बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

ललितपुर डर्बीमा थ्री स्टार विजयी

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगतको ललितपुर डर्बीमा उपाधिको दावेदार रुस्लान थ्री स्टार क्लबले बाजी मारेको छ । पाटन मंगलबजारको थ्रीस्टारले कुपन्डोलको फ्रेन्डस् क्लबलाई २–१ ले पराजित गर्दै बाजी मारेको हो । थ्री स्टारको जितमा यसै सिजन क्लबमा अनुबन्ध भएका रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । फ्रेन्डस्का विकास लामाले एक गोल फर्काए ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले खेलको १७औं मिनेटमा रन्जन विष्टको गोलबाट शुरुवाती अग्रता लिन सफल भएको थियो । पिटर सेगुनले उपलब्ध गराएको बललाई रन्जनले मैदानको मध्यभाग बाटै एकल प्रयासमा उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि थ्री स्टारका पिटरले खेलको चौथो मिनेटमा गोल गर्ने मौका खेर फालेको थियो । पाँचौ मिनेटमा सुनिल बलको फ्रिकिकमा रजिन धिमालले गोल गर्ने मौका खेर फालेको थियो ।

 

२५औं मिनेटमा फ्रेन्डस्का कप्तान धिरज श्रेष्ठको हेडर फितलो बनेको थियो । ३७औं मिनेटमा अजायी मार्टिनको अर्काे मौका खेर फालेको थियो । ४३औं मिनेटमा रजिन धिमालको फ्रिकिकले गोलको दिशा लिन नसक्दा थ्री स्टारले पहिलो हाफमा १–० को अग्रता लिन सक्यो । ५४औं मिनेटमा रजिनले अर्काे मौका खेर फाल्दा थ्री स्टारले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । ५७औं मिनेटमा निराजन खड्काको पासमा बुद्ध चेम्जोङले सुन्दर मौका खेर फालेको थियो ।

५९औं मिनेटमा फ्रेन्डस्का सरोज योन्जनको फ्रिकिकलाई विष्णु सुनारले गोल लाइनबाट क्लियर गर्दै सम्भावित बराबरी टारिदिएका थिए । करिव ४० यार्डमा प्राप्त फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले फुत्काएपनि विष्णुले गोललाइनबाट क्लियर गरिदिएका थिए । त्यसपछि थ्री स्टारका बुद्ध चेम्जोङले लगातार दुईपटक गोल गर्ने मौका खेर फाल्यो ।

६५औं मिनेटमा मार्टिनको पासमा तथा ६९औं मिनेटमा सुनिलको पासमा बुद्ध चुकेका थिए । लगातार मौका खेर फालिरहेको बुद्धले अन्ततः ८३औं मिनेटमा गोल गर्न सफल भयो । विपक्षी खेलाडीको मिस पासमा बुद्धले डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा बंगाली गोलरक्षक मोहम्मद करिमले रोक्ने कुनै मौका पाएन । २–० ले पछि परेको फेन्डस्ले अन्तिम समयमा भने थ्री स्टारलाई दवावमा राख्दै एक गोल गर्न सफल भयो । वैकल्पिक खेलाडी बिकास लामाले इन्जुरी समयमा गोल गर्दै फ्रेन्डस्लाई खेलमा फर्काउने संकेत दिएका थिए । विकासले डि–बक्स भित्र किरण बोहराले उपलब्ध गराएको बललाई सहजै जाली चुमाएका थिए । विकास ८४औं मिनेटमा प्रिजेन तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्जुरी समयमा मार्टिनले गोल गरेपनि त्यसले गोलको मान्यता पाएन । विपक्षी खेलाडीलाई फउल गरेको भन्दै रेफ्री कविन व्यन्जनकारले उक्त गोललाई मान्यता दिएन । त्यसपछि थप गोल गर्न नसक्दा थ्री स्टार २–१ ले विजयी हुन सफल भयो ।

जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयको ग्यापपछि भएको लिगका कारण विपक्षी टिमको बारेमा जानकार नहुदा केही गाह्रो भएको बताए । ‘म आजको जितबाट सन्तुष्ट छु । खेलाडीहरुले आफ्नो मिहेनतले खेले । प्रतिभावान् खेलाडी रहेपनि खेलाडीले विपक्षीविरुद्ध हेलचक्रयाईको भावले खेलेनन् । तर, हामीले अझै मिहेनत गर्नुपर्ने हुन्छ ।’ प्रशिक्षक केसीले भने, ‘विपक्षीबारे जानकार नहुदा जति विपक्षीले मिहेनत गर्दछ त्यो भन्दा बढी हामीले मिहेनत गर्नुपर्ने हुन्छ । पहिलो जितले टिमको मनोवल बढेको छ । अब एक महिनाको विश्रामपछि हुने दोस्रो चरणमा हामी अझै उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछौं ।’ उनले आफ्नो पूर्व जुनियर खेलाडीले थ्री स्टारविरुद्ध उच्च प्रदर्शन गरेको बताउदै उनीहरुको राम्रो भविष्य रहेको बताए । ‘उनीहरुले हामीविरुद्ध राम्रो खेल पस्कियो । उनीहरुको प्रदर्शनको गर्व गर्नैपर्ने हुन्छ । थ्री स्टारबाट खेल्न कम मौका पाउने भएपछि हामीले उनीहरुलाई रिलिज ग¥यौं । आज उनीहरुले आफ्नो लेभल मेन्टेन ग¥यो ।’ प्रशिक्षक केसीले भने ।

यता, फ्रेन्डस्का प्रशिक्षक रमेश महर्जनले बलियो थ्री स्टासँग कम मार्जिनमा पराजित हुनु टिमको लागि सकरात्मक नजिता रहेको बताए । ‘खेल बराबरीकै भएको थियो । हामीले अंक नगुमाउने योजनाले खेलेका थियौं । तर, कम आत्मविश्वासी भएका कारण गोल खान पुग्यो ।’ प्रशिक्षक महर्जनले खेलपछि भने, ‘सबै खेलाडी अन्डर २० का छन् । पहिलोपटक लिग खेलिरहेका कारण खेलाडीहरुमा कन्फिडेन्स लेभल कम देखियो । तर, म आजको प्रदर्शनबाट सन्तुष्ट छु ।’ उनले यही टिमले नै लिगमा राम्रो खेल्न सकिनेमा विश्वस्त रहेको बताए ।

लिग अन्र्तगत नै बिहिबार भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले जावलाखेलमाथि १–० को जित निकालेको छ । पुलिसको जितमा अजित भन्डारीले ३२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पुलिसका प्रशिक्षक अनन्त थापाले जित निकाले पनि टिमले सोचेअनुरुपको खेल नसकेको बताए । ‘लिग हो लिगमा जित महत्वपूर्ण हुन्छ । हामीले आज जित्यौ । तर, खेल सोचे अनुरुपको भएन ।’ प्रशिक्षक थापाले खेलपछि भने, ‘हामीले लिगका लागि दुई महिना अघिबाट घाँसे मैदानमा प्रशिक्षण गरेका थियौं । कृतिम मैदानमा खेलाडीले असहज फिल गरेको देखियो ।’ उनले च्याम्पियन हुनको लागि यो भन्दा पनि बढी मिहेनत गर्नुपर्ने बताए ।

यता, जावलाखेका प्रशिक्षक रामकुमार केसीले टार्गेट अनुसार खेल्न सकेपनि गोल गर्ने मौका खेर पाल्दा हार बेहोेरेको बताए । ‘विपक्षी टिमबारे हामीले अध्ययन गर्न पाएनौ । मुख्य डिफेन्डर अजय थापा घाइते हुदा पनि टिममा समस्या देखियो । तर, यो नतिजा नराम्रो होइन ।’ प्रशिक्षक केसीले भने, ‘पुलिससँग यतिको खेल्नु हाम्रो लागि राम्रो हो । उनीहरुले छिटो र छरितो खेल्दा पनि हामीले आफ्नो तालमेल मिलाउन सकिएन ।’

लिग अन्र्तगत शुक्रबार दुई खेल हुदैछ । दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले बिहान ११ बजे विभागीय नेपाल एपिएफ महिन्द्रा फुटबल टिमसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार नै ब्रिगेड ब्वाइजले सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।