बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

चालकलाई चियाकफी खुवाउँदै सडक सुरक्षा अभियान सञ्चालन

2 months ago
11/10/2018

 

राजधानी संवाददाता/राजविराज ।

चाडपर्वको बेला अत्याधिक मात्रामा हुने दुर्घटना, सडकमा हुने लापर्वाही र आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुधवारदेखि सप्तरीको राजमार्ग सडक खण्डमा चालकलाई रि–फ्रेस र सडक सुरक्षा अभियान सुरु गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुरु भएको अभियानको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चालकलाई चिया र कफी खुवाएर उदघाटन गरेका हुन् ।

अभियानका क्रममा लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई सवारी साधन १० मिनेट पार्किङ्ग गर्न लगाई प्रहरीद्वारा पानी, चिया र कफी खुवाएर रि–फ्रेस गराउने गरिएको छ । लामो दूरीको यात्रा तय गरेर आएका चालकलाई पानी चिया र कफी खुवाएर रिफ्रेस गराएपछि सवारी तथा ट्राफिक नियम पालना गर्न पनि प्रहरीद्वारा आग्रह गर्ने गरिएको छ । यो अभियान छठ पर्वसम्म सञ्चालन हुने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले वताए ।

विष्टले दुर्घटना न्यूनिकरण गर्न तथा चालकलाई सवारी तथा ट्राफिक नियम पालना गराउन चियाकफीको चुस्कीबाट ताजगी प्रदान गर्ने र त्यसपछि आवश्यक जानकारी दिएर गन्तब्यतर्फ पठाउने गरिएको बताए । सो क्रियाकलापबाट सडक दुर्घटना न्यूनीकरणका साथै समूहगत रुपमा सवारी साधन जाँदा लुटपाटको घटना पनि कम हुने उनको भनाइ छ ।

सप्तरीका डिएसपी भावेश रिमालले चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले ११ बुँुदे विशेष सुरक्षा योजना लागू गरेको र यसैअन्तर्गत सडक सुरक्षा योजनाका साथै प्रत्येक नगर र गाउँपालिकामा यात्रु सहायता कक्षको स्थापना, सिमा क्षेत्रमा उच्च सतर्कता, दिवा र रात्री गस्तीमा तीव्रता र शक्तिपीठहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको वताए ।

 

घटस्थापनादेखि नै शक्तिपीठमा घुइँचो

 

घटस्थापनाका दिन बुधवार हिन्दु धर्मावलम्वीहरुले घर घरमा जमरा राखेसँगै दशैंको रौनक सुरु भएको छ । सो अवसरमा सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता देवी मन्दिर र कङ्कालिनी मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । नेपाल तथा भारतका हिन्दु धर्मावलम्वीमाझ प्रख्यात यि दुवै मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

अन्य दिनको तुलनामा घटस्थापनाका दिन छिन्नमस्ता भगवती मन्दिरमा १० हजारभन्दा बढी भक्तजन आएको पीठाधिश महाकान्त ठाकुरले बताए । बडादशैंको फूलपातीदेखि दशमीसम्म दैनिक लाखौंको संख्यामा श्रद्धालुहरुको आगमन हुने भएकाले छिन्नमस्ता र कङ्कालिनी मन्दिरलाई रंगरोगन, सरसफाई तथा सजावट गरी सिँगारिएको छ ।

मन्दिरमा आउने भक्तजनका लागि खानेपानी, शौचालय, रात बिताउनेका लागि उपयुक्त बासस्थान लगायतको काम पनि पूरा भएको अर्को शक्तिपीठ कङ्कालिनी मन्दिर रहेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बताए ।

(Visited 1 times, 1 visits today)