आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

नसर्ने रोग घरघरको व्यथा, मुटु, क्यान्सर, दम मधुमेहले र गरिबी बढाउँदै

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

 

राजधानी संवाददाता/काठमाडौं

नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा बढिरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसीडी एलायन्सले विहिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले नसर्ने खालका रोगहरुबाट बच्ने तरिकाको प्रचार  अभियान नचलाइँदा नसर्ने रोगका रुपमा रहेको मुटु, क्यान्सर, मधुमेह र दमले गरिबी वढाइरहेको बताएका थिए ।

सरकारले स्वास्थ्य बजेट विनियोजन गर्दा उपचारका लागि ८५ प्रतिशत र रोकथामका लागि १५ प्रतिशत व्यवस्थाले जनताले रोग लागिसकेपछि मात्र जानकारी भएको बताइएको थियो । अहिले नेपाल मुटुरोग, मधुमेह, क्यान्सर र स्वासप्रस्वाससम्वन्धि दीर्घ रोगजस्ता नसर्ने रोगले ग्रसित बढिरहेका छन् ।

कार्यक्रममा स्वास्थ्यविज्ञ डा.बाबुराम मरासिनीले मोटरसाइकल चढ्ने अनि जंकफुडका साथ जाँडरक्सी खाने प्रवृत्तिले गर्दा नेपालीमा नसर्ने रोग देखिएको जानकारी दिए । नसर्ने रोग कहिले पनि निको नहुने भएकाले यसतर्फ चनाखो हुनुपर्ने बताउँदै उनले समयमै होशियारी अपनाइ खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन सक्यो भने यो रोगबाट ग्रसित हुन नपर्ने बताए ।

प्रदुषणका कारण नेपालजस्तो विकासोन्मुख मुलुकमा देखिएको नसर्ने रोगले विस्तारै विकसित मुलुकसमेत आक्रान्त हुन थालेको जानकारी पनि उनले दिए ।

सुर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरीक निष्क्रियता र प्रदुषण नसर्ने रोगको कारक तत्व भएको र नेपालका गाउँघरमा बाल्ने परम्परागत धुँवाका कारणले पनि नसर्ने रोग गाउँसम्म फैलिएको डा.मरासिनीको कथन थियो ।

सरकारले १ लिटर पेट्रोलियम पदार्थमा ५० पैसा संकलन गरी वायु प्रदुषणका लागि उल्लेखनीय काम नगरेको उनको आरोप रहेको छ । विकसित मुलुकमा शहरका बीच बीचमा घुम्नका लागि पार्कहरु हुने तर नेपालमा घुम्नयोग्य कुनै पनि पार्क नभएको उनको कथन थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनसीडी तथा मानसिक रोग विभागका प्रमुख फणिन्द्रप्रसाद बरालले नीतिगत रुपमा नेपाल कमजोर नभएको तर कार्यान्वयन पक्ष फितलो भएकाले नसर्ने रोगल सवै वर्गका जनतालाई सताइरहेको बताए । नसर्ने रोगका लागि बनेको सरकारी सयन्त्र निष्क्रिय रहेको बताउँदै उनले मुख्य सचिवको अध्यक्षतमा भएको उच्चस्तरीय समितिले वर्षको १ चोटी पनि वैठक बसाउन नसकेको जानकारी उनले दिए ।

जनस्वास्थ्य विज्ञ डा.केदार बरालले नसर्ने रोगसम्वन्धि अहिले नीति जोगीको झोला जस्ते छरपस्ट रुपमा रहेकाले यसलाई एकीकृत रुपमा ल्याउनुपर्ने बताए ।

मुटुरोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीले नसर्ने रोगमा पनि मुटुको रोग सवैभन्दा खतरनाक र प्राणघातक रुपमा आइरहेको जानकारी दिए ।

 

 

(Visited 4 times, 1 visits today)