बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

१० हजार बिरुवा रोप्दै महानगर

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

काठमाडौं महानगरपालिकाले विभिन्न १० स्थानमा १० हजार बोटबिरुवा रोप्ने भएको छ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षमा सरकारी संघसंस्थासहित १० स्थानमा  वृक्षरोपण गर्नेबारे जानकारी गराइएको हो ।

यसअघि २ हजार ७ सय बिरुवा रोपिसकेको जानकारी दिँदै महानगर प्रमुख शाक्यले काठमाडौं महानगरलाई हरियालीयुक्त बनाउने लक्ष्यका साथ बिरुवा रोप्न लागिएको जानकारी दिए । ‘काठमाडौं महानगरभित्र रहेका सबै सरकारी कार्यालय, सामुदायिक तथा निजी विद्यालयलगायतमा मा बोटबिरुवा रोप्ने कार्य गरिनेछ,’ उनले भने, ‘रोपिएका सबै बिरुवाको संरक्षणका लागि महानगरले गर्न सम्भव नहुने भएकाले जुनजुन स्थानमा रोपिएका छन्, सोहीसोही स्थानका सम्बन्धित संघसंस्थाले व्यवस्थापन गर्नुपर्नेछ ।’ अन्य केही सार्वजनिक जग्गामा पनि बोटबिरुवा रोपिने शाक्यले जानकारी दिए ।

उनले काठमाडौं महानगरलाई धूलोधुवाँरहित बनाउन आफूले कार्यभार सम्हालेको एक हप्ताबाटै ‘क्लिन द सिटी’अभियान सुरु गरिएको बताए । सरसफाइ थप प्रभावकारी बनाउनका लागि केही दिनअघि पाँच ठूला यन्त्र र आगामी मंसिरदेखि पाँच बु्रमर (यान्त्रिक कुचो) प्रयोगमा आउने उनको भनाइ थियो । प्रत्येक वडामा रहेको सार्वजनिक जग्गाको पहिचान गरी ३२ वटै वडामा वृद्धाश्रम र बालबालिकाका लागि मनोरञ्जन उद्यान निर्माण गर्ने पनि उनले जानकारी गराए ।

महानगरका भूकम्पपीडित ७ हजार १७१ मध्ये पहिलो किस्ता ५ हजार ८७० र दोस्रो किस्ता १ हजार ११९ जनाले प्राप्त गरिसकेको जनाइएको छ ।    यसअघि कामपा महिला, बालबालिका र समाजकल्याण विभागबाट वितरण गरिँदै आएको ज्येष्ठ नागरिक परिचयपत्र कामपाको प्रत्येक वडा कार्यालयबाट वितरण गर्न थालिएको शाक्यले बताए ।

आफ्नो कार्यकालमा काष्ठमण्डपको पुनःनिर्माण सुरु, रानीपोखरी पुनर्निर्माण प्रक्रिया सुरु र नयाँ सडकमा स्मार्ट पार्किङ निर्माण तयारी भइसकेको प्रमुख शाक्यले जानकारी दिए । जथाभाबी छाडा छाडिएका चौपाया पनि व्यवस्थापनको काम सुरु गरिसकिएको उनले बताए ।