बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

ट्रम्प–किम भेटवार्ता मध्यावधि चुनावपछि

वासिंगटन/एजेन्सी ।
2 weeks ago
11/10/2018

 

वासिंगटन/एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको वार्ता मध्यावधि निर्वाचनपछि हुने बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ । शिखर वार्ताका लागि ३÷४ स्थानको विषयमा छलफल भइरहेको बताउँदै त्यो स्थान अमेरिका वा उत्तर कोरिया पनि हुनसक्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि प्रचारप्रसारमा देश दौडाहामा रहेका छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदैछ । दुवै नेताबीच गत १२ जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो ।

सिंगापुरको पहिलो बैठकमा किम र ट्रम्पले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति जनाएका थिए । सो बैठकमा उत्तर कोरियाली नेता किमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गरेर अमेरिका फर्किएका छन् । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताए । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।

तर, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने आफूले उत्तर कोरियाको पूर्ण तथा अन्तिम निःशस्त्रीकरणको बाटो हेर्न सक्ने बताएका थिए । हालै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकाले प्रतिबन्धहरूलाई निरन्तरता दिइराखेमा आफ्नो देशले निःशस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए ।