बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

दसैंको रमझममा आदिवासी जनजाति

2 weeks ago
12/10/2018

दसैंको रमझममा आदिवासी जनजाति

वेद राना मगर

दसैं कसरी मान्न सुरु गरियो, त्यो बृहत् अध्ययनको विषय होला तर आजको स्थितिलाई हेर्दा धेरै नेपालीले मान्ने चाडका रूपमा स्थापित छ । तथापि, दसैं आफ्नो मौलिक चाड नभएको भन्दै मान्न छाड्नेहरूको पनि लामै लर्को लाग्न थालेको छ, खासगरी आदिवासी जनजाति समुदायमा ।

कसैले ‘हिन्दूहरूको महान् चाड’ त ‘कसैले नेपालीहरूको महान् चाड’ भन्ने विशेषण जोडेर दसैंको शुभकामना आदानप्रदान गरिरहँदा तराईका केही हिन्दू धर्मावलम्बीले यो पर्व नमान्ने गरेको देखिन्छ । त्यस्तै, गैरहिन्दू नेपालीले पनि यसलाई आफ्नो चाड नरहेको भन्दै दसैंलाई ‘राष्ट्रिय पर्व’ मान्न नसकिने विचार प्रकट गर्दै आएको पाइन्छ ।

अन्य धर्मसंस्कृतिमा आधारित चाडको बेवास्ता गरेर राज्यले हिन्दू धर्मसँग जोडिएको दसैंको मात्र पक्षपोषण गर्दै ‘राजनीतीकरण’ गरिरहेको आवाज पनि उठ्छ बेलाबेलामा । जेहोस् आदिवासी जनजाति समुदायमा दुई÷अढाइ दशकयता ‘दसैं’ सधैं चर्को बहसको विषय बनेर उभिएको छ । खासगरी मगर संघका पूर्वअध्यक्ष गोरेबहादुर खपांगीले मगरलगायत आदिवासी जनजातिले दसैं बहिष्कार मात्र होइन, परित्याग नै गर्नुपर्ने भन्दै आन्दोलन थालेपछि यसबारे व्यापक बहसको सुरुवात भएको थियो । धनकुटा साँगुरीगढी गाउँपालिका–७ भेडेटारका गुन्जमान मगरले दसैंमा टीका लगाउन छाडेको झन्डै अढाइ दशक भइसक्यो ।

दसैंमा भेटघाट, खानपिन र रमझम गरिए पनि टीकाचाहिँ लाउने नगरेको उनी बताउँछन् । ‘यहाँ धेरैजसोले दसैंमा टीका लाउँदैनन्,’ उनी भन्छन्, ‘टीका लाउनेमध्ये पनि कसैकसैले मात्र रातो टीका लाउँछन्, नत्र सेतो टीकाको प्रयोग गर्छन् ।’
दिलबहादुर चौधरी दसैं मान्न काठमाडौंबाट आफ्नै घर बर्दिया गेरुवा गाउँपालिकाका–२ टिकुलीगढ जाने तर्खर गर्दै छन् । थारू समुदायमा दसैं मान्ने तरिकाबारे जिज्ञासा राख्दा उनी टीकाजमरा लगाएर, मीठामीठा खानेकुरा खाएर धुमधामले मनाउने गरेको बताउँछन् ।
हाल काठमाडौं थानकोट बस्दै आएका लमजुङ राइनास नगरपालिका–९ कुँडुलेका प्रेम गुरुङले पनि दसैं मान्न छाडेको करिब डेढ दशक भइसक्यो । लमजुङको गुरुङ समुदायमा धेरैजसोले दसैं मान्न छाडे पनि कसैकसैले भने उही हिन्दू धर्मावलम्बीहरूले जस्तै गरी मनाउने गरेको उनी बताउँन् । मातातीर्थ तमू समाजका कोषाध्यक्षसमेत रहेका उनी पछिल्लो समय दसैं मान्न छाड्ने गुरुङहरूको संख्या बढ्दै गएको सुनाउँछन् ।

सिन्धुली घ्याङलेख गाउँपालिका–३ तामाजोर निवासी सुजन तामाङ बौद्ध धर्मावलम्बी हुन् । तथापि, उनी हरेक वर्ष दसैं मान्न भनेर आफ्नो घर जाने गरेका छन् । ‘तामाङ समुदायको बाहुल्य रहेको हाम्रो गाउँमा दसैंको टीकाको दिन गाउँकै मुलीकहाँ गई सेतो टीका लगाउने चलन छ,’ उनी भन्छन् । म्याग्दी मालिका गाउँपालिका–४ ओखरबोटकी यमुना बुढाथोकीको गाउँमा पनि दसैं मान्ने र नमान्ने दुवै खाले मगर छन् ।

उनका अनुसार दसैं मान्ने क्रममा त्यहाँका प्रायः मगरहरू सेतो टीका लगाउँछन् तर अरू ठाउँतिरजस्तो दक्षिणा लिनेदिने भने गर्दैनन् । ओखलढुंगामा हुर्केका र सिन्धुलीमा बसाइँ सरिआएका नारायण सुनुवारले ओखलढुंगा हुन्जेल सेतो टीका लगाएर दसैं मनाए । सिन्धुली बस्न थालेपछि भने रातो टीका लाउन थालेको बताउँदै उनी सुनाउँछन्, ‘जुन ठाउँमा पुगियो त्यही ठाउँको चलनले प्रभाव पार्दो रहेछ ।’
यसरी आदिवासी जनजति समुदायमा दसैं ‘मान्नुपर्छ’ र ‘मान्नुहुँदैन’ भन्नेहरू बराबरीजस्तै संख्यामा भेटिन्छन् । विगतमा ‘एक जाति एक देश ः एक भाषा एक भेष’ भन्दै राज्यलाई हिन्दूकरण गर्ने प्रमुख अस्त्रका रूपमा दसैं चाडको प्रयोग गरिएको यस समुदायका अगुवाहरू बताउँछन् । तत्कालीन शासकहरूले सबैले मान्नैपर्ने बाध्यकारी परिस्थिति सिर्जना गरेर आदिवासी जनजातिलाई दसैं पर्वसँग अभ्यस्त गराएको उनीहरूको भनाइ छ ।

आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल दसैं मान्दैनन् तर आफ्नो समुदायका अरूलले भने दसैं मान्ने गरेको बताउँछन् । आदिवासी जनजाति समुदायमा दसैंको समर्थक र विरोधी दुवै रहेको उनको बुझाइ छ ।
आदिवासीहरूमा पनि दसैं मानेर अभ्यस्त भइसकेकाहरूले ‘दसैं मान्दा के फरक पर्छ र’ भन्ने गरेको र विभेदमुक्त समाज निर्माणका लागि भन्दै सामाजिक परिवर्तनको अभियानमा लागेका केही जनजाति अगुवाहरू भने ‘लादिएको चाड भएकाले दसैं मान्नैहुँदैन’ भनेर बहिष्कारको बाटोमा लागेको उनको भनाइ छ । ‘संविधानतः धर्मनिरपेक्ष राज्य भनेर घोषणा भइसक्दा पनि दसैंको मात्र पक्षपोषण गर्नतिर राज्य लाग्दा एक थरी नेपालीहरू बिच्किएका हुन्,’ उनी भन्छन्, ‘राष्ट्रिय संरचना प्राप्त गर्नै लागेका आदिवासी जनजातिसम्बद्ध चाडबाडको बिदा कटौती गरेर राज्यले समानताको सिद्धान्तको उपहास छ ।’ त्यही विभेदको आक्रोशस्वरूप दसैंको व्यापक विरोध हुने गरेको उनको बुझाइ छ ।
नेपाल मगर संघका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं प्रवक्ता नवीन रोका मगर आदिवासी जनजातिहरूले पितृ र प्रकृतिको पूजा गरेर भव्य रूपमा चैतेदसैं मान्ने गरेको भए पनि
‘बडादसैं’ र ‘विजयादशमी’का नाममा मनाउन थालिएको अर्को दसैंले आदिवासी जनजातिहरूले मौलिक संस्कृतिमाथि धावा बोलेको दाबी गर्छन् ।

‘मगरातका अन्तिम राजा मानसिंह खड्का मगरको हत्यापछि रगतमा चामल मुछिएको टीका लगाएर गोरखा राज्य विस्तार थालिएको इतिहास छ,’ उनले भने, ‘वास्तवमा त्यसलाई ढाकछोप गर्न र हाम्रो अस्तित्व मेट्न अनेक काल्पनिक कथा जोडेर दसैंलाई राज्यले संरक्षण दिएको छ, हामीलाई सत्ताबाट हुत्याएर विजयोत्सवका रूपमा दसैंमा टीका लगाउन थालिएको इतिहास रहेकाले हामीलाई दसैं चाडसँग अपनत्वको महसुस नै हुँदैन ।’ आदिवासी जनजातिहरूमाथि विभेदका लागि उपयोग गरिएकाले दसैं चाडले मगरलगायत सिंगो जनजाति समुदायलाई अपनत्वको महसुस गराउन नसकेको उनको बुझाइ छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझी सांस्कृतिक अन्तरघुलनका कारण ठाउँअनुसार आदिवासी जनजातिहरूले दसैं मनाउने गरेको बताउँछन् । उनका अनुसार कतैकतैका जनजातिले दसैं नमान्ने गरे पनि मान्नेहरू पनि प्रशस्त रहेको उनको भनाइ छ ।

 

कसैले ‘हिन्दूहरूको महान् चाड’ त ‘कसैले नेपालीहरूको महान् चाड’ भन्ने विशेषण जोडेर दसैंको शुभकामना आदानप्रदान गरिरह“दा तराईका केही हिन्दू धर्मावलम्बीले यो पर्व नमान्ने गरेको देखिन्छ

 

 

‘दसैं मान्ने जनजातिहरूले आँखा चिम्लेर खर्च गरेको देख्छु तर दसैं मान्ने क्रममा धेरै खर्च गरेर तडकभडक देखाउनु ठीक होइन,’ लामो समय माझी उत्थान संघको नेतृत्वसमेत गरेका उनले भने, ‘जातीय संगठनहरूले दसैं बहिष्कार÷परित्यागको दिशा पक्रिरहेका बेला मैले भने सुधारात्मक दसैंको पक्षमा जोड दिँदै आएको छु ।’ आदिवासी जनजातिलगायत जोकोहीले अनियन्त्रित ढंगले जाँडरक्सी खाने, जुवातास खेल्ने खराब प्रवृत्तिहरू त्यागेर घाँटी हेरी हाड निल्नुपर्ने परिस्थिति सिर्जना गर्नतिर लाग्नुपर्ने उनको भनाइ छ ।

समाजशास्त्री प्रा.डा. बालकृष्ण माबुहाङ आफू, आफ्नो परिवार र केही दाजुभाइले दसैं नमाने पनि केही दाजुभाइले भने दसैं मान्ने गरेको बताउँछन् । जसले जेजस्ता तर्क गरे पनि दसैं विशुद्ध हिन्दू धर्ममा आधारित चाड भएको उनको बुझाइ छ । भन्छन्, ‘चाडको नामकरण नै दसैं, विजया दशमी राखिएबाट यो हिन्दू धर्मसँग जोडिएको भन्ने प्रस्ट हुन्छ ।’
‘दसैं मान्नैपर्छ’ र ‘मान्न हुँदै हुँदैन’ भन्ने खालका कुनै सांस्कृतिक बाध्यता नरहेको उनको तर्क छ । ‘दसैं मन लाग्नेले मान्ने हो र मन नलाग्नेले नमान्ने हो,’ उनी भन्छन्, ‘यो नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।’ जनजातिका सन्दर्भमा परम्परागत रूपमा विकसितभन्दा पनि सिको गरिएको संस्कृति भएकाले दसैंलाई धानिरहनुपर्ने, मानिरहनुपर्ने बाध्यता नहुने उनको मान्यता छ ।

परिवारजन÷आफन्तजन भेटेर रमाउने अनि मित्रजन भेटेर सम्बन्धलाई पुनर्ताजगी गराउने अर्थात् सम्बन्धको नवीकरण गर्ने अवसरका रूपमा बुझ्न थालिएको दसैंलाई पछिल्लो समयमा धार्मिकभन्दा पनि सामाजिक दृष्टिमा हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृति, बहुजातीय विशेषता बोकेको मुलुक भएकै कारण सबैखाले चाडबाडको उचित संरक्षण गर्नुपर्ने पाटो त छँदै छ, आदिवासी जनजातिका मौलिक चाडपर्वलाई पनि उचित सम्मान दिएर राज्यले दसैंका नाममा देखा पर्ने विभाजित मनस्थितिको अन्त्यका लागि सुझबुझपूर्ण निर्ण गर्नु  जरुरी देखिन्छ ।