आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

मुलुकको अवस्थाको विषयमा सेना चनाखो छ : प्रधानसेनापती थापा

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको दिर्घकालिन अवस्थाको विषयमा नेपाली सेना चनाखो रहेको जनाएका छन ।

बिहीबार सैनिक मुख्यालयमा आयोजित दशैंको शुभकामना आदानप्रदान सहितको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले मुलुकको दिर्घकालिन अवस्थाका विषयमा नेपाली सेना चनाखो रहेको जनाए ।

‘मुलुकको अवस्थाका विषयमा नेपाली सेना चनाखो छ, सेनाले दिर्घकालिन अवस्था समेतलाई नजर गरेर चनाखो रुपमा काम गरिरहेको छ,’ प्रधानसेनापती थापाले भने ।

उनले सेनाले संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गरिरहेको भन्दै सरकारले गरेका निर्णयमा सेना संवैधानिक दायरामा रहेर काम गर्ने समेत बताए ।

प्रधान सेनापति थापाले विकास निर्माणका काममा समेत सेनाले उच्च गतिमा काम गरिरहेको भन्दै जनतासँग जोडिएका कामलाई सम्पन्न गर्न सेना सधै तयार रहने स्पष्ट पारे ।

थापाले फास्टट्रयाकको तयारीकालागि गर्नु पर्ने ९५ प्रतिशत काम सकिएको भन्दै केहि स्थानमा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको जनाए । त्यस तर्फ पनि सरकारले जिम्मेवारी पूर्वक काम गरिरहेको भन्दै उनले चाडै समाधान निस्कने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा उठेका प्रश्नमा उनले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले ध्यान दिइरहेको भन्दै सो विषय सेनाको डोमिन भित्र नपर्ने स्पष्ट पारे । तर सेनाले त्यस्ता समूहको समेत सुक्ष्म अध्ययन गरिरहेको भन्दै उनले राज्यले आवश्यक ठानेका बेला सेना जस्तो सुकै जिम्मेवारी पनि निर्वाह गर्न तयारी अवस्थामा रहने प्रष्ट पारे ।

पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलाएको विषयबारे राखिएको जिज्ञासामा थापाले केही पक्षमा सुधार आवश्यक रहेको जवाफ दिए ।

‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ, केही पक्षमा सुधार पनि गर्नुपर्छ, यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’ उनले भने ।

यसैगरी भर्ना छनौट प्रक्रिया समेत भनसुनका आधारमा हुने गरिएको भन्ने चरम गुनासो रहेको भन्दै त्यसमा केही सत्यता भएपनि त्यसलाई पूर्ण अन्त्य गर्न तर्फ सेना जिम्मेवार हुने बताए ।

(Visited 4 times, 1 visits today)