सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

मच्छिन्द्र र च्यासलको बराबरी

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्र्तगत बुधबार भएको पहिलो चरणको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बुधबार भएको खेलमा च्यासलले बल पोजिसन राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । शुरुवातबाटै आक्रमण बुनेको च्यासलले खेलको सातौ मिनेटमा गोल गर्नबाट चुकेको थियो । विश्व अधिकारीको शक्तिशाली प्रहार मच्छिन्द्रका डिफेन्डर विवेक पन्डितलाई लाग्दै गोलपोस्टबाट थोरै बाहिरिएको थियो । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका बिमल घर्तीमगरले नवौ मिनेटमा मौका खेर फाल्दा च्यासलले अग्रता लिने मौका गुमाएको थियो ।

१३औं मिनेटमा मच्छिन्द्रका अजित गुरुङको प्रहार च्यासलका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए । १५औं मिनेटमा छिरिङ गुरुङका प्रहार विवेकले क्लियर गरिदिएका थिए । २३औं मिनेटमा विशाल राई ‘ए’ र २५औं मिनेटमा अजित गुरुङ गोल गर्नबाट चुकेका थिए । ४४औं मिनेटमा हेमन्त थापामगरले करिव ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा बिमलको हेडर बाहिरिदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा खेलभर नै दवावमा राख्न सफल भएपनि मच्छिन्द्रको बलियो रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफको पहिलो मिनेटमा नै सन्त बहादुर गुरुङले मौका खेर फालेको थियो । ५३औं मिनेटमा बिमलको प्रहार बारमा लागेर फर्कियो । ५६औं मिनेटमा अमिर श्रेष्ठ र ५८औं मिनेटमा विक्रम लिम्बुले गोल गर्न सकेन । ६५औं मिनेटमा सजिन थापामगरले बिमलले डि–बक्समा उपलब्ध गराएको बललाई सदुपयोग गर्न सकेन ।

७५औं मिनेटमा च्यासलले पेनाल्टीको मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुक्यो । अन्जन देवकोटाले डि–बक्समा बिमल घर्तीमगरलाई लडाएपछि रेफ्री श्रवण लामाले च्यासललाई पेनाल्टीको मौका दिएको थियो । तर, हेमन्त थापामगरको फितलो पेनाल्टी प्रहार मच्छिन्द्रका गोलरक्षक दिप कार्कीले सहजै बचाउदै सम्भावित गोल टारेका थिए । त्यसपछि दुवै टोली गोलगर्न असफल हुदा खेल गोलरहित बराबरीमा सकियो र दुवै टोलीले १–१ अंक बाँडे । खेलमा मच्छिन्द्र क्लबका डिफेन्डर बिकास राई खेलको म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैया प्राप्त गरे ।

बराबरीपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले लिगको पहिलो खेल सोचेजस्तो नभएको प्रतिक्रिया दिए । ‘हामी निश्चित जितका लागि आएका थियौ । तर, पहिलो म्याच सोचेजस्तो भएन । मिडफिल्डमा समस्या हुदा र अपेक्षा गरिएको खेलाडीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकेन’, प्रशिक्षक शाक्यले खेलपछि भने, ‘प्रशिक्षण गरे अनुसार खेलाडीले खेल्न सकेन । अन्य टिमले सँगै प्रशिक्षण गरेपनि बिमल टिममा घुलमिल हुन बाँकी छ । बराबरीबाट हामीले पाठ सिकेका छौं ।’ उनले जित्नको लागि प्रेसर लिदा खेलाडीमा दवाव देखिदा पनि खेल बराबरी भएको बताए । उनले मच्छिन्द्रले आफ्नो खेल खेलेको र उनीहरु आफ्नो रणनीतिमा सफल भएको प्रशिक्षक शाक्यले थपे ।

यता, डेब्यु लिग खेलाइरहेका मच्छिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले आफ्नो योजनामा सफल भएको बताए । ‘हाम्रो योजना च्यासलविरुद्ध अंक खोस्ने नै थियो । हामी त्यसमा सफल भयौं । खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु । हाम्रो बलियो पक्ष डिफेन्स नै हो । आज हामीले डिफेन्समा राम्रो खेल्दै च्यासललाई रोक्न सफल भयौं’, खेलपछि प्रशिक्षक प्रजापतिले भने, ‘पहिलो हाफ राम्रो भएको थियो । दोस्रो हाफमा हामी दवावमा रहेपनि हामीले धैर्यता गुमाएनौ र च्यासललाई रोक्न सफल भयौं ।’ उनले टिमको रणनीति डिफेन्स बलियो बनाउदै काउन्टर एट्याकमा  आक्रमण गर्ने रहेको र त्यसमा केही मौकाहरु सिर्जना गरेपनि सफल हुन नसकेको बताए । भक्तपुर जिल्ला फुटबल संघका प्रशिक्षक रहेका उनले  ‘ए’ डिभिजन लिगमा डेब्यु गरेसँगै यसबाट आफुले ठुलै अनुभव हासिल गरेको बताए । ‘बी’ लाइसेन्स होल्डर उनले यसअघि यु–१८ मा मनाङ–मस्र्याङ्दी क्लबलाई प्रशिक्षण दिएका थिए ।

लिग अन्र्तगत बिहिबार बिहिबार ललितपुर डर्बीको फ्रेन्ड्स क्लब कुपन्डोल र रुस्लान थ्री स्टार क्लब पाटनबीच दिनको ११ बजे खेल हुनेछ । बिहिबार नै दिउसो ३ बजे जावलाखेल युथ क्लबले विभागीय नेपाल पुलिस क्लबबीच खेल हुनेछ । लिगमा संकटाले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब न्युरोड टिम (एनआरटी) सँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ १० स्ट्रोक्सको अग्रतासहित सुर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको फाइनल चरणमा प्रवेश गरेका छन् ।