आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

खानेपानीका योजना प्रभावित

राजधानी समाचारदाता
2 months ago
11/10/2018

राजधानी संवाददाता/उदयपुर ।

जिल्लामा सञ्चालित दर्जनौ ठूला निर्माणाधीन खानेपानी योजना निर्माण अन्योलमा परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको खारेजीसँगै खानेपानीका दर्जन ठूला योजना प्रभावित भएका हुन् । गत असार मसान्तमा डिभिजन कार्यालयको खारेजीसँगै योजना सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था नहुँदा समस्या भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कस्को क्षेत्र अधिकारमा पर्ने भन्ने अन्योलका हुँदा योजना प्रभावित भएको हो । डिभिजन कार्यालय संघ, प्रदेश र स्थानीय सरकार कसको अन्तर्गत रहने हालसम्म निश्चित भइसकेको छैन ।

डिभिजन कार्यालयकै अन्योल हुँदा योजना सञ्चालन कठिनाइ भएको हो । खानेपानीको नयाँ र क्रमागतरूपमा सञ्चालन भइरहेका योजना कसले हेर्ने अन्योल कायमै छ । डिभिजन खारेज भएयता बजेट समेत व्यवस्था नहुँदा क्रमागतरूपमा सञ्चालित योजनाको काम ठप्प भएको हो  ।

बगाहा, रामपुरठोक्सीला, श्रीपञ्चमी, बसाहा, चुहाडे, हडिया, मोतिगडा, लालपत्ता, बेलश्रोत, उदयपुरगढी, माडिबास र सुनकोसी लिफटिङ ठूला खानेपानी आयोजना प्रभावित छन् । ती आयोजना पूर्णरूपमा सम्पन्न हुँदा करिव ७० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सो खानेपानी योजना निर्माणका लागि ठेक्का लागि सक्नु पर्ने हो । तर योजना कसले हेर्ने भन्ने अन्योलका कारण अहिलेसम्म काम सुरु नै भएको छैन । त्यसैगरी क्रमागत रूपमा सञ्चालन भइरहेका ५५ वटा साना योजना पनि प्रभावित हुन पुगेको छ  । ‘डीपीआर तयार भई पास भएका योजनाको अहिलेसम्म ठेक्का बन्दोबस्त गरिसक्नु पर्ने थियो, उदयपुरका तत्कालिन डिभिजन कार्यालय प्रमुख रामकुमार श्रेष्ठले भने, ‘तर कार्यालयको र डिभिजनको क्षेत्राधिकार अन्यौल हुँदा समस्या भएको हो ।’

कार्यालय खारेज गरेर स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने भनिए पनि डिभिजनमार्फत अहिले सञ्चालनमा रहेका योजना कसलाई हस्तान्तरण गर्ने भन्ने अन्यौल नै रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । कार्यालय खारेजीले खानेपानीका योजनाको काम फागुन यता हुन सकेको छैन । समयमा काम हुन नसक्दा सञ्चालित योजनालाई वर्षातले क्षति पु¥याएको छ । वर्षातले क्षति पु¥याएको काम गर्न समेत नसक्दा सर्बसाधारण पिउने पानीबाट बञ्चित हुनु पर्ने अवस्था आएको हो ।

बजेट अभावमा खानेपानीको मर्मत गर्न सकिएन, उनले भने, ‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जिम्मेवारीबिहीन अवस्थामा रहेको छ । डिभिजन कार्यालय नै जिम्मेवारविहीन हुँदा बजेट र प्राविधिक दुवै उपलव्ध हुन नसकेपछि खानेपानी योजना सञ्चालन गर्न कठिनाइ भएको उनले बताए ।

काम नहुँदा योजना समयमै निर्माण भई सर्वसाधारणले स्वच्छ पिउने पानीको सपना पूरा हुन सक्ने अवस्था देखिँदैन । समयमै पिउने पानी नपाउँदा सर्वसाधारण समस्यामा परेको छ । योजना सञ्चालन र नयाँ योजना निर्माणका लागि नगरपालिकालाई जिम्मेवारी आइनसकेको त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले बताए ।

(Visited 1 times, 1 visits today)