बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

‘गोठदेखि ओठसम्म सरसफाइ आवश्यक’

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

काठमाडौं/रास– कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले दूध स्वच्छ हुन गोठदेखि ओठसम्म नै सरसफाइमा ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल डेरी साइन्स एसोसिएसनले बुधबार राजधानीमा आयोजना गरेको ‘स्वास्थ्य र समृद्धिका लागि गुणस्तरयुक्त दूध’ विषयक गोष्ठीमा उनले त्यस्तो बताएकी हुन् ।

राज्यमन्त्री चौधरीले दूधको स्वच्छता कुनै एक व्यक्ति वा संस्थाभन्दा पनि संयुक्त र सामूहिक पहलबाट मात्रै सम्भव हुने बताइन् । ‘दुग्ध क्षेत्र आफंैमा एक प्रचुर सम्भावना भएको क्षेत्र हो,’ उनले भनिन्, ‘यस क्षेत्रले नेपालको आर्थिक उन्नतिमा अग्रणी भूमिका खेल्दै आइरहेको छ ।’ कृषि क्षेत्रको प्रमुख हिस्साका रूपमा दुग्ध व्यवसाय रहेको राज्यमन्त्री चौधरीले बताइन् । कुल गार्हस्थ्य उत्पादनको करिब ९ प्रतिशत स्थान दुग्ध ओगटेको उनले जानकारी दिइन् । यस व्यवसायलाई व्यवस्थित, व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउनुका साथै स्वच्छता कायम गर्नुपर्ने राज्यमन्त्री चौधरीको सुझव थियो ।

गोष्ठीमा नेपाल डेरी एसोसियसन, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका साथै कृषि मन्त्रालय, विभाग, राष्ट्रिय दूध विकास बोर्ड, दूध विकास संस्थानका विशेषज्ञहरू, साथै पेसागत संगठन खाद्य वैज्ञानिक, पशु वैज्ञानिक, भेटेनरी एसोसियसन, डेरी तथा फुड टेक्नोलोजी कलेजका विशेषज्ञहरूको समेत सहभागिता थियो ।

(Visited 1 times, 1 visits today)