सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

निर्मला पन्त हत्याबारे छलफल

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले अपराध अनुसन्धानका विज्ञहरूसँग छलफल गरेको छ ।

आयोगले बुधबार नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरूबाट गरिएका अनुसन्धान तथा अनुसन्धानको सिलसिलेवार प्रक्रियालगायतका विषयमा विज्ञहरू डाकेर छलफल गरेको हो ।

छलफलका क्रममा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणहरूको संकलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि र प्रक्रियालगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षकहरू राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षकहरू, रमेश खरेल र बम बहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीलगायत सहभागी थिए ।

छलफलमा हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरूको सम्बन्धमा छलफल तथा विश्लेषण गरिएको थियो । आयोगले छलफलमार्फत अनुसन्धानको विषयमा आयोगले गर्नुपर्ने कार्यहरूबारे समेत सुझाव प्राप्त भएको निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिए ।