बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

चिनीको मूल्य छानबिन गर्ने जिम्मा अख्तियारलाई

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनीको कृत्रिम मूल्य वृद्धि सिर्जना गर्ने माथि कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने ठहर गरेको हो ।

लेखा समितिमा विहिबार भएको छलफलले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले चिनीको मुल्य छानिबन गर्नुपर्ने ठहर गरेको हो । सरकार र उद्योगीबीच भएको सहमती कार्यान्वयन नगराई चिनीको कृत्रिम अभाव सिर्जना गराइएको र त्यसमा ठुलो आर्थिक चलखेल भएकाले अख्तियारमार्फत यसको छानबिन हुनुपर्ने उपसमितिको निष्कर्श छ ।

आयात बन्द भएका कारण स्वदेशी उद्योगबीच कार्टे्लिङ गराई चिनीको मूल्य बढाउन चलखेल गरिएको उपसमितिले प्रतिवेदनमा भनेको छ । उपसमितिले सार्वजनिक लेखा समितिमार्फत अर्थ मन्त्रालयलाई चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउने, परिमाणात्मक बन्देजलाई बजारको मूल्य स्थिर राख्नका लागि आवश्यक परिमाणको आयात खुला गर्ने, भन्सार दरमा समयानुकूल पुनरावलोकन गर्ने र परिमाणात्मक बन्देजलाई बजारको माग र आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्न निर्देशन दिनुपर्ने निष्कर्श समितिले निकालेको छ ।

गैरकानुनी रुपमा उखु पैठारी गर्ने कार्यमा कडाई गरी नेपाली किसानहरुको उखु समयमै चिनी उद्योगमार्पत खरिद गर्ने व्यवस्था र अवैध ओसारपसार नियन्त्रण तथा निगरानी गर्न निर्देशन दिने उपसमितिको निष्कर्श छ । त्यस्तै उखु किसानले सरकारबाट पाउने अनुदान तत्काल भुक्तानीको व्यवस्था मिलाउने निर्णय पनि उपसमितिले गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको सहमति अनुसार चिनी उद्योगीले उद्योगबाट भ्याटबाहेक ५३ रुपैयाँ प्रतिकिलो बिक्री गर्ने र खुद्रा मूल्य ६३ रुपैयाँभन्दा नबढाउने सहमति भएको समितिको भनाइ छ । प्रधानमन्त्री कार्यालयमा भएको सहमतिअनुसार नै सरकारले चिनी आयातमा रोक लगाए पनि उद्योगीहरुले भने सरकारसँग गरेको सम्झौता अनुसार उपभोक्तालाई चिनी नदिएको भन्दै लेखा समितिले छानबिन समिति बनाएको थियो ।

छानबिन समितिले चिनी उद्योगी देखी सम्बन्धित विभिन्न निकायहरुसँग धेरै पटक छलफल गरेको थियो । समितिका सदस्य हृदयश त्रिपाठीले उपसमितिले बनाएको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले तत्काल अख्तियारलाई पत्र लेखेर छानबिनको जिम्मेवारी दिनुपर्नेमा जोड दिएका थिए  ।

समितिका सभापति भरतकुमार शाहले आवश्यक अध्ययनपछि मात्र अख्तियारलाई छानबिनका लागि पत्र पठाउने बताए । उनले चिनीको मूल्य बृद्धि रोक्न अनुगमनलाई थप कडा बनाउन सरकारलाई निर्देशन दिएको बताउँदै दसैंपछि बस्ने समितिको बैठकले अख्तियारलाई पत्र लेख्ने वा नलेख्ने विषयको टुङ्गोमा पुगिने बताए ।