सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

सात श्रष्टालाई नेपाल सांगीतिक राष्ट्रिय सम्मान

2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

नेपाल सांगीतिक संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय सांगीतिक पुरस्कार तथा सम्मान यसपटक विभिन्न विधाका सात अग्रज संगीतकर्मीहरूलाई प्रदान गरेको छ ।

संघले बुधबार काठमाडौंको जमलस्थित नाचघरमा आयोजना गरेको पुरस्कार प्रदान तथा दसैंको शुभकामना आदानप्रदान समारोहमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले अग्रज संगीत श्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि विशिष्ट योगदान पु¥याएको भन्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज संगीतका शम्भुजीत बासकोटालाई २५ हजार रुपैयाँ राशिसहितको ‘योदलाल समुन्द्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान–२०७५’ बाट सम्मान गरियो ।

 

करिब ६ दशकदेखि गीत लेखनमा निरन्तर योगदान पु¥याएको ठहरसहित संघका तर्फबाट २५ हजार रुपैयाँ राशिसहितको ‘प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट अग्रज गीतकार रत्नशमशेर थापालाई सम्मानित गरियो ।

यस्तै, पाँच दशकदेखि नेपाली संगीतमा निरन्तर योगदान दिएको ठहर गर्दै २५ हजार रुपैयाँ राशिसहित ‘पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट वरिष्ठ कलासाधक भोला जोशीलाई सम्मान गरियो ।

यस्तै, चार दशकभन्दा लामो समयदेखि संगीत सिर्जना र अन्वेषणमा योगदान दिएको भन्दै संगीत अन्वेषक तथा संगीतकार बुलु मुकारुङलाई २५ हजार रुपैयाँसहित ‘शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो ।

यस्तै, चार दशकदेखि गजल तथा आधुनिक गायनमा निरन्तर योगदान दिएका गायक आनन्द कार्कीलाई पनि २५ हजार रुपैयाँ सहितको ‘फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो ।

अग्रज नृत्य निर्देशक बेदु गुरुङलाई चार दशकभन्दा लामो समयदेखि नृत्य क्षेत्रमा योगदान पु¥याएको भन्दै २५ हजार रुपैयाँसहितको ‘नेपाल सांगीतिक विशिष्ट सम्मान–२०७५’बाट सम्मानित गरियो ।

पाँच दशकदेखि नै गायनमा निरन्तर सक्रिय अग्रज गायक कमल क्षत्रीले १५ हजार रुपैयाँसहितको ‘मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान–२०७५’बाट सम्मानित गरियो । पत्रकार अनन्त वाग्लेलाई १० हजार रुपैयाँसहितको ‘कला पत्रकार सांगीतिक राष्ट्रिय पुरस्कार–२०७५’बाट पुरस्कृत गरियो ।

कार्यक्रममा स्वागत गर्दै सम्बोधन गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले अब संगीत अध्ययनका लागि विश्व विद्यालय हुनुपर्ने बताए । उनले हरेक सरकारी विद्यालयमा एक जना संगीत शिक्षक अनिवार्य हुनुपर्ने आवाज उठाए ।

अग्रज संगीतकार शम्भुजीत बासकोटाले नेपाली श्रष्टाहरूको सिर्जनालाई जोगाउन राष्ट्रिय म्युजिक संग्रहालय अपरिहार्य रहेको बताए । उनले यो सम्मानले आफूलाई संगीतमा लाग्न अझ प्रोत्साहित गरेको विचार व्यक्त गरे ।

नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले सम्मानित श्रष्टाहरूको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संगीत श्रष्टाहरूको कला प्रस्तुतिका लागि सुविधा सम्पन्न प्रस्तुति हल निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिए । उनले संगीत विश्वविद्यालयको अवधारणा अघि बढिसकेको बताउँदै यसलाई पनि यही सरकारले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।