बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

साउदी पत्रकार बेपत्ता प्रकरण : टर्कीका सञ्चारमाध्यममा भिडियो प्रशारण

अंकारा/एजेन्सी
2 months ago
11/10/2018

 

 

अंकारा/एजेन्सी– साउदीका पत्रकार जमाल खशोग्गी बेपत्ता भएको घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएको छ । टर्कीका सञ्चारमाध्यमले पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेको हुन् ।

टर्कीको इस्तानबुल विमानस्थलका ती दृश्यमा साउदी अरबका सम्भावित गुप्तचर टर्की प्रवेश गरेको र छोडेको देख्न सकिन्छ । पहिला राम्रो सम्बन्ध भएपनि पछि साउदी राजपरिवारको कटु आलोचक बनेका पत्रकार खशोग्गी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता भएका छन् ।

टर्कीका अधिकारीहरूले खशोग्गीको हत्या भएको बताएका छन् । तर साउदी अरबले भने यसको खण्डन गर्दै आएको छ । सुरक्षा निगरानीका लागि राखिएको एउटा क्यामेराबाट खिचिएको जस्तो देखिने एउटा भिडिओ टर्कीको टीआरटी वल्र्ड च्यानलले प्रसारित गरेको हो ।

सो भिडिओमा काला भ्यानसमेत केही गाडीहरू साउदी वाणिज्य दूतावाससम्म गएको देखिन्छ । यिनै दृश्य अनुसन्धानको केन्द्रविन्दुमा रहने विश्वास गरिएको छ । यसैगरी साउदी पुरुषका विभिन्न समूहहरू इस्तानबुल विमानस्थल हुँदै टर्की आएर होटेलमा प्रवेश गरेका र पछि देश छोडेका दृश्य समाबेश रहेका छन् । विमानस्थलको धावनमार्गमा विशेष साउदी विमानहरू पनि देखिन्छन् ।

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका थिए । उनीभित्र प्रवेश गरेपछि ती टर्कीकी महिला भने बाहिर नै कुरेर बसेकी थिइन् ।

पत्रकार बेपत्ता पारेको घटनाबारे संसारभरी चासो व्यक्त गरिएको छ । बेलायतका विदेशमन्त्रीले पत्रकार खशोग्गी बेपत्ता भएको घटनाबारे बेलायतले तत्काल उत्तर चाहेको बताएका छन् । आफ्ना साउदी समकक्षीसँग विदेशमन्त्री जेरमी हन्टले ‘मित्रता समान मूल्य र मान्यता’ मा भर पर्ने भन्दै चेतावनी समेत दिएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदीलाई सो घटनाबारे विस्तृत अनुसन्धान गर्न सघाउन र त्यसको नतिजामा पारदर्शी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरूले तत्कालै ‘स्वतन्त्र र अन्तर्राष्ट्रिय अनुसन्धान’ गर्नु पर्ने माग राखेका छन् ।

साउदी अधिकारीहरुले इस्तानबुलस्थित वाणिज्य दूतावासबाट बाहिरिएको दाबी गरेका छन् । तर टर्कीका अधिकारीहरुले उनी निस्किएको प्रमाण देखाउन भनेका छन् । खशोग्गीसँग विवाह गर्न लागेकी महिला हाथिजे जेङ्गिजले वाशिंगटन पोस्टमा एउटा भावुक लेखमार्फत् अमेरिकालाई सहयोग गर्न आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई जमाल बेपत्ता भएको घटनाबारे छर्लंग पार्न सहयोग गर्न आग्रह गर्छु ।’ विवाह र भावी जीवनको योजना बनाउँदै गर्दा उनी बेपत्ता भएका भन्दै उनले जमाल उदाहरणीय विचारक र आदर्शका लागि संघर्ष गर्ने साहसी व्यक्ति भएको दाबी पनि गरेकी छन् ।

उनले एकव्यक्ति शासन उपयुक्त नभएको र साउदी अरेबियामा सुधार आवश्यक भएको बताउँदै आएका थिए । केही वर्षअघि खशोगी साउदी राजपरिवारका सल्लाहकार रहेका उनलाई राजपरिवारका भित्री मानिसका रूपमा हेर्ने गरिन्थ्यो ।

तर, पछि उनी साउदी अरबका युवराज मोहम्मद बिन सल्मानका नीतिहरूको कटु आलोचक बने । आफूसँग सम्बन्ध भएका मानिस र साथीहरू पक्राउ पर्न थालेपछि उनी अमेरिका निर्वासनमा गएर वाशिंगटन पोस्टका लागि विचारमूलक लेखहरू लेख्ने गर्दथे ।

(Visited 3 times, 1 visits today)