सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

उपल्लो मुस्ताङमा विमानस्थलको सर्भे

सुन्दरकुमार थकाली
2 weeks ago
11/10/2018

 

सुन्दरकुमार थकाली/मुस्ताङ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल सर्भे गरेको छ ।

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम, जोमसोम–कोरला सडक स्तरोन्नति कार्य द्रुत गतिमा अघि बढिरहेकै बेला विमानस्थल सर्भे गरिएको हो ।

यसका लागि पर्यटन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरण विभागबाट खटाइएका इन्जिनियर पुष्पराज न्यौपानेले चराङको समथर फाँटमा विमानस्थलको पहिलो सर्भे गरेका हुन् । सर्भेमा विमानस्थलको अवधारणा, जग्गा छनोट तथा नापजाँच, हावाको वेग मापन, हाई अल्टिच्युटको सम्भावना, विमानस्थल एकतर्फी वा दोहोर अवतरण गर्न सक्ने, खेतीयोग्य भूभाग तथा जंगल पर्छ कि पर्दैन र सार्वजनिक जग्गा आदि विषय सर्भेमा समेटिएको संघीय प्रतिनिधिसभाका सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

‘उपल्लो मुस्ताङका दुईवटा स्थानीय तह जोड्ने पहिलो विमानस्थलको अवधारण पर्यटन मन्त्रालयले सुरु गरेको छ । विमानस्थलको प्रारम्भिक सर्भे गरिएकोमा आमनागरिकले खुसी व्यक्त गर्नुपर्ने सांसद तुलाचनले बताए । उनले विमानस्थलको डीपीआर तयार गर्न दुई वर्ष लाग्न सक्ने जानकारी दिए ।

सदरमुकाम जोमसोमदेखि करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित उपल्लो मुस्ताङको चराङमा विमानस्थल निर्माणका लागि पहिलोपटक प्रारम्भिक सर्भे भएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डको दर्शन गर्ने आन्तरिक तथा बाह्य तीर्थालुलाई विमानस्थलले सहज पु¥याउने जिसस प्रमुख छिरिङल्हामो गुरुङले बताइन् ।

उनले उपल्लो मुस्ताङवासीले यातायात र हवाईमार्ग नहुँदा सदियौंकालदेखि सास्ती बेहोर्दै आइरहेको उल्लेख गर्दै सडक सञ्जाल र हवाईमार्ग पूरा भएमा उपल्लो मुस्ताङको भाग्यरेखा कोरिने दाबी गरिन् ।

उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा धार्मिक पर्यटनको विकास गर्ने लक्षसहित पर्यटन मन्त्रालयले योजना अघि बढाएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर न्यौपानेले बताए ।

उनले चरणबद्ध विमानस्थल सर्भेका सबै रिपोर्ट प्राधिकरणमा पेस गरेपछि डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गरिने बताए । गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल विष्टले मन्त्रालयले उपल्लो मुस्ताङमा विमानस्थलको अवधारणा ल्याउनु स्वागतयोग्य भएको बताए । विश्व सम्पदा सूचीमा सूचीकृत उपल्लो मुस्ताङमा धार्मिकस्थल तथा मठ मन्दिर गुम्बाहरू रहेको बताए । यहाँको भूगोल, हावापानी, रहनसहन र जीवनशैली नियालेर यहाँ आउने पर्यटक दंग पर्ने गरेको उल्लेख गर्दै विष्टले विमानस्थल निर्माण पूरा भएपछि उपल्लो मुस्ताङ पर्यटन हबका रूपमा विकास हुने दाबी गरे ।

चराङमा विमानस्थल सर्भे गर्न संघीय सांसद प्रेमप्रसाद तुलाचसहित प्राविधिक टोली पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । आफ्नै घरदैलोनजिक विमान अवतरण गराउने उद्देश्यसहित चराङ आएको टोलीलाई स्थानीयले भव्य स्वागत गरे ।

सर्भे सपना बाँड्ने नभई कार्यान्वयनको दिशामा पनि जोड दिनुपर्ने उनको सुझाव छ । विमानस्थल प्रारम्भिक सर्भेका लागि संघीय सांसद प्रेमप्रसाद तुलाचन, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, जिसस प्रमुख छिरिङल्हामो गुरुङ, वडा नम्बर १ वडाध्यक्ष टसीढिन्डु ठकुरीलगायतका स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको डीपीआर सर्भे सार्वजनिक गरेको थियो ।