बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

त्रिशूली बगरमा

अर्जुन श्रेष्ठ
2 weeks ago
12/10/2018

त्रिशूली बगरमा दसैें सपना

अर्जुन श्रेष्ठ

चर्काे घाम, भतभती पोल्ने तातेको बगर । बालुवाका ठूल्ठूला थुप्रा । त्रिशूलीको किनारमा कमिलासरि बालुवा झिक्नेको ताँती । पानीमा डुब्दै बालुवा झिक्दै, कोही चाल्दै, कतिपय थुन्सेमा बोकेर थुपार्दै । दसैंतिहार मनाउन त्रिशूली किनारमा बालुवा चालेर दुई छाक जोहो गर्नेहरूका कारण बढी भीड लागेको हो ।
गजुरी गाउँपालिका–६ धादिङका कृष्ण चेपाङ दसैं किन्न बालुवा चाल्न आएको बताउँछन् । कलिलो अनुहार, सानै उमेर, जीउभरि पसिना, हातमा कापी कलम हुनु पर्नेमा साबेल छ । पिठ्यूँमा झोलाको सट्टा पानी चुहिरहेको बालुवाले भरिएको थुन्से छ । उनी भन्छन्– ‘पढ्न पाइनँ, भोको बस्न सकिन्न, पढ्ने रहरमा जहर मिसाउन बाध्य भएँ, पढ्नेहरूले त जागिर पाएका छैनन्, हामीले कहाँ पाउनु त्यसैले दसैं किन्न म चाँहि बालुवा चाल्न आएको छु ।

 


दैनिक हजारदेखि १५ सय कमाउने कृष्ण, परिवारमा आफ्नो ठूलो जिम्मेवारी रहेको बताउँछन् । ‘भूकम्पले ढलेको घर, अस्थायी टहराको भर, दुःखले जुटाउने मानो, फेर्नुपर्ने ओत लाग्ने छानो, जन्म दिने आमाबुबाको बुढेसकालको सहारा,’ उनले भने, ‘त्यसैले समस्यासँग पांैठेजोरी खेल्दै म चाँहि बालुवा चाल्न आएको छु ।’ साथीभाइको सल्लाहमा आएका चेपाङ पैसा कमाउन त्यति सजिलो नभएको बताउँछन् । ‘चर्काे घाम तातेको बगरमा भारी बोकेर हिँड्दा ढलिएलाजस्तै हुन्छ, तैपनि, आजको दुःखले दसैंतिहारमा परिवारसँगै खुसी साट्ने आशाले हिम्मत पलाएको छ,’ कुराकानीकै क्रममा उनले मुस्कुराउँदै भने ।
त्यस्तै, गल्छी गाउँपालिका–३ धादिङकी कान्छीमाया विक पनि दसैं खर्च जुटाउन बालुवा झिक्न आएको बताउँछिन् । उनी भन्छिन्– ‘घरमा दुई छोरा र एक छोरी ससाना नानीहरू छन्, छिमेकीका छोराछोरीले नयाँ कपडा लगाइसके भन्दै उनीहरू रुन्छन्, दसैं पनि लागिसक्यो, बालबच्चालाई रोइदिए भइहाल्यो, पाहुनालाई आइदिए, हुन त राम्रो लाउने मिठो खाने, भेटभाट र ठूलाबडाबाट टीका अनि आशिष लिने पर्व हो वडादसैं । तर पैसा नभई केही हुँदैन ।

खोलीमा बालुवा बोक्दै गरेकी विक दसैं किन्ने पैसा बनाउन बालुवा झिक्न आएको बताउँछिन् ।
धादिङवासी मात्र होइनन्, अन्य जिल्लाबाट समेत त्रिशूली किनारमा बालुवा झिक्न आउनेहरूको उस्तै भीड छ । त्रिशूली किनारमा बालुवा झिकेर धेरैको रोजीरोटी चलेको छ । खोलीमा डुबेर बालुवा झिक्दै गरेका इन्द्रमान तामाङ भोजपुरदेखि आएको बताउँछन् । तामाङ भन्छन्– ‘बालुवा झिक्दा उठेका ठेला निको होेलान्, चर्काे घाममा शरीरबाट बगेको पसिना नुहाएपछि शरीर ताजा होला तर त्यो दुःख र दुःखले कमाएको धनले मिलेको परिवारको खुसी अविष्मरणीय हुन्छ त्यसैले बालुवा चालेर परिवारको खुसी किन्दै छु ।’ परिवारको खुसीभन्दा पर अर्काे कुनै खुसीको संसार नभएको उनले हाँस्दै बताए । जहाँ खुसीले सन्तुष्टिको सास फेर्न सकियोस् ।

दसैं साँच्चै सारा नेपाली दुःखलाई जितेर खुसीको उपाधि लिने पर्वका रूपमा लिन्छन् । अन्य समयमा भन्दा मिठो खाने, राम्रो लाउने, पिङ खेल्ने, ठूलाबडाबाट टीका तथा आशिष थाप्ने अनि आफन्तहरूसँगको भेटघाटले दसैं पृथक् पर्व हो । त्यसैले पनि घरबाहिर पर रहेका परिवारका सदस्य दसैं मनाउन थातथलो फर्कन्छन् । लामो समयपछि एकैसाथ भेटघाट हुँदाको खुसी, त्यो सामीप्यता, दसैंतिहार साँच्चै आहाको पर्व हो । जीवन संघर्ष हो, जहिलेसम्म हामी सुखको सास फेर्न सक्दैनौं । जीवन सिकाइ हो जबसम्म सफल भएको सन्तुष्टिको महसुस गरिँदैन । तर, जुन यी आफैंमा निरन्तर चलिरहने प्रक्रिया हुन् ।
देशमा रोजगारीको सुनिश्चितता भएन भनेर पर विदेशमा नेपाली कामदार पुगेका छन् । धेरै सपना देखेर विदेश पुगेका नेपाली कामदारले सपना देख्नेगरी सुत्न नपाएको स्वदेश फर्केका युवाहरू बताउँछन् । थोरैलाई फाइदा र काइदा भए पनि धेरै नेपाली कामदार समस्यामा पर्ने गर्छन् । देशमै रहनेहरू पनि लाखौंको संख्यामा बेरोजगार छन् ।
त्रिशूलीको किनारमा जिन्दगीको दुःखलाई किनारा लगाउँदै गरेका यी मजदुुर उनीहरूका लागि उदाहरणीय पात्र हुन सक्छन् ।