर मन्त्री बन्ने बाटो खुला हुँदाहुँदै उनले प्रतिनिधिसभामा नै आउन चाहनुले उनमा प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने बुझिन्छ,’ नेकपाका एक नेता बताउँछन् ।
उनलाई संसद्मा नै ल्याउनुपर्ने कारणबारे भने नेकपाका नेताहरूसँग नै गतिलो जवाफ छैन । सचिवालय सदस्यहरूले बैठकले निर्णय गरेपछि जवाफ दिने बताउने गरेका छन् । त्यसभन्दा तल्लो तहका नेताले आफूहरूसम्म सांसद बनाउनुपर्ने कारण आइनसकेको जवाफ दिने गरेका छन् । नेकपामा गौतमजस्तै नारायणकाजी श्रेष्ठ पनि निर्वाचनमा पराजित बनेका थिए । तर, घटनाक्रमले नेकपाले जसरी पनि गौतमलाई सांसद बनाउनै चाहेको देखिएको छ । यसअघि, तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको भन्दै अब शीर्ष नेतामध्ये एक जना रहेको बताएका थिए । दाहालको उक्त भनाइले पनि गौतममा प्रधानमन्त्री बन्न पाइन्छ कि भन्ने महŒवाकांक्षा बढेको पार्टीभित्र चर्चा छ । पार्टी शीर्ष तहमा मानन्धरको राजीनामा गराएर गौतमलाई सांसद बनाउने तयारी भएपछि तल्ला तहमा भने विरोधसमेत भइरहेको छ ।
यसैबीच, बुधबार (आज) का लागि बोलाइएको पार्टी सचिवालय बैठक २७ गतेसम्मका लागि स्थगित भएको छ ।

को बन्ला गौतमको प्रतिद्वन्द्वी ?

गत २०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ७ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट मानन्धर उम्मेदवार बन्दा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेर राप्रपाका विक्रमबहादुर थापा उम्मेदवार बने । निर्वाचनमा मानन्धरले १८ हजार १०२ सय मत ल्याएर निर्वाचित हुँदा थापाले १० हजार ७९ मत ल्याएर दोस्रो स्थान पाए । विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याइन् ।
मानन्धरले राजीनामा दिएसँगै अब कांग्रेसबाट उम्मेदवार को बन्ने भन्ने चर्चासमेत सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार यस विषयमा पार्टी बैठक बसेर टुंग्याउनेछ । ‘आज मात्र राजीनामाको कुरो आएको छ, अब उपनिर्वाचन हुने भयो भने पार्टीको बैठक बसेर निर्णय हुन्छ, अहिले को उम्मेदवार हुने को नहुने भन्ने विषयमा हामीले सोचेका छैनौं,’ उनले भने ।
स्रोतका अनुसार काठमाडौं ७ मा उपनिर्वाचन भएको अवस्थामा केसीका साथै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेल, अर्का पूर्वअध्यक्ष गुरुराज घिमिरे, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री प्र्रकाशशरण महतलगायतको चर्चा छ ।

(Visited 1 times, 1 visits today)