आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

प्रमुख धार्मिक गन्तव्य

विजय नेपाल
2 months ago
12/10/2018

प्रमुख धार्मिक गन्तव्य

विजय नेपाल

 

धार्मिक एवं पर्यटकीय गन्तव्य बोकेको नेपालकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा भक्तजनको सबैभन्दा बढी घुइँचो दसैंताका लाग्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा टाढाटाढाबाट समेत भक्तजन आउँछन् र नवदुर्गाका नौवटै देवीको पूजा, भाकल तथा बलि चढाउनेहरू पालो पर्खेरै बस्छन् । मन्दिरमा हरेक वर्षझैं यसपालि नवदुर्गा अवसरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०७५ चलेको छ ।

वास्तवमा विन्ध्यवासिनी पोखराको पर्यायवाची हो । पर्यटकीय नगरी पोखराका प्रमुख शक्तिपीठमा विन्ध्यवासिनी अग्रपंक्तिमा आउँछ । यहाँ साउनमा शिव पूजनोत्सव, कृष्ण जन्माष्टमीमा कृष्ण पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, बडादसैंमा नवदुर्गा महोत्सव, लक्ष्मीपूजामा लक्ष्मी पूजनोत्सव, महाशिवरात्रिमा अखण्ड रुद्राभिषेक, रामनवमीमा राम पूजानोत्सव, हनुमान जयन्तीमा हनुमानजीको पूजा, श्रीपञ्चमीमा सरस्वती पूजा तथा विभिन्न समयमा सत्संग प्रवचन हुने गर्दछन् ।
किंवदन्ती केलाउँदा माता विन्ध्यवासिनीलाई आद्यशक्ति जगतजननी भगवती भनिन्छ । महिषासुरलाई देवताले बध गर्न नसकेको बेला उनको आराधा गरिएको थियो । सबै देवताले आफूसँग भएका शस्त्रअस्त्र प्रदान गरी देवीलाई शक्तिशाली बनाइयो । त्यसपछि अपारशक्ति पाएकी देवी भगवतीले महिषासूरलाई हराइन् । जसका कारण उनको महिमा अपरम्पार छ । माता विन्ध्यवासिनीलाई लक्ष्मी, सरस्वती र भगवतीको संयोग मानी पुज्दै आइएको छ ।

हिन्दू, बौद्ध, जैन, शिख सबैको श्रद्धा र आस्थाको यो मन्दिरको विशेषता युगौंयुगसम्म धार्मिक र पर्यटकीय गन्तव्यको नमुना बनिरहनेछ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी श्रीराम पौडेलले जानकारी दिए । सिद्धनारायण शाहको पालामा स्थापना मानिने मन्दिरको अहिलेको स्वरूप भने १८४५ सालमा निर्माण भएको उनी बताउँछन् । मन्दिरका पहिलो पुजारी उनकै छ पुस्ताअघिका भागीरथ उपाध्याय थिए ।

मन्दिरको महिमा चिरकालसम्म जोगाउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मन्दिरको आवश्यक संरक्षण, प्रचारप्रसार तथा दर्शनार्थीलाई पूजाआजामा सहज बनाउन विभिन्न सुविधा थप्दै आएको छ । वरिपरी थुम्कोमा रहेको यो मन्दिरमा जान असहाय तथा वृद्धवृद्धाका लागि लिफ्ट व्यवस्था हुँदै छ । समिति अध्यक्षसमेत रहेका समाजसेवी गणेशबहादुर श्रेष्ठको पहलमा सुजल फुड्स एक्लैले ८० लाख रुपैयाँ लागतमा लिफ्ट तयार गर्न लागेको हो । लिफ्ट कात्तिक महिनाभर निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
मन्दिरमा घटस्थापनामा नवदुर्गाको नौ रूपको झाँकीसहित महानवमीको दिनसम्म दैनिक भागवत कथावाचन हुने गर्दछ । समितिले पूजाआजा व्यवस्थित गर्न १२ वर्षयता महानवमीमा नवदुर्गा महोत्सव गर्दैआएको समिति सचिव तीर्थ श्रेष्ठले बताए । मन्दिरमा दैनिक कम्तीमा हजारदेखि १० हजारसम्म भक्तजन आउँछन् । महोत्सव अवधिभर करिब डेढ लाख दर्शनार्थी भित्रिने अपेक्षा छ ।

 

हिन्दू, बौद्ध, जैन, शिख सबैको श्रद्धा र आस्थाको यो मन्दिरको विशेषता युगौंयुगसम्म धार्मिक र पर्यटकीय गन्तव्यको नमुना बनिरहनेछ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी श्रीराम पौडेलले जानकारी दिए

 

करिब ३ सय वर्षको इतिहास बोकेको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गासहित नव वर्ष, श्रीकृष्णजन्माष्टमी, श्रीपञ्चमी, शिवरात्रि, रामनवमीमा श्रद्धालुहरूको बढी घुइँचो लाग्छ । कास्कीसँगै यस आसपासका जिल्ला तनहँु, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पाल्पा, नवलपरासीसहित काठमाडौं तथा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गर्दछन् ।
मन्दिर २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरबाट उत्तरतर्फ देखिने दर्जनौं हिमालयले यहाँ आउने सबैलाई मोहित बनाउँछ । मन्दिर परिसरमा माताको मूल मन्दिर, मन्दिरमा प्रदक्षिणा पथ, वरिपरी गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीको मन्दिर छ । यहाँ हनुमानको प्रस्तर मूर्ति, यज्ञशाला भवन, यज्ञमण्डप पनि छ । यस्तै, मन्दिरमा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम, पुस्तकालय, बहुउद्देश्यीय सभा भवन, सन्त निवास, अतिथि गृह समितिअन्तर्गत सञ्चालित छन् । शिवानन्द बाबाको तलाउ, पार्क, विभिन्न जातका रूख बिरुवासमेत यहाँ छन् ।
यसका अलावा पोखरामा विन्ध्यवासिनीसहित अन्य मन्दिरमा पनि सर्वसाधारण मनोकांक्षा पूजा हुने विश्वासका साथ नवदुर्गाभरि धाउने गर्दछन् । फेवातालबीचको तालबाराही र पोखराको भद्रकालीस्थित भद्रकाली मन्दिरमा पनि नवदुर्गामा भक्तजनको भीड लाग्छ । योक्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । मन्दिरको आ–आप्mनै महŒव छ । तालबाराहीमा वर्षमै सबैभन्दा बढी भीड कोजाग्रत पूर्णिमामा हुने गर्छ ।

नवदुर्गामा तालबाराहीमा नौवटै दुर्गाको पूजाआजा हुन्छ । भागवतवाचन, भाकल पूजा, देवीमाताको पूजा गर्न टाढाटाढाबाट भक्तजन डुंगा चढेर मन्दिर पुग्छन् । पोखराको प्रमुख पर्यटकीय एवं धार्मिक महŒवको तालबाराही मन्दिरमा नवदुर्गाको शक्तिको स्वरूप यसलाई मानिन्छ । नवदुर्गाले शक्तिको स्वरूपमा दानव परास्त गरेको पाइन्छ । मन्दिरमा आएर कोगाग्रत पूर्णिमाको दिन घटनास्थापनामा राखिएको जमरा सेलाउने गरिन्छ । धार्मिक एवं पर्यटकीय गन्तव्य यो मन्दिरमा दैनिक करिब ७ हजार जना दर्शनार्थी आउँछन् । प्यागोडा शैलीको यो मन्दिर पोखराको दक्षिण–पश्चिम क्षेत्रमा पर्दछ । मन्दिरको १०२ रोपनी जग्गा गुठीअन्तर्गत रहेको छ । मन्दिर १६६८ सालमा स्थापना भएको हो । मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले पोखराको चिनारी तालबाराहीको उचित व्यवस्थापनमा राज्यको पनि चासो हुनुपर्ने बताए ।
नवदुर्गामा विशेषगरी पूजा हुने मन्दिर हो, भद्रकाली । विन्ध्यवासिनीजस्तै थुम्कोमा रहेको यो मन्दिर वरिपरी भने घना जंगल छ । यो मन्दिरमा दुर्गा भवानीको पूजा गरिन्छ । नवदुर्गामा दैनिक ५ हजार भक्तजनले पूजाआजा गर्ने गर्दछन् । विजयादशमी, चैतेदसैं र सद्विज छर्ने बेलामा यहाँ भक्तजनको अन्य समयभन्दा बढी भीड लाग्छ । नवदुर्गाको अष्टमीको यहाँ विशेष पूजाआजा हुन्छ, भाकल चढाइन्छ ।

 

(Visited 3 times, 1 visits today)