शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

हास्य भूमिकामा खगेन्द्र

राजधानी समाचारदाता
4 months ago
12/10/2018

राजधानी समाचारदाता/काठमाडौं ।

विगतका चलचित्रमा गम्भीर भूमिका निर्वाह गर्दै आएका अभिनेता खगेन्द्र लामिछानेले आफू यसपटक हास्यप्रधान भूमिकामा भएको बताएका छन् ।
यी अभिनेताले विगतमा अभिनय गरेको चलचित्र टलकजंग भर्सेज टुल्के, पशुपतिप्रसाद, धनपति, डमरुको डन्डीबियोजस्ता सिनेमामा गम्भीर भूमिका निर्वाह गरेका थिए ।
आफ्नै लेखनमा तयार गरिएको चलचित्र जय भोलेमा उनलाई सुरुमा हास्यप्रधान भूमिका निर्वाह गर्न मन लागेन । कारणबारे बिहीबार राजधानीसँगको भेटमा यी अभिनेताले भने, ‘सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने जय डनको भूमिकामा मलाई सुहाउँदैन भनेर अरूलाई नै अभिनय गराउन निर्माता निर्देशक अशोक शर्मालाई अनुरोध गरें । तर, उहाँले मलाई यो भूमिकाका लागि कन्भिन्स गरेपछि म जय डनको रूपमा आएको हुँ ।’

यही ३० असोजबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र जय भोलेमा साथीसाथीबीचको सम्बन्धको कथा उठान गरिएको पनि अभिनेता खगेन्द्रले बताए, ‘दुई साथीबीचको सम्बन्ध उतार चढावको कथामा यो चलचित्र केन्द्रित छ । चलचित्रमा मैले झापाको एउटा युवाको भूमिका निर्वाह गरेकाले त्यहीको लवाज बोलेको छु ।’ त्यो लवाज सिक्नका लागि आफूले केही महिना अभ्याससमेत गरेको पनि यी अभिनेताले बताए । झापा आसपासको जवल अब आफूलाई राम्ररी बोल्न आउने अनुभव पनि उनले सुनाए ।

जय भोलेमा हास्य प्रधान भूमिकालाई आफूले चुनौतीको रूपमा स्वीकारेको पनि उनले बताए, ‘एउटा कलाकार भएपछि जस्तो पनि भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले यसपटक केही फरक शैलीको हास्यप्रधान भूमिका निर्वाह गरेको हुँ ।’ हास्यप्रधान भए पनि आफ्नो भूमिका त्यत्तिकै गहन र जिम्मेवार भएको पनि उनले बताए ।
यो चलचित्रमा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ रहेका छन् । आफूहरू चार जना चलचित्रको मुख्य पात्र रहेको र यी चार पात्रको वरिपरि कथा घुमेको पनि उनले बताए । चलचित्रले प्रस्तुत गर्ने गम्भीर विषयवस्तुबारे उनले खुलासा गर्न चाहेनन्, ‘जय भोलेको चुरो नै एउटा सशक्त विषयवस्तु छ । त्यो विषयवस्तुको बारेमा भन्दा कथा खोलिने भएकाले ३० असोजमा जय भोले रिलिज नभएसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।’ खगेन्द्रले भने ।

आफुहरुले करिब एक वर्षको अभ्यास पछि यो चलचित्रको स्कृप्ट तयार गरेको पनि खगेन्द्रले बताए । अशोक शर्मा जस्तो व्यबसायी निर्मातासँग काम गर्न निकै सजिलो भएको र दर्शकलाई हँसाउँदै रुहाउने चलचित्र जय भोले बनेको पनि यी अभिनेताले बताए । खगेन्द्रको भनाईमा जय भोलेबाट दर्शकले पूर्ण मनोरञ्जनसँगै केही सन्देश पनि लिनेछन् ।

(Visited 9 times, 1 visits today)
Loading comments...