आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

६३औं प्रहरी दिवस : प्रधानमन्त्री ओलीले गरे प्रहरीको मुक्तकण्ठले प्रशंसा

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

 

राजधानी समाचारदाता/काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा अब्बल रहेको बताएका छन् । उनले नेपाल प्रहरीको यस साखलाई कायम राखी नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्न अझ बढी व्यावसायिकता प्रदर्शन गर्न जरुरी रहेकोसमेत औंल्याएका छन् ।

६३औं प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवानिवृत्त प्रहरी कर्मचारीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आमनागरिकलाई सेवा प्रवाह गर्न नेपाल प्रहरी अग्रपंक्तिमा रहेको बताए । उनले नागरिकको घरदैलोमा जति छिट्टो प्रहरी पुग्न सक्यो, त्यति नै सरकारको प्रभावकारिता देखिने भएकाले नेपाल प्रहरीलाई समयसापेक्ष साधनस्रोत, प्रविधि र समयानुकूल ऐनकानुनले सुसज्जित गर्दै व्यावसायिक र सुदृढ संगठनका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

 

सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न प्रदर्शन गरेको ढृढता, कर्तव्यनिष्ठा र वीरताको प्रशंसा गर्दै सरकारले अंगिकार गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरी थप जिम्मेवार र सक्रिय हुनु आवश्यक रहेकोमा जोड दिए ।

प्रविधिको दुरूपयोगबाट हुने अपराध, अन्तरदेशीय अपराध, आतंकवादजस्ता सुरक्षा चुनौती दिनप्रतिदिन नयाँ स्वरूपमा वृद्धि भइरहेकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि छिमेकी राष्ट्रसँग समन्वय र इन्टरपोलमा समेत नेपाल प्रहरीको परिचालनलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मुलुकमा शान्ति स्थापनार्थ सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले चर्चा गरे ।

प्रधानमन्त्री ओलीले इतिहासका विभिन्न कालखण्डमा अनेक चुनौती सामना गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन संगठनका कर्मठ सदस्यहरूले निर्वाह गरेको भूमिका उल्लेखनीय र इतिहासका पानाको साथै हरेक नागरिकको हृदयमा कहिल्यै नमेटिने गरी अंकित भएको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको व्यावसायिकता र प्रभावकारी कानुन कार्यान्वयनबाट कानुनी शासनको प्रत्याभूति भई आमनागरिकमा शान्तिसुरक्षाको महसुस हुने उल्लेख गर्दै नेपाल प्रहरीलाई प्रहरीमध्येकै नमुना संगठन र सुशासनको पहरेदारका रूपमा रूपान्तरण गर्न प्रयासरत रहेको बताए । महानिरीक्षक खनालले सुरक्षामा हुने खर्च अनुत्पादक लगानी हो भन्ने परम्परागत सोचलाई त्यागेर सार्वजनिक सुरक्षालाई आर्थिक विकासको आधारस्तभको रूपमा ग्रहण गरी तदअनुरूप सुरक्षा संयन्त्रको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा लगानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको प्रहरी महानिरीक्षक खनालले बताए ।

नेपाल प्रहरी नै अपराध अनुसन्धानका दृष्टिले विज्ञहरूको संगठन भएको उल्लेख गर्दै उनले इतिहासको विभिन्न कालखण्डमा घटित जटिल अपराधको सफल अनुसन्धानले आमजनको भरोसा पाउन सफल नेपाल प्रहरी हरेक प्रकारका अपराधलाई सही निष्कर्षमा पु¥याउन सक्षम रहेको चर्चा गरे । नेपाल प्रहरी संगठन कानुनी राज्यको अवधारणालाई अंगीकार गर्दै शान्ति तथा अमनचयन र सामाजिक सद्भाव कायम राख्ने एवं अपराध रोकथाम तथा अनुसन्धान गर्ने आफ्नो आधारभूत दायित्वप्रति जिम्मेवार रहेको प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे । उनले उच्च व्यावसायिक निष्ठा र इमानदारीसाथ भावी कार्ययोजना तयार गरी लक्षित कार्यदिशामा संकल्पित भई कार्य गर्न हृदयदेखि नै प्रहरी संगठन तयार रहेको बताए ।

समारोहमा प्रधानमन्त्री ओलीले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड  प्रदान गरेका थिए ।

प्रहरी दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री ओलीले यस वर्ष अमरत्व प्राप्त गरेका प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामी, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना, प्रहरी जवानहरू राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने र प्रहरी कार्यालय सहयोगी हरिबहादुर गुरुङका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए ।

 

जो उत्कृष्ट भए

काठमाडौं÷रास– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६३औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू, प्रहरीलाई सहयोग पु¥याउने व्यक्ति, उत्कृष्ट लेखक, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने प्रहरी अधिकृतहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले यस वर्ष सराहनीय कार्य गरी उत्कृष्ट घोषित प्रहरी सहायक निरीक्षक प्रकाश खनाल, प्रहरी जवानहरू कल्पना सुवेदी र शर्मिला गुरुङ, उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक दीपकराज अवस्थी, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी सहायक निरीक्षक कमल बस्याल, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक विमल थापा, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी हवल्दार शेषनारायण चौधरी, उत्कृष्ट सामुदायिक प्रहरी सेवातर्फ प्रहरी जवान लालमाया गुरुङ, उत्कृष्ट खेलाडीतर्फ प्रहरी सहायक निरीक्षक सुमन सुवेदी, प्रकोप उद्धारकतर्फ उत्कृष्ट प्रहरी जवानहरू रामविनय यादव र सुरेश थामीलाई कदरपत्र प्रदान गरे ।

साथै, यस वर्षको अन्तर जिल्ला प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकनतर्फ प्रथम हुन सफल जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक विष्णुकुमार केसी, द्वितीय हुन सफल जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगर र तृतीय हुन सफल जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेलाई समेत प्रहरी महानिरीक्षक खनालले प्रशंसापत्र प्रदान गरे ।

प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलाई पूर्ण शान्ति पुरस्कार, साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी चौकी बिर्ता, पर्सामा कार्यरत प्रहरी जवान गनकुमार खण्डलुकलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार, कदरपत्र र नगद पुरस्कार प्रदान गरे ।

यसैगरी, उनले प्रहरी द्वैमासिक प्रकाशनमा २०७४ सालमा प्रकाशित लेखरचनामध्ये व्यावसायिक लेखतर्फ उत्कृष्ट उपन्यायाधिवक्ता सोमकान्त भण्डारी, साहित्यिक रचनातर्फ उत्कृष्ट तनहुँ व्यास नगरपालिका–७ का त्रिभुवनचन्द्र वाग्लेलाई नगदसहित कदरपत्र प्रदान गर्नुकासाथै पूर्वप्रहरी उपरीक्षक बालकुमार शाक्यलाई सम्मानपत्र र नगदसहित ‘प्रहरी द्वैमासिक सम्मान’ प्रदान गरे ।

देशव्यापी माध्यामिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने विजयश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय स्वयम्भूकी सरिता रुवाली र द्वितीय हुने नेपाल प्रहरी विद्यालय सामाखुसीकी पूर्णिमा थापालाई उनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरू पिताम्बर अधिकारी, सुनिलकुमार श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक अरुणकुमार भण्डारी, प्रहरी उपरीक्षकहरू राजेशनाथ बास्तोला, डिल्लीराज पन्त, राजेन्द्रकुमार थापा क्षत्री, प्रतापकुमार गुरुङ, प्रहरी नायब उपरीक्षकहरू वीरबहादुर बुढामगर, सीताराम चापागाई, रवीन्द्रबहादुर सिंह, मदनकुमार थापा, रेशमबहादुर श्रेष्ठ, गणेशबहादुर चन्द, घनश्याम श्रेष्ठ, पूर्वप्रहरी निरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी नायब निरीक्षकहरू श्रीहरि केसी र रामलाल नेपाललाई समेत कदरपत्र प्रदान गरे ।

वडा प्रहरी कार्यालय, बिर्ता पर्साको नयाँ भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गर्ने पूर्वप्रहरी नायब उपरीक्षक अलिशेष देवानलाई कदरपत्र प्रदान गरे । यसैगरी, नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रम निर्माण कार्यमा २०५९ सालदेखि निरन्तर कलाकारको भूमिका निर्वाह गरी सहयोग गर्ने दुधौली नगरपालिका–७ सिन्धुलीकी चन्द्रकला दाहाल, मुग्लिन सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएका प्रहरी कर्मचारीहरू तथा विभिन्न प्रहरी कार्यालयहरूमा आर्थिक सहयोग गरेका भरतपुर महानगरपालिका–७ चितवनका बाबुराम अधिकारी र अवैध अन्तर्राष्ट्रिय कल बाइपास नियन्त्रण तथा अनुसन्धानमा आवश्यक प्राविधिक सहयोग गर्ने एनसेल प्रालिका सचिन्द्र प्रधानलाई कदरपत्र प्रदान गरे ।

 

 

(Visited 3 times, 1 visits today)