आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

यात्रा सास्ती

कमला अर्याल
2 months ago
11/10/2018

 

कमला अर्याल/काठमाडौं।

त्रिशूलीका रामकृष्ण तामाङ १८ असोजमा मनाङबाट काठमाडौं आए । उनी काडमाडौं आउँदा नौबिसेदेखि सुरु भएको जाम कलंकीसम्म थियो । ट्राफिक प्रहरी बल्लतल्ल जाम खोल्न सफल भयो ।
गोरखाकी सीता ढकाल काम विशेषले धादिङ गएकी थिइन् । उनलाई काठमाडौं फर्कन घण्टौं लाग्यो । तामाङ र ढकाल मात्रै होइन, यतिबेला थानकोट हुँदै उपत्यकाबाहिर जाने र भित्रिने यात्रुहरूले घण्टौं जामको सास्ती बेहोर्नुपरेको छ । पृथ्वी राजमार्गको यो सडकखण्डमा हरेक दिन जाम पर्ने भए पनि दसैं, तिहारलगायतका चाडपर्वमा अझै जामको सामना गर्नुपरेको छ, सर्वसाधारणले । सो सडकखण्डमा बढी जाम भए पनि सरकारले त्यसको दीर्घकालीन विकल्प दिन सकिरहेको छैन । तर तत्काल समस्या समाधान गर्न भने प्रयास गरेको देखिन्छ ।
दैनिक ६ सयभन्दा बढी सवारी ओहोरदोहोर गर्ने राजमार्गमा जामको यस्तो अवस्था छ कि एम्बुलेन्ससमेत छिर्न नपाउँदा केही दिनअघि चितवनकी एक युवतीको मृत्यु भयो ।

ठूला सवारी प्रतिबन्ध

सरकारले दसैं यात्रालाई सहज बनाउन नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला मालबाहक साधनलाई प्रतिबन्ध लगाएको छ । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधनहरू काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठलगायतका चाडपर्वमा काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले २४ असोज (घटस्थापना)देखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारीमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।’
ठूला सवारीले बाटो जाम बनाउने भएकाले दसैंमा यात्रुलाई गन्तव्यसम्म पुग्न सहजतका लागि विभागको यस्तो निर्णय आएको हो । सडकखण्डमा हरेक दिनजसो घण्टौंसम्म जाम हुने गर्छ । त्यस्तो जाममा परेर दसैंमा घर जाने यात्रुलाई समस्या नहोस् भन्दै सरकारले यस्तो निर्णय गरेको सूचना अधिकारी उपाध्याले बताए ।

 

ट्राफिकको तयारी

दसैंमा चल्ने लामो तथा छोटो दूरीका हरेक सवारीसाधनले अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था छ । उपत्यकाबाट बाहिरिने थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजुलगायतका विभिन्न चोकमा मापसे चेकिङ तीव्र बनाइएको छ । प्रत्येक टिकट काउन्टरमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तले बताए ।
त्यस्तै, टिकटमा कालोबजारी गर्ने, काठमाडौं उपत्यकाबाट बाहिर जाँदा घण्टौं जाम पर्ने समस्या समाधानका लागि ट्राफिक प्रहरीले पनि यात्रा सहज बनाउने प्रयास गरेको छ । दसैंका बेला किनमेल गर्न जाने सर्वसाधारण्का कारण विभिन्न स्थानमा हुने गरेको भिडभाडले ट्राफिक जाम गराउने भएकाले त्यस्ता स्थानमा जनशक्ति थप गरी सहज बनाएको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले जानकारी दिए । उपत्यकाबाहिरका यात्रुहरूको सहज यात्राका लागि कलंकी, नैकाप, नागढुंगा, थानकोट, नौबिसेलगायतका स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रमुख पन्तले बताए ।
यी स्थानमा बढी जाम हुने गरेको छ । जहाँ जहाँ बढी जाम हुन्छ, त्यस्ता स्थानमा थप जनशक्ति परिचालन गरी यात्रालाई सहज बनाउने प्रयास भइरहेको छ ।

 

 

 सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेपछि प्रालि निकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ

 

यात्रु सहायता कक्ष

दसैंमा आआफ्ना गन्तव्यतर्फ जाने यात्रुका लागि उपत्यकाका विभिन्न १३ स्थानमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएका छन् । उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो तथा बल्खुलगायतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालित छन् । ती सहायता कक्षहरूले बाटोमा अलपत्र परेका यात्रुलाई सहयोग गर्ने, सवारीसाधनले बढी भाडा लिए भाडा फिर्ता लागि पहल गर्नुका साथै त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने तथा दसैं यात्रालाई सहज बनाउन सहजीकरण गर्नेछन् ।

रूट परमिट खुला

सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न देशैभरि रूट परमिट खुला गरेको छ । विभागका अनुसार देशैभरि लागू हुने गरी सार्वजनिक यातायातलाई रूट परमिट खुला भएको छ । गत १८ असोजमा दैनिक रूपमा चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सकिएको छ । यस्तो अवस्थामा अप्ठेरो परेका यात्रुलाई ओसार्न सक्नेगरी विभागले रूट परमिट खुला गरेकोे हो । विभागले काठमाडौंबाहिर जाने यात्रुका लागि टिकट नपाए पनि उपत्यकाभित्र चल्ने सवारीसाधनले ती यात्रुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन सक्नेछन् । विभागका अनुसार उपत्यकाभित्रका सार्वजनिक सवारी उपत्यकाबाहिर जान पाउनेछन् ।

बढी भाडामा कारबाही

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही गरिने विभागले जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न विभागले भनेको छ ।
सरकारले ७ असोजमा सार्वजनिक यातायातको १० प्रतिशत भाडा वृद्धि गरेको थियो । सो भाडाभन्दा बढी भाडा दिनेलाई कडा कारबाही गरिने विभागको भनाइ छ । विभागका अनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रूपैयाँ, पाँच किमिसम्म १६, ६ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ र १९ किमिभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ । यो छोटो दूरीको नयाँ भाडादर हो ।

लामो दूरीको यात्रामा पनि दसैंको फाइदा उठाउँदै बढी भाडा दिनेलाई कारबाही गरिने विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ । विभागका सूचना अधिकारी उपाध्यायका अनुसार परिचालकले टिकट नदिए सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन नम्बर ४४७९६९० मा उजुरी गर्न सकिनेछ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्री नम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।
प्रहरीको टोल फ्री नम्बर १०१ र १०३ मा पनि बढी भाडा लिएको, दसैंमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रूपमा गर्न सकिनेछ ।

अनुगमन

यातायात व्यवस्था विभागले दसैं तिहारलाई लक्षित गर्दै सवारी अनुगमनलाई तीव्र बनाएको छ ।
चाडपर्वका बेला यातायात व्यवसायीले सर्वसाधारणबाट मनपरी भाडा लिने, टिकटमा कालोबजारी गर्ने, सवारीसाधनमा बढी यात्रु राख्नेलगायतका काम गर्ने भएकाले विभागले अनुगमनलाई तीव्र बनाएको हो । विभागका सूचना अधिकारी उपाध्यायले भने, ‘उपत्यकाका टिकट काउन्टरमा हामीले अनुगमन तीव्र बनाएका छौं ।’ अब कसैले पनि कालोबजारी गर्ने नपाउने उनले बताए । उपत्यकाका नयाँ बसपार्क गोंगबु, कोटेश्वर, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायतका ११ स्थानबाट ५ असोजबाटै टिकट खुलेको थियो ।

ती सबै काउन्टरमा विभागले निगरानी बढाएको छ । अनुगमनका लागि विभागले चारवटा अनुगमन टोली खटाएको छ । ‘चारवटा टोलीले बजार अनुगमन गरिरहेका छन्,’ उपाध्यायले भने । नयाँ बसपार्क गोंगबुको अनुगमनका लागि एउटा छुट्टै टोली खटिएको छ । गोंगबु बसपार्कबाट धेरै सवारीहरू उपत्यकाबाहिर जाने भएकाले त्यस स्थानमा छुट्टै अनुगमन टोली खटाइएको विभागले जनाएको छ । अनुगमनका लागि खटिएका ती टोलीमा टा«फिक प्रहरी, उपभोक्तावादी तथा विभागका कर्मचारी रहेका छन् । अनुगमनका क्रममा बढी भाडा लिने तथा टिकट नदिनेलगायतका विषय भेटिएमा विभागले कडा कारबाही गर्ने जनाएको छ । बढी भाडा दिनेलाई सर्वसाधारणको बढी भएको भाडा फिर्ता गर्नुका साथै पाँच हजारसम्म जरिमाना गर्ने विभागले जनाएको छ ।
त्यसैगरी, टिकटमा कालोबजारी गर्ने बुकिङ खुलेको समयमा पनि टिकट नदिनेलगायतका विषय फेला परे रूट परमिट खारेज गर्न सक्ने विभागले जनाएको छ ।

गएको ३१ भदौमा बसेको सरकार र यातायात व्यवसायीबीचको बैठकले ५ असोजदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । तर सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि व्यवसायीहरूले सरकारलाई मूल्य वृद्धि रोक्न दबाब दिइरहेका कारण समितिनिकट व्यवसायीहरूले टिकट बुकिङ खुलाएका थिएनन् ।
सरकाले नयाँ भाडा दर कायम गरेपछि सबै यातायात व्यवसायीले टिकट बुकिङ खुला गरेका छन् ।
१८ चैतमा यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै यातायातसँग सम्बद्ध सबै समितिका नाममा भएका बैंक खाता बन्द गर्ने निर्णय गरेको थियो । दसैंको मुखैमा आएर व्यवसायीहरूले लगातार बार्गेनिङ गरेपछि सरकारले व्यवसायीको बैंक खाता खोल्ने भएको हो । विभागका अनुसार यातायात क्षेत्रको सिन्डिकेट खारेज भएयता ३ सयको हाराहारीमा समितिहरू कम्पनीमा दर्ता भएका छन् । तिनै कम्पनीमा दर्ता भएका समितिहरूको बैंक खाता खुला हुने प्रक्रिया अगाडि बढाइएको छ ।

नयाँ सवारी छैनन्

सरकार तथा यातायात व्यवसायी कसैले पनि यसपटक नयाँ सवारीसाधन नथप्ने भएका छन् । पुरानै सवारीले पुग्ने भएकाले नयाँ सवारी नथपिने विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले बताए । यस वर्ष हरेक टिकट काउन्टरमा पनि सहज रूपले टिकट बुकिङ भएकाले पनि नयाँ गाडी थप्ने योजना नभएको उपाध्याले राजधानीलाई बताए ।
सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेको र प्रालिनिकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ ।
त्यस्तै, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले नयाँ गाडी नथप्ने बताए । सरकारले व्यवसायीलाई धेरै दुःख दिएको स्मरण गर्दै नयाँ गाडी नथपेको बताए ।

छत खाली हुनुपर्छ

दसैंको मौका छोपी सवारीसाधानले छतमा सामान बोक्न नपाउने भएका छन् । सवारीसाधनमा क्षमताभन्दा बढी लोड बोक्ने तथा छतमा सामान राख्नेलाई कारबाही गरिने भएको हो । चाडपर्वमा हुने सवारी दुर्घटनाको मुख्य कारण मानिने ओभरलोड बोक्ने सवारीलाई प्रहरीले कारबाही गर्ने भएको हो ।

(Visited 3 times, 1 visits today)