बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

एकादशीमा बलि खाने भैरव

किरण कौशल
2 weeks ago
12/10/2018

एकादशीमा बलि खाने भैरव


किरण कौशल

 

बडादसंैको नवरात्रीभरि विशेष पूजा हुने शक्ति पीठहरूमध्ये पाल्पाको भैरव मन्दिर पनि एक हो । हरेक दिन पूजा हुने यस मन्दिरमा नवदुर्गामा विशेषगरी पञ्चबलिको पूजा हुने गर्दछ । कीर्तमुख भैरव, महाकाल भैरव र कालीमाई देवीलाई नवदुर्गामा रोट, धातु र गरहना चढाउनुका साथै राँगा, बोका, खुकुरा, हाँस, परेवा र भेडा गरी पञ्चबलि दिने प्रचलन रहेको छ । सप्तमी र अष्टमीको दिन मन्दिरमा अत्यधिक भीड हुने गर्दछ । भाकल पूजा, क्षमा पूजा र पञ्जबलि पूजा हुने गर्दछ । रोट भनिने विशेष प्रकारको प्रसादी चढ्ने यो मन्दिरको नित्य पूजा विधि विचित्रको छ । किसानले धान र गहुँ भिœयाएपछि आफूले खानुभन्दा नयाँ अन्न भैरवलाई चढाएपछि खाने विश्वास रहेकाले चामल र गहुँको रोट बनाएर चढाउने चलन छ । माना र पाथीको रोट (अर्थात् रोटी) बनाएर चढाउने गरिन्छ । नरिवल, भैरवलाई त्रिशूल, धजा, अबिर, अगरबत्ती अन्य पूजा सामग्रीको रूपमा चढाउने गरिन्छ । भैरव मन्दिरमा एसियाकै ठूलो त्रिशूल र विभिन्न घन्टहरू रहेका छन् ।

नवदुर्गासँगै वैशाख र मंसिरमा विशेष घुइँचो लाग्ने मन्दिरमा पूजा र बलिका लागि कुनै बार र तिथिको छेकबार छैन । कीर्तमुख भैरवले मासु नखाई बस्न नसक्ने भन्ने विश्वास रहेकाले एकादशी, औंसीमा पनि पूजा आए बलि चढ्ने गर्दछ । महाकाल भैरवलाई हेर्न नहुने मान्यताअनुरूप भैरवको मूर्ति सार्वसाधारणलाई हेर्न बन्देज गरिएछ । अखण्ड धुनि चल्ने यो मन्दिरमा गोरक्षनाथ सम्प्रदायका योगी (कान चिरेको) बाट पूजा हुने प्रचलन छ । पूजारीले विधिपूर्वक नित्य पूजा गरेपछि मात्रै सर्वसाधारणको पूजा लिने गरिन्छ । पहिलो पूजा कीर्तमुख भैरव, द्रोस्रो पूजा महाकाल भैरव र तेस्रो पूजा कालीमाईलाई गरिन्छ । सर्वसाधारणले यहाँ पूजा गर्न जाँदा दुई सेट पूजा सामग्री अनिवार्य लैजानुपर्दछ ।

तानसेन–ताम्घास सडकमाथि रिब्दीकोट गाउँपालिका–४ मा समुन्द्र सतहदेखि १ हजार ४७० मिटरको उचाइमा रहेको मन्दिर पुरानो शैलीमा टिनले छाइएको छ । मन्दिरमा हिन्दू समुदायका नेपालभरका र भारतको बिहार, गोरखपुरलगायत विभिन्न स्थानबाट समेत पूजा गर्न श्रद्धालु आउने गर्दछन् भने बौद्ध धर्मालम्बी र अन्य विदेशी पनि घुम्न र अवलोकन गर्न आउने गर्दछन् । मन्दिर अग्लो स्थानमा रहेको र प्राकृतिक दृश्यहरूसमेत हेर्न पाइने भएकाले विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बनेको छ । मन्दिर परिसरमा पार्क, फूलहरूसहितका बगैंचा, पोखरीलगायत घुम्ने र रमाउने स्थान रहेका छन् । तानसेनदेखि ९ किलोमिटरको दूरीमा मूल सडकबाट २०८ सिढी चढेपछि मन्दिरमा पुग्न सकिन्छ भने अशक्तहरूका लागि मन्दिरको नजिकैसम्म सवारीसाधन लैजाने र ह्वीलचियरको सहयोगमा मन्दिरमा दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
भैरव मन्दिरमा आउने भक्तजनमध्ये ५० प्रतिशतको भाकल पूरा भई दोहोरिएर आउने गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए । उनले भने, ‘मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई सुविधा र आतिथ्यता दिई एकचोटी आएकालाई फेरि आउने वातावरण मिलाउन समिति लागिपरेको छ ।’ नवरात्रमा हुने भक्तजनहरूको चापलाई ख्याल गरेर स्वंयसेवकहरू परिचालन गर्नुका साथै प्रहरीको समेत सहयोग लिने गरिन्छ । सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा प्रशासनिक केन्द्र पाल्पाको पूर्णाकोट बनाएका थिए । काठमाडौंमा १५१५ सालमा आक्रमण गर्दा उनले मच्छेन्द्रनाथ बिहारको पटांगिनीमा रहेको भैरवको मूर्ति ल्याई मन्दिर स्थापना गरेपछि पाल्पा भैरव मन्दिर भनिएको हो ।

 

भेटी व्यवस्थापन उत्कृष्ट

२०५९ सालबाट भेटी व्यवस्थापन गर्न सुरु गरिएको भैरव मन्दिर जिल्लामा उत्कृष्ट भेटी व्यवस्थापन गर्ने मन्दिर बनेको छ । तत्कालीन मूल पुजारी काशीनाथ योगीको देहान्त भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र तत्कालीन गाविसको पहलमा समिति निर्माण गरेर भेटी व्यवस्थापन सुरु गर्न थालिएको हो । पुजारीले भेटी आफंै राख्ने र आफैं खर्च गर्ने परम्परालाई तोड्दै नगद रसिदमार्फत पूजा सामग्री बिक्री गर्ने र मन्दिरमा चढाएको भेटीको हरेक साँझ हिसाब निकालेर सार्वजनिक गर्ने गरिएको छ । मन्दिरमा चढेका सबै नगद, गरगहना साँझ ४ बजेसम्म संकलन गरेर सोही दिन सूचना पाटीमा सार्वजनिक गरिन्छ । मन्दिर व्यवस्थापन समितिले पूजा सामग्रीहरू र मन्दिरमा चढाएको वस्तु मूल्य निर्धारण गरेर बिक्री गर्ने गर्दछ ।
क) बोकाको टाउको २५० देखि ७५० रुपैयाँसम्म
ख) कुखुराको टाउको २० रुपैयाँ
ग) परेवा उडाएको जोडीको २०० रुपैयाँ
घ) रोट पकाएको ३० देखि सय रुपैयाँसम्म
ङ) पाथीको रोट ७ सयदेखि १८ सय रुपैयाँसम्म
च) पूजा सामग्री ५० देखि १५० रुपैयाँसम्म
छ) विवाह र व्रतबन्ध ५ सयदेखि ५ हजार सम्म
मन्दिरभित्र रोट र पूजा सामग्री बिक्री गर्ने व्यक्तिगत पसलमा पनि एउटै दर निर्धारण गरिएको छ । समितिले भेटी व्यवस्थापन गरेर चार जना पुजारीसहित १३ जना कर्मचारीलाई तलबसहितको सेवा सुविधा दिएको छ । मूल पुजारी जितनाथ योगीलाई १३ हजार ३ सय र अन्य पुजारीलाई त्यहीअनुसार तलबसहित खानबस्न, घरमा जान यातायात खर्च, औषधि उपचार खर्चसहितको सेवा दिइएको छ ।
भेटी व्यवस्थापन भएपछि आम्दानी हरेक वर्ष वृद्धि भएको देखिन्छ । पछिल्ला तीन वर्षको आम्दानी हेर्दा आर्थिक वर्ष २०७२÷७३ मा ४२ लाख ८३ हजार, २०७३÷७४ मा ५२ लाख, २०७४÷७५ मा ५६ लाख ९१ हजार आम्दानी भएको देखिन्छ । खर्च कटाएर वार्षिक १० लाखभन्दा बढी बचत भएको भैरव मन्दिर समितिका कोषाध्यक्ष मीनप्रसाद अधिकारीले बताए । मन्दिरको आम्दानीबाट विद्यालय र क्याम्पस सञ्चालनमा गत वर्ष आर्थिक सहयोगसमेत गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिले महेन्द्र जनता प्राविलाई १ लाख, भैरव जनता माविलाई ६ लाख र भैरव जनता बहुमुखी क्याम्पसलाई ४ लाख सहयोगसमेत गरेको छ । मन्दिरको सुरक्षा र भेटी लुकाउन नदिनका लागि मन्दिरमा १६ वटा सीसी क्यामरा जडान गरिएको छ भने भीडभाड भएका बेलामा माइकिङ गरेर लाइनको व्यवस्थापन गर्ने गरिएको छ ।

 

मन्दिरमा हिन्दू समुदायका नेपालभरका र भारतको बिहार, गोरखपुरलगायत विभिन्न स्थानबाट समेत पूजा गर्न श्रद्धालु आउने गर्दछन् भने बौद्ध धर्मालम्बी र अन्य विदेशी पनि घुम्न र अवलोकन गर्न आउने गर्दछन् । मन्दिर अग्लो स्थानमा रहेको र प्राकृतिक दृश्यहरूसमेत हेर्न पाइने भएकाले विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बनेको छ

भैरव मन्दिरमा सहयोग र भावी योजना

भैरव मन्दिरको जीर्णोद्धारमा पुरातŒव विभागको सहयोगमा मन्दिरको भित्री भाग, रेलिङ, भवन निर्माणको काम भइरहेको छ । विभागको बहुवर्षीय योजनाअनुसार आगामी वर्ष मूल मन्दिरको समेत जीर्णोद्धार गर्ने योजना रहेको छ । पर्यटन मन्त्रालयबाट २० लाख भैरव मन्दिर परिसरको गुरुयोजना निर्माण, ३५ लाख मूल सडकबाट मन्दिर निस्कने सडक निर्माण बजेट विनियोजन यस आर्थिक वर्षमा भएको छ । अघिल्लो आर्थिक वर्षमा शौचालय, पोखरी र बाटो निर्माण भइसकेको छ ।
गाउँपालिकाले पाहुना घर निर्माणमा १० लाख रकम विनियोजन गरेको छ भने राजमार्ग क्षेत्रमा पार्किङस्थल बनाएको छ । समितिले आफ्नै कोषबाट आठ कोठाको पसल व्यवस्थापन भवन निर्माण गरेको छ । गुरुयोजना बनाएर मुकुन्द सेनले राज्य गरेको पूर्णाकोट दरबारसँग भैरव मन्दिरलाई जोड्ने र धार्मिकसँगै ऐतिहासिक संरचनाका रूपमा विकास गरी पर्यटन विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए ।

स्थानीयलाई रोट पकाउन भ्याइनभ्याइ

भैरव मन्दिर जाने मुख्य प्रवेशद्वार र उकालो बाटोमा रहेका स्थानीयलाई भैरवलाई चढाउने प्रसादी रोट पकाउन सिजनका बेला भ्याइनभ्याइ हुने गरेको छ । एक जनालाई कम्तीमा दुईवटा रोट र पूजा सामग्रीको सेट चाहिने भएकाले माना र पाथीका रोटहरू पकाउने गरिन्छ । मानाको जतिबेला पनि उपलब्ध हुने गर्दछ भने पाथीका लागि अर्डर गर्नुपर्ने हुन्छ । चामलको पिठोमा नरिवलसहित मसलाहरू राखेर घिउ राखी आगोमा रोट पकाउनका लागि स्थानीयहरूले केहीलाई रोजगारीसमेत दिने गरेका छन् । सिजनका बेला एउटा पसलबाट सयदेखि ३ सयसम्म रोट बिक्री हुने गर्दछ । करिब १४ वटा पसलले रोट पकाउने गर्दछन् भने अन्य होटल र रिसोर्टहरू पनि खुल्नेक्रम बढेको छ । प्रधान रोट पसलकी सञ्चालक बिमला प्रधानले रोट पकाउन, होटल र पसलमा काम गर्न कर्मचारी राखेको र सिजनको महिनामा एक लाख ५० हजारभन्दा बढी कमाइ हुने गरेको बताइन् ।