बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर/एजेन्सी
2 weeks ago
12/10/2018

 

सिंगापुर/एजेन्सी– अमेरिकी शेयर बजार वाल स्ट्रिटमा आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ ।

चीनको शांघाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेर नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अंकले घटेको छ । दक्षिण पूर्वीएसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ ।

लगानीकर्ता अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए ।

जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए । अमेरिकी–चिनिया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ ।

टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शांघाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवानसमेतका अन्य मुलुकको शेयर बजारमा पनि मन्दी आएको छ ।

ब्याजदर बढाउनु ठीक : लेगार्ड

यसैबीच, अन्तरराष्ट्रिय मुद्राकोषकी प्रमुख क्रिस्टिना लेगार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाइरहेका बेला लेगार्डको यो भनाई बाहिर आएको हो ।

मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लेगार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिइन् । इन्डोनेसियाको बालीमा आयोजित पत्रकार भेटघाटमा लेगार्डले वित्तीय बजारमा देखिएका समस्या सुल्झाउन केन्द्रीय बैंकले स्वतन्त्र किसिमबाट निर्णय गर्न पाउनुपर्नेमा जोड दिइन् ।

बुधबार अमेरिकी वाल स्ट्रिटमा समस्या आएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर बढाएर गल्ती गरेको बताएका थिए । उनले भने, ‘मेरो विचारमा फेडको निर्णय मूर्खतापूर्ण हो ।’ ट्रम्पले वाल स्ट्रिटमा भएको बढोत्तरीलाई आफ्ना नीतिको सफलताका रुपमा प्रचार गर्नुका साथै ब्याजदरमा निरन्तर भइरहेको वृद्धिका सम्बन्धमा केन्द्रीय बैंकको आलोचना गरे ।

आर्थिक परिदृश्यमा कालो बादल लागिरहेको परिस्थितिमा छलफल गर्न इन्डोनेसियाको बालीमा विश्वका वित्तीय प्रमुख छलफलमा जुटेका छन् । बुधबार मात्र मुद्राकोषले सार्वजनिक गरेको विश्वको आर्थिक परिदृश्य प्रतिवेदनमा व्यापार तनाव अझ बढेमा वा उदीयमान अर्थतन्त्रमा गिरावट आएमा जोखिम देखिने बताएको थियो ।

विश्वमा अहिले खासगरी अमेरिकी राष्ट्रपति ट्रम्पको चीनसँगको करवृद्धि युद्ध तथा विश्वभर स्थापित व्यापारिक व्यवस्थालाई ट्रम्पको अस्वीकृतिले समस्या निम्त्याएको छ । मुद्राकोष प्रमुख लेगार्डले विश्वको व्यापार प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको बताइन् ।

उनले वर्षौंको प्रयत्नबाट निर्माण भएको यो प्रणालीलाई भत्काउन नहुने चर्चा गरिन् । हाल विश्वभर राष्ट्रवादी र संरक्षणवादी धारणा प्रखररुपमा उठ्न थालेको अवस्थामा लेगार्डको यो भनाइ सार्वजनिक भएको हो ।