बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

अमेरिका–चीन व्यापार युद्ध, संसारलाई गरिब र संकटपूर्ण बनाउँछ : आईएमएफ

2 weeks ago
10/10/2018

वासिंगटन/एजेन्सी ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापारिक युद्धले संसारलाई अहिलेको भन्दा गरिब र संकटपूर्ण अवस्थामा पु¥याउने चेतावनी दिएको छ ।
वैश्विक अर्थव्यवस्थाबारे आफ्नो पछिल्लो आंकलनमा आईएमएफले यो वर्ष र आगामी वर्षसमेत वैश्विक विकास कम हुने अनुमान गरेको छ । आईएमएफले अमेरिका र चीनबीचको व्यापार युद्धबाट अर्थव्यवस्थामा नोक्सानी पुग्ने र यसबाट मुक्ति पाउन कठिन हुने ठहर गरेको छ ।
आईएमएफका प्रमुख अर्थशास्त्रीका अनुसार यदि व्यापारिक तनाव जारी रहेमा घरेलु, व्यापारिक र आर्थिक क्षेत्रमा विश्वले ठूलो नोक्सानी बेहोर्नुपर्नेछ । हालै मात्र चीनले ६० बिलियन डलर बराबरका अमेरिकी सामानमा नयाँ व्यापार शुल्क लगाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यसो गरेर चीनले अमेरिकाको मध्यावधि चुनावलाई प्रभावित पार्ने कोशिस गरिरहेको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ‘यदि हाम्रा किसान र मजदुरलाई निशाना बनाएमा हामीले चीनलाई आर्थिक रुपमा नै जवाफ दिनेछौं ।’
अमेरिकाले गत महिना चीनका २ सय बिलियन डलर बराबरका सामानमा आयात शुल्क लगाएपछि चीनले पनि ६० बिलियन डलर बराबरका सामानमा शुल्क लगाएको हो ।

सन् २०१८÷१९ मा वैश्विक आर्थिक वृद्धि ३.७ प्रतिशत रहने अनुमान लगाएको छ । गत वर्ष आईएमएफले ३.९ प्रतिशत रहने अनुमान गरेको थियो ।
लामो समयदेखि आर्थिक मन्दीको शिकार भइरहेको भेनेजुएला सन् २०१९ मा पनि आर्थिक मन्दीमा नै रहने उसको अनुमान छ । यदि त्यसो भएमा भेनेजुएलाले लगातार आर्थिक मन्दीको मार खेप्नुपरेको छैठौं वर्ष हुनेछ ।
आगामी वर्ष भेनेजुएलामा उच्च गतिमा महंगी बढ्नेछ । यस्तै विश्व अर्थतन्त्रमा उदाउँदै गरेको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा पनि सन् २०१८÷१९ मा आर्थिक झट्का लाग्न सक्छ ।
आईएमएफका ओब्लफेल्डका अनुसार चीन र अमेरिकी नेताले जनताको भलाईका लागि मिलेर काम गर्नुपर्नेछ । अन्यथा संसार गरिब र संकटपूर्ण हुदैजानेछ ।
अमेरिकाले आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरिसकेको छ । आईएमएफले भने अमेरिकाले यसो गरेमा संसारले स्थायी रुपमा विकासको दरमा नोक्सानी भोग्नुपर्नेछ ।

यो अवस्थामा अमेरिकी अर्थव्यवस्थामा पनि नोक्सानी हुनेछ । सन् २०२० मा चीनको पनि आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा कम हुनसक्नेछ । हाल चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहेको अनुमान छ ।
यस्तै आईएमएफकाअनुसार यो वर्ष बेलायतको अर्थव्यवस्थामा भने सुधार आउने अनुमान छ । बेलायतको अर्थव्यवस्था बढेर १.४ प्रतिशत हुनसक्छ र सन् २०१९ मा १.५ प्रतिशत हुने अनुमान छ ।
यद्यपि आईएमएफले ब्रेक्जिट बिना कुनै डिल भएमा कुनै खतरा हुनसक्नेतर्फ भने सतर्क गराएको छ । यसको अर्थ ब्रेक्जिटपछि बेलायतको अर्थतन्त्रमा व्यापक फेरबदल आउनेछ । यसका कारण केहीले आफ्नो रोजगारी समेत गुमाउन सक्नेछन् ।
आईएमएफका अनुसार ब्रेक्जिटपछि बढेको करका कारण केही उद्योगमाथि समेत असर पर्नेछ । यसबाट बच्नका लागि बेलायतले जरुर कुनै कदम चाल्नुपर्नेछ ।