आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

वातावरणमैत्री विमानस्थल बनाउन सुझाव, ४ कात्तिकमा संसदीय उपसमितिले स्थलगत अध्ययन गर्ने

सविन शर्मा
2 months ago
12/10/2018

 

सविन शर्मा/काठमाडौं   ।

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप–समितिले दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ । वातावरणमैत्री विमानस्थल निर्माणका पक्षमा रहेको उप–समितिले आगामी ४ कात्तिकमा बारा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गर्ने भएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित उप–समितिमा सांसदहरु चाँदतारा कुमारी, दिव्यमणिराज चण्डारी, दिपप्रकाश भट्ट, निर्जला राउत छन् । विमानस्थलको डिपिआर तयार नहुँदै निर्माण स्थलमा पर्ने रुख काट्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र वन मन्त्रालयबीच सहमति भएको थियो । आयोजनाको निर्माण कार्य सुरु नहुँदै रुख काट्न लागिएको भन्दै आलोचना भएपछि सोको छानबिनका लागि उप–समिति गठन गरिएको थियो ।

हाल तोकिएको स्थानमा केही हेरफेर मात्रै गर्दा पनि धेरै रुखहरु काट्न नपर्ने तर्कसमेत उब्जिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मन्त्री र प्रशासकीय प्रमुखलाई आउने कमिशनकै लागि जथाभावी पूर्वाधार बनाउन नहुने बताएका छन् । समिति बैठकले निजगढ अन्तरााष्ट्रिय विमानस्थल आयोजनाको बारेमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा बोल्दै नेपालले आवश्यकता भन्दा लहडको भरमा कतिपय पूर्वाधार निर्माण भइरहेको बताएका हुन् ।

नेपाल संयोजकत्वको उक्त समितिमा बोल्दै नेपालले निजगढ विमानस्थल अपरिहार्य रहेको र त्यो विमानस्थल सम्पन्न भएपछि काठमाडौं विमानस्थल आफैं आन्तरिक उडानमात्र हुने भएकोले यो पाँच वर्षका लागि काभ्रेमा विमानस्थल बनाउन नहुने बताए । उपमितिले बिहीबार पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग गरेको छलफलमा काभ्रेको नागिडाँडामा विमानस्थल नबाउन सुझाव दिएका हुन् । ‘कमिसनको खेलमा किन विमानस्थल बनाउने ? यो कार्य तत्काल बन्द गर्नुपर्छ’, नेपालले भने, ‘जसलाई जहाँ चाहियो त्यही विमानस्थल किन बनाउने ?’ सरकार तथा मन्त्री फेरिए लगत्तै उनीहरुले जे भन्यो त्यहीअनुसार अध्ययनका नाममा किन करोडौं रुपैयाँ खर्च गर्ने परेको भन्दै नेपालले प्रश्न गरेको थिए ।

‘जहाँ अन्तराष्ट्रिय विमानस्थल छ, त्यँही नै आन्तरिक विमानस्थल हुनपर्छ । अन्तराष्ट्रिय यात्रुले एक ठाउँमा झरेर आन्तरिक उडानका लागि अर्को ठाउँमा जाने कुरा हुँदैन । आवश्यकता हेरेर विकास गर्नुपर्छ,’ उनले भने, ‘तर, जसले जे भन्यो त्यहीअनुसार विकास निर्माण सम्भव हुँदैन ।  विकास विरोधीले नेपालमा ठूला आयोजना सफल हुन नदिएका उदाहरण धेरै छन् । सरकार तथा जनप्रतिनिधि विकासप्रेमी हुनुपर्छ । वातावरणप्रेमी पनि हुनपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने काभ्रेको नागिडाँडामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण प्रक्रिया थालनी गरिसेकेका छन् ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरीत २५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । प्राधिकरणले एक करोड रुपैयाँ विनियोजन गर्न लागको अवस्थामा मन्त्रालयले अध्ययन नै नभएको विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गर्न दबाब दिएको थियो । विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण  र मुआब्जा वितरणका लागि भन्दै २५ करोड रुपैयाँ विनियोजन बताउँदै आएको छ ।

विमानस्थल निर्माणका लागि विनियोजन गरेको रकम प्राधिकरण बोर्ड बैठकबाट पारित भइसकेको छ । तर, आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेटमा विस्तुत अध्ययन नभएको र वातावरणीय प्रभाव मूल्यांकन समेत नभएका आयोजनालाई बजेट विनियोजन नगरिने उल्लेख छ । प्राधिकरणले गत ३ भदौमा आयोजना गरेको बजेट अन्तक्रिया कार्यक्रममा समेत पत्रकारहरुले नागिडाँडा विमानस्थलको लागि विनियोजित रकमको विषयमा उठाएपछि प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले मन्त्रालयको निर्देशनपछि विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ रकम विनियोजन भएको स्वीकार गरेका थिए । तर, प्राधिकरणले विमानस्थल निर्माण सम्भावता अध्ययन गरेर मात्रै आवश्यक जग्गाको मुआब्जा रकम वितरण गर्ने गौतमले बताएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरणका लागि वैकल्पिक आन्तरिक विमानस्थल आवश्यक रहेको हुँदा आफूहरु सोहीअनुसार अगाडि बढेको भनाइ उनको थियो । तर, रकम विनियोजन भएको छ भन्दैमा प्राधिकरणले जथाभावी रकम वितरण नगर्ने गौतमले स्पष्ट पारेका थिए । जबकी, देशको हवाई क्षेत्र सुधारका लागि मन्त्री रवीन्द्र अधिकारी आफैंले सुझाव लिनका लागि भन्दै गठन गरेको विज्ञ समूहले पनि पाँच वर्षभित्र कुनै पनि आन्तरिक विमानस्थल निर्माण गर्न आवश्यक नरहेको सुझाव दिइसकेको अवस्थामा फेरि नेपालले पनि विमानस्थल निर्माणको प्रक्रिया तत्काल बन्द गर्ने सुझाव दिएका हुन् । त्यति मात्र होइन विज्ञ समूहले निर्माण चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो । अहिले सञ्चालनमा रहेका ३० मध्ये ७ वटा मात्रै विमानस्थल नाफामा छन् ।

(Visited 5 times, 1 visits today)