बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

दुई पूर्वमन्त्रीसहित १९ जनालाई मृत्युदण्डको फैसला

ढाका/एजेन्सी।
2 months ago
11/10/2018

पूर्वप्रधानमन्त्री जियाका छोरालाई आजीवन काराबासको सजाय

ढाका/एजेन्सी।

बंगलादेशको राजधानी ढाकास्थित एक अदालतले दुई पूर्वमन्त्रीसहित १९ जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । सन् २००४ मा ढाकामा भएको आक्रमणमा दोषी ठहर गर्दै उनीहरुलाई मृत्युदण्डको फैसला सुनाइएको हो भने प्रमुख विपक्षी दलका निर्भासित एक नेता लाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

सन् २००४ मा ढाकामा भएको ग्रिनेड आक्रमणमा वर्तमान प्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिना घाइते भएकी थिइन् भने अन्य २० जना मारिएका थिए । आजीवन काराबासको फैसला सुनाइएका विपक्षी नेता तारिक रहमान पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।

तत्कालीन प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान सहित ४९ जना विरुद्ध सो आक्रमणको आरोप लागेको थियो । न्यायाधीस शाहेद नुरुद्दिनले भने, ‘उनीहरु सबैलाई झुन्ड्याएर फाँसी दिइनेछ ।’ बंगलादेशकी विपक्षी नेतृ जियामाथि भ्रष्टाचारको आरोपमा गत फेब्रअरीमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

बंगलादेशमा यसै वर्षको अन्त्यमा आम निर्वाचनको आयोजना गरिएको छ । आम निर्वाचनअघि ठूलो संख्यामा एकैपटक मृत्युदण्डको सजाय दिन लागिएको हो । आजीवन काराबासको फैसला सुनाइएका रहमानमा बंगलादेशको प्रमुख विपक्षी बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) का कार्यबहाक अध्यक्ष हुन् । उनलाई यसअघि उनकी आमासँगको भ्रष्टाचारको मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । रहमान सन् २००८ देखि लण्डनमा निर्भासित जीवन बिताइरहेका छन् ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकले सरकार उनलाई पनि मृत्युदण्डको फैसलाको अपिलसहित उच्च अदालतमा जाने बताएका छन् । उनले भने, ‘हामी तरिकलाई बेलायतबाट फिर्ता ल्याउनका लागि कूटनीतिक रुपमा पहल समेत गर्नेछौं ।’

‘हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं,’ कडा सुरक्षाबीच सरकारी वकिल मोसाराफ होस्सैनले भने, ‘हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।’ होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे ,।

सो आक्रमणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्रीसहित दुईजना मन्त्री र जासूसी संस्थाका दुईजना प्रमुखमाथि पनि मृत्युदण्डको फैसला सुनाइएको छ । बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई मृत्युदण्ड दिने फैसला भएको छ । यसका संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

सरकारी अधिवक्ताले पूर्व शिक्षा सहायकमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । पूर्वगृहमन्त्री लुटफुजमान बाबर र शिक्षा सहायक मन्त्री पिन्टुलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ ।

ग्रिनेड बिस्फोट हुँदा ¥यालीलाई शेख हसिनाले सम्बोधन गरिरहेकी थिइन् । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्वराष्ट्रपतिकी पत्नीको पनि मृत्युभएको थियो । चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरिन् ।

गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको दाबी गरेका छन् । रहमानका वकील सनाउल्लाह मियाले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताए । उनले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताए । उनले आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति जनाए ।

यस्तै बंगलादेश नेशनालिस्ट पार्टीले पनि यो फैसला राजनीतिप्रेरित रहेको र यसलाई स्वीकार गर्न नसकिने बताएको छ । पार्टीका महासचिव मिर्जा फाख्रुल इस्लाम अलामजैरले यो फैसला राजनीतिक स्वार्थपूर्तिका लागि गरिएको कानुन उल्लंघनको अर्को उदाहरण भएको टिप्पणी गरेका छन् ।

(Visited 3 times, 1 visits today)