सोमवार २ पौष, २०७५ (Monday, 17th December 2018)
२ पौष, २०७५ (17 December 2018)

चाडपर्वकाम बेला धमाधाम सडक मर्मत

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

नविन शिशिर/बागलुङ।

जिल्लाका स्थानीय तहले चाडवाडलाई ध्यान दिएर वर्षाले भत्काएका ग्रामीण सडकको मर्मत कार्यलाई तीव्रता दिएका छन् ।

असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् ।

गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने गरी मर्मतको काम थालिएको स्थानीय तहले जनाएका छन् ।

बागलुङ नगरपालिकाले नगरभित्रका मुख्य ग्रामीण सडक मर्मतको सुरुवात गरेको छ । नगरपालिकाले प्रतिघन्टा २ हजार ३५० रुपैयाँका दरले भुत्तानी दिने गरी आठ दिनको लागि सडक मर्मत गर्न निर्माण व्यवसायी संघसँग सम्झौता गरी मर्मत कार्य थालेको हो । बानपाले मालढुङ्गा– भकुण्डे, पाग्जा–पैंयुपाटा– अमलाचौर, बाँसखर्क–पैंयुपाटा, देउरालीचोक– सिगानामा भत्किएको सडकको मर्मतको काम पनि शुरु भएको छ । नगरभित्र दशैँअघि नै सबै सडकमा गाडी चल्न सक्ने गरी मर्मत गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

जैमिनी नगरपालिले गत आर्थिक वर्षमा निर्माण गरेको अधिकांश सडक सवारी चल्न नसक्ने अवस्थामा पुगेपछि मर्मत कार्य सम्पन्न गरेको छ । नगरसभाले सडकमा भैपरी आउने समस्या समाधानको प्रत्येक वडामा विनियोजन गरेको ५÷५ लाख बजेटबाट सडक मर्मत कार्य सम्पन्न गरेको नगरप्रमुख इन्द्रराज पन्तले जानकारी दिए ।

जैमिनीको नयाँ ट्रयाक विस्तार भएको छिस्ती,  अर्जेवा, जैदी, राङखानी, दमेकलगायतका क्षेत्रमा सडकको अवस्था अत्यन्त कमजोर रहेको थियो । नगरभित्रका दशैवटा वडामा सवारी चल्न सक्ने गरी मर्मत कार्य सम्पन्न भएको नगर प्रमुख पन्तले जानकारी दिएका छन्  । नगरपालिकाले सडक दीगो विकासका लागि चाडवाड सकिएपछि सडकमा पक्की नाली, सोलिङ्ग, स्थानीय ग्राभेल, ग्यावीङ्ग तथा  पानी व्यवस्थापनको लक्ष्य लिएको छ ।

उता गल्कोट नगरपालिकाले पनि १७ लाख रुपैयाँ खर्च गरेर सबै वडामा सवारी चल्न सक्ने गरी सडक मर्मत गरेको छ । गत असारमा आएको बाढीले अवरुद्ध भएको हरिचौर–मल्म– पाण्डवखानी, हटिया–कोटमैदान, हटिया–थालेपोखरा सडकलाई पूर्णरुपमा मर्मत गरेको प्रमुख भरत शर्मा गैरे जानकारी दिए । वर्षामा भेलले पुरिएपछि केही समय ती सडकमा आवागमन अवरुद्ध थियो । बागलुङकै निसीखोला र तमानखोला गाउँपालिकाले पनि बिग्रिएका सडक मर्मत शुरु गरेका छन् ।

यता, काठेखोला गाउँपालिकाले पनि सडक मर्मतको कामलाई तीव्र बनाएको छ । बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन मर्मत सम्भार कोषबाट बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । अक्षते–सिमा, डुडिया–तङ्ग्राम–धम्जा, रेश, बिहुँको सडक मर्मत कार्य सम्पन्न भएको छ भने पाला–सिगाना, लेखानी र तङ्ग्रामको भागका काम जारी रहेको छ । ढोरपाटन नगरपालिकाले पनि ठूला चाडलाई लक्षित गरी सडक मर्मत थालेको छ ।

(Visited 2 times, 1 visits today)