सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

बिल र छापका किर्ते आरोपी धरौटीमा रिहा

2 weeks ago
11/10/2018

 

राजधानी संवाददाता/संखुवासभा।

सरकारी बिल, छाप किर्ते गरेको आरोपमा पक्राउ परेकालाई तीनै जना जिल्ला अदालत चैनपुरको आदेशमा मंगलबार रिहा भएका छन् ।

देउराली निमार्ण सेवाकी सञ्चालक अञ्जु श्रेष्ठ दाहाललाई १ लाख ५० हजार , धर्मदेवीका कर्मचारी दावा भोट ७० हजार र सौरज तामाङलाई ५० हजार धरौटीमा रिहा गरेको छ ।

प्रहरीले दावा भोटे र भोजपुर षडानन्द नगरपालिका –१३ का सौरोज तामाङलाई गत ६ असोजमा पक्राउ गरेको थियो ।  अभियुक्त भोटे र तामाङको बयानका आधारमा देउराली निर्माण सेवाकी सञ्चालक अञ्जु श्रेष्ठ दाहाललाई गत १७ असोजमा पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेको सरकारी विल र छाप किर्ते भए नभएको परीक्षण गर्ने काठमाडौं पठाइ सकिएकाले त्यसको विवरण आएपछि जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । सरकारी कागजपत्र किर्ते गर्नेलाई सात र्ष कैद र ७० हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

देउराली निमार्ण सेवाले यो वर्षको निकासी करको ठेक्का जिल्ला समन्वय समितिबाट लिएको छ । यसैगरी सरौजको साथबाट प्रहरीले जिल्ला समन्वय समितिको छाप लगाएको रसिदको ठेली र रसिद काटेको रकम बरामद गरेको थियो । सम्झौता अघि उनीहरुले करिब ५५ हजार रुपैयाँ निकासी कर वापतको रकम संकलन गरेको रसिदमा देखिएको छ । उनीहरुले प्रयोग गरेको रसिद, नक्कली छाप जिल्ला समन्वय समितिले जारी नभएको दाबी गरेको छ ।

चन्दका इन्चार्ज धरौटीमा रिहा

यसैगरी संखुवासभा जिल्ला अदालत चैनपुरले नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिप्लवका केन्द्रीय सदस्य तथा सगरमाथा इन्चार्ज दिपेश राईलाई धरौटीमा मंगलबार रिहा भएका छन् । गत २९ साउनका दिन सुनसरी प्रहरीले धरानबाट पक्राउ गरेको थियो । चन्दा असुलीको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरी धरानले पक्राउ गरेका राईलाई मंगलबार जिल्ला अदालत चैनपुरले १० हजार धरौटीमा रिहा गरेको हो ।

प्रहरीले राईको साथबाट नेकपाका लेटरप्याडसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । राईलाई १८ असोजमा उदयपुर जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः पक्राउ गरी संखुवासभा ल्याइएको हो । यसअघि राईलाई २१ भदौंमा सुनसरी जिल्ला अदालतले रिहा गर्न आदेश दिए पनि पुन २२ गते पक्राउ गरी उदयपुर लगेको थियो । ‘विष्फोटक पदार्थ’ र ‘ज्यान मार्ने उद्योग’मा मुद्दा दर्ता भएकाले उनलाई उदयपुरमा  लगिएको थियो ।

राईलाई उदयपुर जिल्ला अदालतले १८ असोजमा रिहाई गर्न आदेश दिए पनि  पुनः पक्राउ गरी संखुवासभा ल्याइएको हो ।