बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

६३औं प्रहरी दिवस, सुरक्षा दिने नै छैनन् सुरक्षित

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी संवाददाता/गुल्मी ।

जिल्ला प्रहरी कार्यलय गुल्मीले विविध कार्यक्रम गरी ६३औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरीभित्रै विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ । नागरिकलाई शान्ति सुरक्षा दिने निकाय जिल्ला प्रहरी कार्यालय र त्यसअन्तर्गतका इलाका प्रहरी चौकी तथा प्रहरी चौकीहरूको आफ्नै भवन नहुँदा कार्यसम्पादन प्रभावित भएको छ । गुल्मीमा अहिले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाहेक इलाका प्रहरी र प्रहरी चौकी गरी २० वटा चौकी छन् । जसमध्ये १३ वटाको आफ्नै भवन छैन । जुन संख्या ६५ प्रतिशत हो ।

गाउँका प्रहरीको घरभाडामा मात्रै वार्षिक २ लाखबढी

खर्च हुन्छ । इलाका प्रहरी कार्यालय चन्द्रकोटले बस्नका लागि स्थानीयको घरलाई मासिक ४ हजार २५० भाडा तिरेर बसिरहेको छ । प्रहरी चौकी भुर्तुङले मासिक ३ हजार ५ सय भाडा तिरेर स्थानीयकै घरमा गुजारा चलाइरहेको छ । त्यसैगरी, प्रहरी चौकी पूर्तिघाट मासिक २ हजार ८ सय र प्रहरी चौकी इश्माले मासिक ३ हजार ६३० रुपैयाँ घरभाडा स्थानीयलाई बुझाउँदै कार्यसम्पादन गरिरहेका छन् । अस्थायी प्रहरी चौकी देउरालीले मासिक ३ हजार ५ सय भाडा बुझाउँदै गुजारा चलाउँदै आएको छ । यसरी सञ्चालन गरिएका इलाका प्रहरी चौकी तथा प्रहरी चौकीले मासिक १७ हजार ६८० हजार अर्थात् वार्षिक २ लाख १२ हजार १६० घरभाडा बुझाउने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोशन खड्काले जानकारी दिए । आफ्नै घर नभएका इलाका प्रहरी चौकी र प्रहरी चौकीको आफ्नै जग्गा भए पनि आर्थिक अभावले उनीहरूले भवन बनाउन सकेका छैनन् । भाडामा बसेका प्रहरी कार्यालयहरू पनि सुरक्षित छैनन् । गाउँघरमा पुरानो शैलीमा बनेका ढुंगा, माटोले बनेका घरहरू निकै जीर्ण अवस्थामा छन् ।

प्रहरी चौकी हस्तीचौर र प्रहरी चौकी मजुवाले स्वास्थ्य चौकी भवनबाट कार्यसम्पादन गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी चौकी पौदीँ अमराईको पनि आफ्नै भवन नहुँदा तत्कालीन गाविस भवन अर्थात् अहिलेको वडा कार्यालयमा बसेर काम गरिरहेको छ ।

 

आफ्नै घर भएका प्रहरी चौकी अति जीर्ण

प्रहरी चौकी नयाँगाउँ र प्रहरी चौकी मर्भुङको आफ्नै नाममा जग्गाको लालपुर्जा र भवन भए पनि ती भवन निकै जीर्ण छन् । जग्गा खरिद गर्दा पाएकै घरमा अहिले प्रहरीले काम गरिरहेको र ती घर जीर्ण हुँदै गइरहेका प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयमा संरचनात्मक अभाव

गाउँगाउँमा रहेका इलाका प्रहरी चौकी र प्रहरी चौकीको मात्र होइन, जिल्ला प्रहरी कार्यालय तम्घासको पनि भौतिक अवस्था निकै कमजोर छ । हेर्दा ठूलो र आकर्षक भवनमा प्रहरी बसेको जस्तो देखिए पनि उसको भित्री अवस्था भने फरक छ । प्रहरी आफू सुरक्षित भए मात्र नागरिकलाई सुरक्षा दिन सकिने भए पनि गुल्मीको जिल्ला प्रहरी कार्यालयमा त्यो ठाउँ नै छैन । साथै, प्रहरीको ब्यारेक बस्ने ठाउँ पनि जीर्ण बन्दै गइरहेको प्रहरी बताउँछन् ।

अहिले कुल ४ रोपनी १० आना क्षेत्रफलमा जिल्ला प्रहरीले गुजारा चलाइरहेको बस्नेतले बताए ।

प्रहरी कार्यालयमा डीएसपी बस्ने क्वार्टर छैन

कार्यसम्पादनमा सहजता ल्याउनका लागि सुरक्षा निकायका प्रत्येक कर्मचारी कार्यस्थानभित्रै बस्नुपर्ने व्यवस्था छ । विगतदेखि नै गुल्मीमा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकले एउटै कोठाबाट कार्यसम्पादन गर्दै आएका छन् ।

 

७३ दरबन्दी रिक्त

जिल्लामा कुल ३९० जना प्रहरीको दरबन्दी भए पनि हाल प्रहरी संख्या ३१७ मात्रै छ । जिल्लामा अझै पनि ७३ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लामा आएका दरबन्दीमध्ये जम्मा दुई पदमा प्रहरी पूर्ण छन् । प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको एक–एक वटा दरबन्दीमा मात्रै प्रहरीको दरबन्दीअनुसार जनशक्ति छन् भने अरू सबै ६ स्तरका प्रहरी कर्मचारीको अभाव देखिएको छ । चार जनाको दरबन्दी रहेको प्रहरी नायब निरीक्षक तीन जना मात्रै छन् । त्यस्तै, १३ जनाको दरबन्दी रहेको प्रहरी नायब निरीक्षक पदमा हाल नौ जना मात्र कार्यरत रहेको प्रहरी जवान कृष्ण रायमाझीले जानकारी दिए । ३८ जनाको दरबन्दी रहेको प्रहरी सहायक निरीक्षकमा २५ जना र ७८ जनाको दरबन्दी रहेको प्रहरी हवल्दारमा जम्मा ६७ जना मात्र कार्यरत छन् । यसैगरी, २४४ दरबन्दी रहेको प्रहरी जवानमा २०३ र ११ जनाको दरबन्दी रहेको कार्यालय सहयोगीमा जम्मा आठ जना मात्रै कार्यरत छन् ।

 

अनुसन्धानमा निकै समस्या

जिल्ला प्रहरीको आवश्यक मात्रामा भौतिक अवस्था नहुँदा कार्यसम्पादनमा निकै अप्ठ्यारो पर्ने गरेको छ । साँघुरो ठाउँ, खेल्ने ठाउँको अभावलगायतका कुराले गर्दा प्रहरीको शारीरिक बलमा पनि असर पुग्ने गरेको छ । त्यस्तै, दरबन्दीअनुसारको कर्मचारी नहुँदा नियमित गस्ती गर्नमा समेत बाधा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार बस्नेतले बताए । नियमित सुरक्षा चाँज, शान्ति सुरक्षा, कारबाही प्रक्रिया, मुद्दा छानबिन र अध्ययन, पीडितलाई न्याय प्रदानलगायतका कुरामा निकै अप्ठ्यारो पर्ने गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

 

‘जनतासँग सहकार्य गर्नू’

हेटौंडा÷रास– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीलाई अझै दक्ष र सक्षम बनाउन आवश्यक रहेको बताएका छन् । ६३औं प्रहरी दिवसको अवसरमा प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश ३ मा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यान्वयनमा ल्याउने योजना रहेको उनको भनाइ थियो । प्रदेश अनुसन्धान ब्युरोको स्थापना गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रदेशका ६० भन्दा बढी एकाइमा नयाँ भवन निर्माण सुरु भइसकेको बताए ।

६० वटा भवन निर्माण भएपछि नेपाल प्रहरीलाई कार्य गर्न अझ बढी सहज र सरल हुने उनले उल्लेख गरे । प्रहरीले जनतासँगको समन्वयमा जोड दिई काम गरे सफलता प्राप्त गर्ने भएकाले सहकार्यमा जोड दिन मुख्यमन्त्री पौडेलले निर्देशन दिए ।

यस्तै, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सरकारको क्षमताले भ्याएसम्म नेपाल प्रहरीलाई सक्षम र सुदृढ बनाउने दाबी गरे । प्रहरीसँगको सहकार्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ऐन निर्माण गर्ने उनले बताए ।

प्रहरी दिवसको अवसरमा प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले विभिन्न प्रहरी एवं खेलाडीलाई समेत सम्मान गरेको छ ।

 

दसैंमा ६८२ प्रहरी खटाइने

बडादसैंमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै मकवानपुरमा ६८२ जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश ३ को राजधानीसमेत रहेको मकवानपुरमा जिल्ला प्रहरी कार्यालयले दसैं सुरक्षा योजनाअन्तर्गत प्रहरी खटाउन लागेको हो ।

दसैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाका लागि प्रहरीले योजना बनाएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्विक रेस्पोन्स’ टोली बनाएको छ । घटना भएको थाहा पाउने बित्तिक्कै मोटसाइकल वा गाडीमा तत्काल घटनास्थल पुगिहाल्ने गरी योजना बनाएको प्रहरी उपरीक्षक गुरुङले बताए ।

मोटरसाइकल र पैदल गस्ती १९ वटा परिचालन हुने जनाइएको छ । राजमार्गमा हुने लुटपाटलगायत आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकबाट हतियारसहित रात्रिबसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको छ ।

चितवनबाट आएका रात्रिबसमा लोथरबाट हतियारसहित प्रहरीहरू बसेर चुरियामाई मन्दिरसम्म पुग्ने योजना बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटांैडाले रात्रिबसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको आठवटा टिम बनाएको छ ।

जिल्लाका बैंकलगायत वित्तीय क्षेत्र भएका स्थानमा २४सै घण्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने एवं जुवातास खेल्नेहरूलाई सख्त कारबाही गर्ने पनि प्रहरीले जनाएको छ ।

प्रहरी दिवसमा रक्तदान

राजविराज÷रास– रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले ६३औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा चार दर्जनबढी प्रहरी र नागरिकले रक्तदान गरेको प्रहरी निरीक्षक सुजता तुम्बाहाम्फेले बताइन् ।

चाडपर्व र मौसम परिवर्तनका समयमा अस्पतालमा बिरामीको संख्या वृद्धि हुने भएकाले जस्तोसुकै अवस्थामा पनि रगतको अभाव नहोस् भन्दै प्रहरी दिवसको अवसरमा स्थानीय राजदेवी युवा क्लबसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

 

कालिकोटमा प्रहरी दिवस

कालिकोट÷रास– जिल्ला प्रहरी कार्यालय कालिकोटले विभिन्न कार्यक्रम गर्दै ६३आंै प्रहरी दिवस मनाएको छ । ‘नागरिक पनि बिनाबर्दीका प्रहरी बन्नू, अपराधको सुइँको पाए हामीलाई भन्नू’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय कालिकोटले बिहीबार ६३आंै प्रहरी दिवस मनाएकोे हो ।

सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्गाबहादुर रावतले   नेपाली जनताको शिर उँचो राख्ने नेपाल प्रहरीलाई अत्याधुनिक प्रविधिसँगै प्रतिस्पर्धाका लागि अझै सक्षम हुन जरुरी रहेको बताए ।

सांसद रावतले नेपाल प्रहरीमा केही सानातिना बाधा व्यवधान आइपरे पनि सक्रियतापूर्वक जनमुखी काम गर्नुपर्ने बताए । विज्ञान र प्रविधिको विकाससँगै सामाजमा नयाँ प्रकारका आपराधिक घटनामा पनि वृद्धि भएको बताउँदै मुलुक निर्माणका लागि प्रहरी दबाब र प्रभावमा नपरी प्रहरी संगठन जनसेवामा क्रियाशील रहनुपर्ने बताए ।